खोटाङमा इन्द्र कुमार राईको अलैंची खेती

“आफ्नो स्वभाव, पारिवारिक तथा सामाजिक वातावरण अनुसारको व्यवसाय छनोट गरे सफलता पाईन्छ ।”
Large Cardamom (Alainchi) | Image Source: Nepal Trade Information Portal

यो कथा नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत कृषि विभागको वेबसाइटमा वि.सं. २०७७ फाल्गुन ७ गते प्रकाशित भएको हो।


 

खोटेहाङ गा.पा-६, ईन्द्राणीपोखरी, खोटाङ निवासी इन्द्र कुमार राई एक व्यवसायिक कृषिकर्मी हुन् । उनले कृषि व्यवसाय शुरु गरेको ३ वर्ष पुरा भयो । ७ वर्ष लामो मलेसिया बसाईको क्रममा उनले बेकरीमा काम गरे र सेक्युरिटीको पनि काम गरे । अर्थोपार्जनको लागि तथा देशमा चरम द्वन्दको अवस्थाका कारण आफू विदेशीनु परेको उनी बताउँछन् ।

विदेश बसाईकै क्रममा सामाजिक संजालसंग आफु जोडिएको र सोहि क्रममा आफ्नै देशमा रहेको प्रवल सम्भावना, विशेषगरी कृषि क्षेत्रको सम्भावना र त्यसमा पनि अलैंची खेती गर्ने कृषकहरुले गरेको कमाई बारे जानकारी पाए । आफ्नो भुगोल पनि अलैंची खेती गर्नको लागि निकै उपयुक्त भएकोले अलैंची खेती लगायत अरु खेतीमा सम्भावना देखेर ३८ वर्षको उमेरमा उनी नेपाल फर्किए ।

आफ्नो सपनालाई साकार पार्नको लागि उनले नेपाल फर्केर आएपछी प्राविधिक ज्ञानको लागि विभिन्न तालिम लिए – जस्तै व्यावसायिकताको लागि ‍औद्योगिक विकास व्यवसायी प्रतिष्ठानले विराटनगरमा दिएको १० दिने प्रशिक्षक प्रशिक्षण तालिम । त्यसपछि उनले अलैंची खेती शुरु गरे र हाल एक सफल अलैंची कृषकको रुपमा परिचित छन् ।

अन्य कुनै पेशा भन्दा पनि कृषि पेशालाई उनी एक आशावादी पेशाको रुपमा लिन्छन् । उनी हर्षका साथ भन्छन्, “विरुवा रोप्दा, उम्रदा, बढ्दा, फुल्दा र फल लाग्दा हरेक चरणमा खुशी मात्र प्राप्त हुन्छ । देशको विकासको लागि कृषि र कृषिसँग जोडीएको कृषि पर्यटन नै हो र हाम्रो भविष्य पनि कृषिमै छ ।”

हाल कृषि विकास समितिमा कृषक प्रतिनिधि रहेको र सक्रीय भएर काम गरेपछी सामाजिक दायित्व पनि बढेको उनले अनुभव गरेको छन् । अबको दिनमा बाँझो जग्गा जमिनलाई कसरी उपयोग गर्ने भन्ने उनको सोच रहेको छ ।

परिवारबाट पनि शुरुमा पुर्ण रुपले साथ नपाएको र पछी राम्रो हुन थालेपछि पारिवारिक सहयोग उनले पाएका थिए । हाल उनी छरछिमेक, गाउँघरमा प्रेरणाका श्रोतको रुपमा चिनिएका छन् र अरुलाई प्रशिक्षण पनि दिईरहेका छन् । उनी युवाहरुलाई सुझाव दिन्छन्, “आफ्नो स्वभाव, पारिवारिक तथा सामाजिक वातावरण अनुसारको व्यवसाय छनोट गरे सफलता पाईन्छ ।”

समस्याहरु ‍औंल्याउनुपर्दा उनी पूर्ण लगानी गर्ने श्रोत नहुनु, सरसापट गर्दा ब्याज महंगो पर्नु र बैंकले नपत्याउनु, यातायातको राम्रो सुविधा नहुँदा बजारीकरणको लागि समस्या पर्नु, मल-बिउ-विषादीको सहज उपलब्धता नहुनु, बाँदर लगायत अन्य वन्य-जन्तुहरु प्रमुख रहेको बताउँछन् ।


 

नेपाल सरकार कृषि विभागमा प्रकाशित

प्रकाशित मिति: २०७७/११/७