दिदीबहिनी हस्तकला: माया मिसाएर बनाइएका घरायसी सामग्रीहरू

“कला र सिर्जनाले जीवन चलाउन सकिने आत्मसन्तुष्टि दिन्छ” – मीरा केसी
तस्बिर: नियेश महत

 


 

पोखराको बगरमा अवस्थित काठका हस्तकलाका सामग्रीहरू बनाउने एक उद्यम हो — दिदीबहिनी हस्तकला, जसको स्थापना मीरा पौडेल केसीले गरेकी हुन्। नामले झैं, यो उद्यम दुई दिदीबहिनी — मीरा पौडेल केसी र सबित्रा पौडेल — को साझा रुचिबाट सुरु भएको हो, जसले आफ्नो सिर्जनात्मकता र हातको सीपलाई व्यवसायमा रूपान्तरण गरे।

पोखरा आफैंमा कलात्मक सृजनाको केन्द्र हो, जुन पश्मिना, हस्तनिर्मित चित्रकलाहरू, गरगहनाहरू र भाङ्गका उत्पादनहरू बेच्ने व्यवसायीहरूको लागि राम्रो बजार मानिन्छ। यही बजारमा, धेरै वर्षको मेहनतपछि मीरा आफ्नो व्यवसायिक पाइला टेक्न सफल भइन्। तर उनले यो सफलता केवल आफ्नो मेहनतको कारण नभई, बहिनी सबित्रा पौडेलको निरन्तर साथ र समर्थनका कारण सम्भव भएको बताउँछिन्। त्यसैले त उनले आफ्नो व्यवसायको नाम राखिन् — दिदीबहिनी हस्तकला।

शुरु कहाँबाट भयो?

दुई दिदीबहिनीलाई हस्तकलासँग चिनजान गराउने पहिलो व्यक्ति थिइन् उनीहरूकी आमा। आमा घरभित्रको सामानहरू आफैं बनाउने गर्थिन् — सधैं सिर्जनशील र कुशल। आमाबाट प्रभावित भएर दिदीबहिनीहरूले पनि आफ्नै शैलीमा नयाँ-नयाँ सामग्री बनाउन थालिन्। घरमै पाइने सामग्रीहरू प्रयोग गरेर उनीहरूले अनेक परिक्षण गरे — जस्तै मकैको घोगा (corncobs) प्रयोग गरेर कार्पेट, टोकरी, सजावटी सामान आदि।

तस्बिर: नियेश महत

तर आमा आफैंले भने यी प्रयासहरूलाई प्रोत्साहन नगरी निराशाको नजरले हेर्थिन्। परम्परागत सोचले बाध्य आमा बुझ्दिन थिइन् कि हस्तकला जीवन धान्ने माध्यम बन्न सक्छ। यद्यपि मीरा र सबित्रा पछि हटिनन्।

व्यवसायतर्फ यात्रा: नेदरल्याण्ड्सबाट नेपालसम्म

सन् १९९९ मा पोखरा महानगरपालिकाले महिलाहरूका लागि घरमै बनेका सामग्रीहरू बनाउन सिकाउने ६ महिनाको तालिम सुरु गर्‍यो। दुवै बहिनीहरू उक्त तालिममा सहभागी भए। उनीहरूले सजावटी सामग्री बनाउन मात्र होइन, लेखापालन र स्टक व्यवस्थापनजस्ता व्यवसायिक पक्षहरू पनि सिके।

थप अध्ययनका लागि सबित्रा नेदरल्याण्ड्स गइन् भने मीरा नेपालमै बसेर कन्या क्याम्पसबाट स्नातकको पढाइ पूरा गरिन्। विदेशमा, सबित्राले सानो हस्तनिर्मित सामग्रीको पसल खोलिन्। मीरा सानैदेखि उद्यम गर्न चाहन्थिन् भन्ने थाहा पाएको सबित्राले उनलाई पनि त्यहाँ बोलाइन्। मीरा कुनै हिचकिचाहट बिना नेदरल्याण्ड्स गइन् र करिब ८ वर्ष त्यहाँ बसेर बहिनीको व्यवसायमा सघाइन्। उनीहरूले त्यहाँका घरपरिवारमा लोकप्रिय हस्तनिर्मित तकिया, स्कुलब्याग, किनमेलको झोला जस्ता सामग्री बनाउने गर्थे।

विदेशमा बसेर, मीरा व्यवसाय सञ्चालनमा प्रवीण भइन्। बजारको माग बुझ्न, जोखिम मूल्याङ्कन गर्न सिकिन्। पछि २०६४ सालमा नेपाल फर्किएर २०६८ सालमा उनले ‘दिदीबहिनी हस्तकला’ दर्ता गरिन्। पसल खोल्न उपयुक्त ठाउँको खोजीमा उनी बगरमा आइपुगिन्, जहाँबाटचमेरो गुफा र महेन्द्र गुफा जाने पर्यटकहरूको आवतजावत उच्च हुन्छ। ती गन्तव्यहरू प्रायः भारतीय र युरोपियन पर्यटकहरू छुटाउँदैनन्।

