Nep
Eng
Nep
Eng

This post is also available in: English

डोटीमा व्यावसायिक गोब्रे च्याउ उत्पादन सुरु

कृषि ज्ञान केन्द्रको सहयोगमा दिपायलमा किसान जयबहादुर शाहीले गोब्रे च्याउ (एगारिकस बिस्पोरस) खेती सुरु गरेका छन्। २०० च्याउको झोला उत्पादनसँगै, उनी हाल प्रति किलोग्राम ४०० रुपैयाँमा मूल्य पर्ने यस पौष्टिक प्रजातिको बजार विस्तार गर्न चाहन्छन्।
तस्बिर: राष्ट्रिय समाचार समिति

दिपायल सिलगढी नगरपालिका–५ का किसान जयबहादुर शाहीले गोब्रे च्याउको व्यावसायिक उत्पादन सुरु गर्नुभएको छ। उहाँले दिपायल सिलगढी–५ स्थित जिरो प्वाइन्ट नजिकै जग्गा भाडामा लिएर पहिलोपटक च्याउखेती थालनी गर्नुभएको छ।

कन्य च्याउ उत्पादन गर्दै आउनुभएका उहाँले कृषि ज्ञान केन्द्रको सहयोगमा गोब्रे च्याउको पनि खेती गर्नुभएको छ। किसान शाहीले यसपटक दुई सय पोका च्याउ राख्नुभएको छ। उहाँले गोब्रे च्याउका लागि आवश्यक कम्पोस्ट मल हेटौँडाबाट ल्याएर मङ्सिर ३० गते च्याउ राखेको बताउनुभएको छ। उहाँले भन्नुभयो, “प्रतिकिलो रु ५० का दरले २० टन कम्पोस्ट खरिद गरेको हुँ, च्याउको बीउ धनगढीबाट ल्याएँ। च्याउ उत्पादन सुरु हुञ्जेलसम्म रु दुई लाख लागत लागेको छ।”

उहाँका अनुसार गोब्रे च्याउखेती गर्न अन्य च्याउको भन्दा अलि बढी मेहनत लाग्ने शाहीले बताउनुभयो। कृषि जेटिएको पढाइ गर्नुभएका उहाँले गोब्रे च्याउखेतीमा अलि बढी प्राविधिक ज्ञान चाहिने र यो च्याउखेतीका लागि कोठाको तापक्रम २२ देखि २५ डिग्री सेल्सियस सबैभन्दा उपयुक्त हुने बताउनुभयो। उहाँका अनुसार पोका खोलिसकेपछि नियमित पानी दिने तथा तापक्रमको ख्याल गर्नुपर्छ। 

विज्ञापनहरू

उहाँले भन्नुभयो, “आजभोलि दैनिक चारदेखि पाँच किलो च्याउ बिक्री भइरहेको र बजारको खोजीका लागि केही दिनमा बजारमा निस्किने तयारी गरेको छु।” गोब्रे च्याउको मूल्य अहिले प्रतिकिलो रु चार सय छ।

 गोब्रे च्याउको खेतीका लागि ज्ञान केन्द्रले किसान शाहीलाई लागतको ५० प्रतिशत सहयोग गरेको छ। गत वर्ष जोरायल गाउँपालिकाको राउतकट्टेमा सफल परीक्षण भएपछि चालु आर्थिक वर्षबाट गोब्रे च्याउ व्यावसायिक खेती सुरु गरिएको ज्ञान केन्द्रका निमित्त कार्यालय प्रमुख गङ्गादत्त अवस्थीले बताउनुभयो। पौष्टिक तथा आर्थिक दृष्टिले निकै महत्त्वपूर्ण मानिने गोब्रे च्याउखेती व्यावसायिक रूपमा विस्तार गर्ने उद्देश्यले किसान शाहीलाई सहयोग गरेको उहाँले बताउनुभयो। 

गोब्रे च्याउबाट मसरुम चिल्ली, मसरुम सुप, मसरुम पकौडालगायत परिकारका बन्ने गर्छन्। अब जिल्लामै गोब्रे च्याउको उत्पादन सुरु भएपछि यहाँका होटल तथा रेष्टुराँमा खपत हुने निमित्त प्रमुख अवस्थीको विश्वास छ। यो वर्ष ज्ञान केन्द्रले सिताके च्याउको पनि परीक्षण गरिरहेको र च्याउखेती गर्ने किसानलाई दिइने सहयोगमा निरन्तरता दिइने उहाँले बताउनुभयो।

लेख सेयर गर्नुहोस्

विज्ञापनहरू
विज्ञापनहरू
तस्बिर: राष्ट्रिय समाचार समिति