Nep
Eng
Nep
Eng

This post is also available in: English

तीन दशकपछि गाउँ फर्किएर तरकारी खेतीमा रमाउँदै

तरकारी खेतीका लागि कमलप्रसाद पौडेलले चार रोपनी पुख्यौली पाखोबारीलाई व्यवस्थापन गर्नुभएको छ।
तस्बिर: रासस

 


 

व्यवसायको लागि तीन दशकअघि बजार झरेका पर्वतको जलजला गाउँपालिका–४ मल्लाज भवानीपानीका कमलप्रसाद पौडेल जन्मथलो फर्किएर बाँझिएको बारीलाई तरकारीखेती गरेर हराभरा बनाउनुभएको छ।
सुविधा र अवसरको खोजीमा गाउँबाट सहर र सहरबाट विदेश पलायन हुने क्रम बढिरहेका बेला ५५ वर्षीय पौडेलले बजारबाट गाउँ फर्किएर व्यावसायिक तरकारीखेती सुरु गर्नुभएको हो। विसं २०५० मा घर, जग्गा र खेती किसानी छाडेर बेनी बजार झरेका थियौँ,” उहाँले भन्नुभयो “२० वर्ष बेनीमा व्यवसाय गरे। करिब १२ वर्ष भारत र नेपालकै विभिन्न सहरमा नोकरी गरे। सोचेजस्तो सफलता हात नपरेपछि फेरि गाउँ फर्किएर तरकारी खेती गर्न थालेको हो।”

तरकारी खेतीका लागि पौडेलले चार रोपनी पुख्यौली पाखोबारीलाई व्यवस्थापन गर्नुभएको छ। गत वर्षसम्म झाडीले भरिएको बारीमा अहिले बन्दा, काउली र ब्रोकाउली खेती गरेर हराभरा भएको छ। सडक, यातायात, सिँचाइ र बजारको सुविधा भएकाले तरकारी खेतीमा पौडेलले सम्भावना देख्नुभएको छ। बारीकै छेउको सडक भएर गुड्ने गाडीले तरकारी ढुवानी गरेर म्याग्दीको सदरमुकाम बेनीमा झार्छ। बेनीबाट मुस्ताङसम्म तरकारी बिक्री हुन्छ। बजारको समस्या नभएको पौडेलले बताउनुभयो।

खेती गर्न छाडेपछि पुख्यौली जग्गा उपभोगविहीन भएको थियो। “५० को दशकमा गाउँ छाड्ने लहरनै चलको थियो, त्यही लहरमा हामी पनि बजार झर्यौँ,” उहाँले भन्नुभयो “बजारमा दुःखसुख गरेर छोराछोरी पढाएँ, दुई छोरा सरकारी जागिरे छन, छोरी विदेशमा छिन्। खेर गएको जग्गा सदुपयोग गर्न तीन दशकपछि गाउँ फर्किएका हौँ।”

विज्ञापनहरू

बजारमा बस्न थालेपछि पौडेलको पुरानो घर भत्किएको थियो। जन्मथलो फर्किएपछि उहाँले बस्नको लागि सामान्य घर निर्माण गर्नुभएको छ। साना–साना पाखोबारीका पोहोटालाई पर्खाल लगाएर सम्माई गरा बनाउनुभएको छ। मेहनत र परिश्रम गर्ने हो भने गाउँमा पनि अवसर र सम्भावना भएको सन्देश पौडेलले दिनुभएका उहाँका छिमेकी गोपाल आचार्यले बताउनुभयो। म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको मल्लाज पर्वतको जलजला गाउँपालिकाको २, ३ र ४ नम्बर वडामा पर्छ।

फरक जिल्ला भए पनि प्रशासनिक बाहेक मल्लाजको सामाजिक, आर्थिक, ब्यापारिकसम्बन्ध म्याग्दीसँग धेरै छ। विसं २०४६ देखि सुरु भएको बृहत मल्लाज सिँचाइ आयोजना विसं २०७४ मा सम्पन्न भएपछि यहाँका किसानलाई सहज भएको छ। त्यसअघि सिँचाइको असुविधाले गर्दा किसानलाई खेती बाली लगाउन समस्या थियो।

लेख सेयर गर्नुहोस्

विज्ञापनहरू
विज्ञापनहरू
तस्बिर: रासस