सिमित सुरुआत र अन्तर्राष्ट्रिय बजार प्रवेश

सुरुमा उनले बाँसका टोकरी र ऊनबाट बनेका स्वेटरहरू बेच्न थाले। बाँसका टोकरी हलुका, सस्तो र आकर्षक भएकोले छिट्टै बजारमा बिक्री भयो। यही उत्पादन उनीहरूको विशेषता बन्यो। माग बढ्दै गएपछि उनले करिब १५ जनालाई काममा राखिन्। भारतीय ग्राहकहरू टोकरी थोकमा किनेर आफ्नै देशमा पुनः बिक्री गर्ने गर्थे, जसका कारण उनले थोक बिक्री पनि सुरु गरिन्।

दिदीबहिनी हस्तकलाका बाँसका टोकरी, दूबोको कार्पेट, ऊनका झोला र स्वेटरहरू आज नेपाली र अन्तर्राष्ट्रिय दुवै बजारमा निकै लोकप्रिय छन्।

“विदेशी ग्राहकहरू ऊनका हस्तनिर्मित स्वेटर मन पराउँछन्, उनीहरूले परिवारका लागि थोकमै अर्डर दिने गर्छन्,” मीरा भन्छिन्।

तस्बिर: नियेश महत

बाँसका टोकरीहरू साइजअनुसार ५०० देखि १,००० रुपैयाँसम्म पर्छन् भने स्वेटरहरू ३,००० देखि ५,००० रुपैयाँसम्ममा बिक्री हुन्छन्। यो उत्साहजनक बिक्री देखेर मीराले नेदरल्याण्ड्समा रहेका बहिनीको पसलमा पनि स्वेटर पठाइन्। ती स्वेटरहरू छिट्टै बिक्री भए, र दिदीबहिनीले नियमित रूपमा नेपालबाट हस्तनिर्मित सामग्री निर्यात गर्न थाले। नेपालमा भने ती स्वेटरहरू सामान्य लुगाहरूभन्दा महँगो हुने भएकाले सबैले किन्न सक्दैनन्।

कोरोना असर, व्यवसायको पुनरागमन र स्थानीय बजारमा केन्द्रित

सबै कुरा सामान्य रूपमा चलिरहेको बेलामा कोरोना महामारीले संसारभरका व्यवसायहरूलाई जस्तै दिदीबहिनी हस्तकलालाई पनि नराम्रोसँग असर गर्‍यो। पर्यटकहरू आउन छाडेपछि व्यापार ठप्प जस्तै भयो। आर्थिक संकटको कारण उनले आफ्नो स्टाफ घटाउनुपर्‍यो।

तर मीरा हिम्मत हारिनन्।

“धेरै निराश हुने बेलामा पनि म विश्वस्त थिएँ कि व्यवसाय फेरि उठ्छ,” उनी सम्झिन्छिन्।

महामारीपछि सबैभन्दा पहिले भारतीय पर्यटकहरू फिर्ता आए। त्यसपछि, अचम्मको कुरा — स्थानीय ग्राहकहरूबाट चासो अत्यधिक बढ्न थाल्यो। आयातित वस्तुहरूभन्दा आफ्नै देशमा बनेका सामग्रीप्रति विश्वास बढ्यो। मीरालाई सन्तोष भयो कि अब विदेशी पर्यटकहरूमा मात्र निर्भर रहनुपर्दैन।

तस्बिर: नियेश महत

मीराले त्यसपछि स्थानीय बजारलाई केन्द्रित गर्दै काम गर्न थालिन्। दूबोबाट बनेका कार्पेट (पात्रो) बनाउन थालिन् जुन पूजा र धार्मिक काममा उपयोगी मानिन्छ। तिनीहरू हलुका र किफायती भएकोले धेरैले मन पराए।

मीरा भन्छिन् कि दशैं र तिहारमा बिक्री उच्च हुन्छ।

“त्यस बेला धेरै ग्राहक अर्डर दिन्छन्, तर स्टाफ बिदामा हुने भएकाले डेलिभरीमा समस्या आउँथ्यो,” उनले भनिन्। “तर अहिले हामीले घर बाटै काम गर्न सकिने व्यवस्था सुरु गरेका छौं, जसले गर्दा जुनसुकै समय अर्डर डेलिभर गर्न सक्ने भएका छौं।”

कमाई र समाजसेवा सँगसँगै

दिदीबहिनी हस्तकलाको मासिक आम्दानी करिब २.५ लाख रुपैयाँ छ। त्यो मध्ये आधा तलब र कच्चा पदार्थमा खर्च हुन्छ भने बाँकी नाफा रहन्छ।

मीराको अनुसार उनी त्यो नाफाको आधा रकम आर्थिक समस्यामा परेका बालबालिकाको शिक्षाका लागि खर्च गर्छिन्। हालसम्म उनले १४ जनालाई स्नातक पढाइ सक्न सहयोग गरिसकेकी छन् र हाल ६ जना प्राथमिक तहमा पढिरहेका बालबालिकाको जिम्मा लिइरहेकी छन्।

“म आर्थिक अभावले पढ्न नपाएका बच्चाहरूको पीडा बुझ्छु। अहिले सानो स्तरबाट सुरु गरेकी छु, तर व्यवसाय बढेपछि यो कामलाई पनि सँगै बढाउने योजना छ,” उनी भन्छिन्।