पाल्पाको ऐतिहासिक नगर तानसेन र काभ्रेको सांस्कृतिक नगर पनौतीमा दुई भव्य महोत्सव सुरु भएका छन्।
दोस्रो तानसेन कृषि, रोजगार, पर्यटन, उद्योग तथा व्यापार महोत्सव यही चैत २२ गते शुक्रबारदेखि सुरु भई वैशाख ३ गतेसम्म तानसेनको टुँडिखेल मैदानमा आयोजना हुँदैछ भने काभ्रेको पनौतीमा पनि प्रथम सांस्कृतिक तथा व्यापारिक महोत्सव चैत २१ गतेदेखि वैशाख ३ गतेसम्म संचालन हुँदैछ।
तानसेन महोत्सव तानसेन नगरपालिकाको मुख्य आयोजना, पाल्पा व्यापार संघको आयोजना र लुम्बिनी प्रदेशको वन, वातावरण, पर्यटन तथा खानेपानी मन्त्रालय, पर्यटन विकास परिषद् तथा घरेलु तथा साना उद्योग कार्यालय पाल्पाको सहआयोजनामा सम्पन्न हुँदैछ।
महोत्सवमा पाल्पाली ढाका, करुवा, माटाका भाँडा, काठका ठेकी लगायतका हस्तकला सामग्री, कृषि तथा पशुजन्य उत्पादन, साथै स्थानीय उत्पादनहरूको प्रवर्द्धन गरिनेछ। यस अवसरले लघु, घरेलु तथा साना उद्योगहरूलाई उत्पादन प्रदर्शन, प्रवर्द्धन, र व्यापारिक सञ्जाल विस्तारको मौका प्रदान गर्ने लक्ष्य राखिएको छ।
यस वर्ष महोत्सवमा करिब ३०० भन्दा बढी व्यापारिक स्टलहरू रहनेछन्। साथै, महोत्सवको विशेष आकर्षणको रुपमा नेपालको पहिलो र सबैभन्दा ठूलो ‘फिस टनेल’ जसमा विभिन्न प्रजातिका माछाहरूको प्रदर्शनी हुनेछ।
महोत्सवमा ५ लाखभन्दा बढी दर्शक सहभागी हुने र करिब ८ करोड रुपैयाँको कारोबार हुने अपेक्षा गरिएको छ। महोत्सवले तानसेनसहित समग्र पाल्पा जिल्लाको पर्यटन, व्यापार, रोजगारी, कृषि तथा उद्योग विकासमा टेवा पुर्याउने विश्वास गरिएको छ।
प्रवेश शुल्कको व्यवस्था अनुसार, सर्वसाधारणका लागि टिकट शुल्क ७५ रुपैयाँ, विद्यार्थीका लागि ५० रुपैयाँ तोकिएको छ भने जेष्ठ नागरिक र अपांगता भएका व्यक्तिहरूका लागि निशुल्क प्रवेशको व्यवस्था गरिएको छ।
नगरपालिकाले आफ्नो वार्षिक नीति तथा कार्यक्रमअनुसार दोस्रोपटक महोत्सव आयोजना गर्न लागेको हो। पहिलो महोत्सव २०८० फागुन १९ गतेदेखि सुरु भई १३ दिनसम्म सञ्चालन भएको थियो। उक्त महोत्सवमा ३ लाखभन्दा बढी दर्शकको सहभागिता रहेको थियो भने ८ करोड रुपैयाँको कारोबार भएको थियो।
त्यसैगरी, काभ्रेको ऐतिहासिक, धार्मिक र सांस्कृतिक नगर पनौतीमा पहिलो सांस्कृतिक तथा व्यापारिक महोत्सव सुरु भएको छ। महोत्सवको आयोजना राष्ट्रिय लोक सांस्कृतिक प्रतिष्ठान नेपालले गरेको हो, जसमा पनौती नगरपालिका-७ को संरक्षकत्व र पनौती उद्योग वाणिज्य संघको सहकार्य रहेको छ।
महोत्सवमा ६० भन्दा बढी व्यापारिक स्टलहरू रहने छन्, जहाँ कृषि उत्पादन, स्थानीय हस्तकला, र घरेलु सामग्रीहरू प्रदर्शित गरिनेछ। यस महोत्सवले पनौतीको परम्परागत सम्पदा, मौलिक लोकसंस्कृति, कृषि, हस्तकला तथा घरेलु उद्योगलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ।
महोत्सव स्थलमा प्रवेशको लागि सर्वसाधारणले ८० रुपैयाँ, विद्यार्थीले ६० रुपैयाँ तिर्नुपर्नेछ। जेष्ठ नागरिक र अपांगता भएका व्यक्तिहरूका लागि निशुल्क प्रवेशको व्यवस्था गरिएको छ।
दुबै महोत्सव स्थानीय तहमा आर्थिक चहलपहल वृद्धि गर्ने र स्थानीय उत्पादनको बजारीकरणमा केन्द्रित देखिन्छन्।