गोपाल प्रसाद अधिकारीको सफल कृषि यात्रा

व्यवसायिक तरकारी खेती सँगसँगै उनले मेलिफेरा जातको मौरी पनि पालन गरेका छन् ।

यो कथा नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत कृषि विभागको वेबसाइटमा वि.सं. २०७७ फाल्गुन ७ गते प्रकाशित भएको हो ।


 

कोशी प्रदेश, मोरङ जिल्लाको लेटाङ नगरपालिका वडा नं ९ जाँतेका निवासी गोपाल प्रसाद अधिकारी व्यवसायिक तरकारी खेती गर्न लगानीको श्रोत जुटाउन १२ वर्ष विदेश बसेका थिए । 

विदेशमा मासिक रु ६०,००० कमाई हुँदाहँदै पनि आफ्नै देशमा केही गर्नुपर्छ भन्ने भावनाले विदेशी भूमिमा रहेका ४ उर्जाशिल युवाहरुले स्वदेशमै आई व्यवसाय गर्ने निधो गरे र यही दृढ संलल्पका साथ नेपाल फर्की आए । कृषिसम्बन्धि खोजी गरे, विभिन्न तालिमहरु लिए र ऋण काढेर कृषि व्यवसायमा लगानी गरे । युवा उमेरमा विदेश बसेर बुढेसकालमा देशमा केही गर्न सकिन्न भनेर उमेर छँदै उनीहरु फर्केर आएका हुन् ।

उनी उत्साहपूर्वक भन्छन्, “१२ कठ्ठा गोलभेडा खेती गरी ५ महिनामा १० लाख आम्दानी र जसमा खर्च जम्मा २.५ लाख भयो ।” आफूले खेती गर्दा रासायनिक भन्दा पनि प्राङ्गारिक खाद्यतत्व बढी प्रयोग गर्ने गरेको उनी बताउँछन् ।

विदेश जानु अघि धान खेती मात्र गर्ने गरेको र खेती गर्ने तरिका पनि थाहा नभएकोमा पछि काँक्रा, टमाटर र बोडीबाट सबैभन्दा बढी फाइदा देखेर सोही खेती शुरु गरे । 

उनी विदेश हुँदा घरमा बुवाले पनि तरकारी खेतीसम्बन्धि तालिम लिएको र आफू फर्केर आएपछि बुवासँगै मिलेर खेती गरेका हुन् । 

हाल उनको क्षेत्रमा अरु कृषकहरुलाई पनि खेती गर्नको लागि उनी प्रेरित गर्छन् भने फलाएको तरकारीको लागि बजारिकरणको व्यवस्था पनि मिलाइदिन्छन् । 

अरुको उत्पादन बजारमा लगेर बेच्दा प्रति के.जी. रु १ लिने गरेका छन् । शुरुशुरुमा बजारबारे राम्रो ज्ञान नहुँदा बजारबाटै टमाटर फालेर आउनु परेको तितो अनुभव भएतापनि हाल बजारको राम्रो व्यस्था भएको र केही समस्या नरहेको उनको भनाई छ ।

खेती सँगसँगै उनले मेलिफेरा जातको मौरी पनि पालन गरेका छन् । उनी भन्छन्, “हिँड्न बोल्न सकिन्जेल आफैं पूर्ण रुपले नखटिइकन आम्दानी लिन सकिने व्यवसाय मौरी पालन हो ।”

आफ्नो गाँउमा मात्र नभई अधिकारी अहिले छिमेकी गाँउहरुमा पनि प्रख्यात भएका छन् । 

विदेशिने चाहना भएका युवाहरुलाई सम्झाएर उत्प्रेरणाको श्रोत बनेका अधिकारीले अरुलाई खेती गर्ने तरिका सिकाउने र बजारको जिम्मा पनि लिने गरेका छन् ।