Nep
Eng
Nep
Eng

पर्यटकीय सम्भावना बोकेको मुस्ताङको ‘लुम्बुक झरना’

यहाँको यो झरना समुन्द्री सतहको करिब चार हजार ५०० मिटर अग्लो विशाल चट्टानको पहाडसँगै जोडिएको सानो गल्छीबाट बग्ने गरेको छ।
तस्बिर: रासस

 


 

मुस्ताङ, ७ साउनः अग्ला-अग्ला विशाल चट्टानी पहाड। त्यही पहाडको गल्छीबाट एक तमासले बगिरहन्छ झरना। मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–५ स्थित लुम्बुक झरना पर्यटकको पर्खाइमा छ।

यहाँको यो झरना समुन्द्री सतहको करिब चार हजार ५०० मिटर अग्लो विशाल चट्टानको पहाडसँगै जोडिएको सानो गल्छीबाट बग्ने गरेको छ। हिउँदयामको पुस, माघ र फागुनमा पूरै झरनाको पानी बरफ बनेर सिङ्गो पहाड नै सेताम्मे हुन्छ।

बर्खायाममा तापक्रम बढेपछि यहाँको झरनाको पानी हावासँगै बतासिएर फेदमा झर्ने गर्छ। यहाँको लुम्बुक झरनाको पानी चिसोले जमेर पूरै लुम्बुक पहाड नै सेताम्मे हुँदा त्यहाँ पुग्ने जो कोही सर्वसाधारण व्यक्तिलाई मोहित तुल्याउने गर्छ। बर्खायाममा यहाँको झरनाको पानी बर्खाको समयमा हावाको बेगसँगै इन्द्रेणी रुपमा प्रकट हुन्छ।

पछिल्लो समय तीन वर्षयता मुस्ताङमा राम्ररी हिउँ नपर्दा यहाँको झरनाको पानीको बहाव निकै घटेको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका वडाध्यक्ष सुरेन्द्र गुरुङ बताउनुहुन्छ। उहाँले हिउँ नपरेकाले यहाँ झरनाको पानीको स्रोत सुक्दै जान थालेकोप्रति चिन्ता व्यक्त गर्नुभयो।

यहाँको लुम्बुक झरनालाई पर्यटकीय हबका रुपमा विकास गर्ने लक्ष्य राखिएको भए पनि झरनाको पानीको स्रोत बर्सेनि कम हुँदै गइरहेकाले पर्यटन प्रवद्र्धन गर्नमा समस्या परेको बताउनुभयो। वडाध्यक्ष गुरुङले हिउँ नपर्दा यहाँका हिउँ स्रोतको मात्रा निकै कम हुँदै गएकाले कृषि र पर्यटन विकासमा निकै ठूलो समस्या र चुनौती थपिएको उल्लेख गर्नुभयो।

“हिउँदयाममा राम्ररी हिउँ परिदिएको भए यहाँको पहाडमा जमेको हिउँ नै बिस्तारै पग्लिएर पानीको स्रोतमा ग्रहण गथ्र्यो, तर खै किन हो यहाँ केही वर्षदेखि हिउँ पर्न सकेको छैन, यसैले होला साबिकको झरनाको बहाव निकै कम हुन पुगेको छ”, वडाध्यक्ष गुरुङले भन्नुभयो।

वारागुङ मुक्तिक्षेत्र–५ स्थित फल्याक र धाकार्रजुङ गाउँबीचको लुम्बुक खोलाको मुहान नै लुम्बुक झरना हो। यहाँ अरू थप दुई साना झरना अवस्थित छन्। मुस्ताङको जोमसोमदेखि वारागुङ मुक्तिक्षेत्र फल्याक गाउँसम्म सवारी साधनबाट आधा घण्टा र त्यहाँबाट झरनासम्म करिब एक घण्टाको पैदल उकालो चढेपछि लुम्बुक झरनामा पुग्न सकिने घरपझोङ–५ ठिनीका स्थानीय निरज थकालीले जानकारी दिनुभयो।

यहाँको लुम्बुक झरनाबाट नीलगिरि हिमाल र आसपासका मनोरम हिमशृङ्खलाको अवलोकन गर्न सकिने थकालीको भनाइ छ । यहाँका झरनाको शिखरबाट हावाले बतासिएको पानीको फोहोरा खस्दा निकै रोमाञ्चक अनुभूति हुने थकालीले दर्शाउनुभयो।

लेख सेयर गर्नुहोस्

विज्ञापनहरू
विज्ञापनहरू
तस्बिर: रासस