कस्तो छ नेपालको आतिथ्य उद्योगको स्वरूप?

गत साता प्रकाशित राष्ट्रिय होटल तथा रेष्टुरेन्ट सर्वेक्षण २०७९/८० ले आतिथ्य क्षेत्रमा रु १०९.२७ अर्बको मूल्य अभिवृद्धि सहित  ३२६ अर्ब रुपैयाँ सेवा उत्पादन गरेको देखाएको छ। जसकोलागि रु २१६.७ अर्ब मूल्य बराबरको रकम लागत खर्च भएको हो।

गत साता प्रकाशित राष्ट्रिय होटल तथा रेस्टुरेन्ट सर्वेक्षण २०८०/८१ ले ३८७,६८७ व्यक्तिहरु आतिथ्य क्षेत्रमा व्यवसायी, साझेदार र कर्मचारीको रुपमा संलग्न रहेको देखाएको छ। संलग्नहरूमा १०६,४५९ तलबी कर्मचारी र २८१,२२८ व्यवसायी वा बेतलबी पारिवारिक कामदार हुन्। तलब, पारिश्रमिक र सुविधाबापत  कुल २० अर्ब ६१ करोड रुपैयाँ भुक्तानी भएको सर्वेक्षणले देखाउँछ।

यो अध्ययन आर्थिक वर्ष २०७९/८० मा गरिएको थियो र यसमा शैक्षिक संस्था, गुम्बा र सडक खाद्य स्टलहरूमा रहेको खाना र बस्ने सेवा समावेश गरिएको छैन।

बृहत् सर्वेक्षणले सम्पूर्ण तारे होटल र रिसोर्टहरू साथै अन्य प्रमुख प्रतिष्ठानहरूमा गैर-तारे होटल, होस्टल, होमस्टे र रेस्टुरेन्टहरू सहितको नमुना लिई देशभरका १,४२,२२३ प्रतिष्ठानहरूलाई समेटेको छ।

अध्ययनले मुलुकभर १ सय २६ तारे होटल र १२६ रिसोर्ट रहेको देखाएको छ। गैर-तारे होटल र लजहरू, होमस्टे, होस्टेल र रेस्टुरेन्टहरूका लागि अध्ययनले ११,९१९ गैर-तारे होटल र लजहरू,  १,३४५ होमस्टेहरु, १,०४७ होस्टलहरू, र १२६,८५९ रेस्टुरेन्टहरूको नमूना समेटेको हो।

लगानी र रोजगारी वितरण

सर्वेक्षणले क्षेत्रीय लगानी र रोजगारी प्रवृतिमा उपयुक्त अन्तर्दृष्टि प्रदान गर्दछ।

नेपालको आतिथ्य उद्योगको कूल स्थिर सम्पत्ति (लगानी) ५४३.२५ अर्ब रुपैयाँ पुगेको प्रतिवेदनमा उल्लेख छ।

सबैभन्दा बढी २४१ अर्ब रुपैयाँको लगानी वाग्मती प्रदेश र त्यसपछि गण्डकीमा १०६ अर्ब रुपैयाँ लगानी भएको छ।

कर्णालीमा सबैभन्दा कम ११ अर्ब रुपैयाँ लगानी छ भने लुम्बिनीमा ५३ अर्ब रुपैयाँ लगानी छ।

रोजगारीको हकमा वाग्मतीमा ६२ हजार ४०५ जनाले रोजगारी पाएको र गण्डकी र कोशीमा क्रमशः १२,४६७ र १०,२४८ कामदार छन् भने कर्णालीमा सबैभन्दा कम मात्र १,६९४ कर्मचारी रहेको छ। 

आवास र भोजन क्षमता

सर्वेक्षणका अनुसार नेपालको आतिथ्य पूर्वाधारमा तारा होटलदेखि होमस्टेसम्मका विभिन्न प्रतिष्ठानहरूमा १,६१,१०० उपलब्ध कोठाहरू छन्।

जसमध्ये तारे होटलमा ८ हजार ४ सय ९६, गैर-तारे होटल तथा लजमा १००,०७५, रिसोर्टमा ३,८२९ र होमस्टेमा ३ हजार ७ सय कोठा छन्।

थप देशका रेस्टुरेन्टहरूले कुल २२.३ लाख एकल सिटको क्षमता राख्छ, जसमा बागमती प्रदेशले यो क्षमताको झन्डै आधा १० लाख तीस हजार हिस्सा ओगटेको छ। यस संख्याले पर्यटक र स्थानीय आगन्तुकहरूको विविध आवश्यकता पूरा गर्न देशको आतिथ्य उद्योगको क्षमतालाई प्रतिबिम्बित गर्दछ।

कोठा दरहरू

आतिथ्य क्षेत्रमा कोठाको दर प्रकार र स्थानको आधारमा फरक छन्।

औसतमा तारे होटलमा स्ट्याण्डर्ड एकल कोठाको प्रति रात रु ६,९१६ शुल्क रहेको छ जबकि गैर-तारे होटलहरूमा रु २,०४७ र रिसोर्टहरूमा रु ७,४५९ शुल्क रहेको छ। होमस्टेले प्रति रात रु १,४७६ मा विकल्प दिएको छ।

क्षेत्रीय भिन्नताको हिसाबले कोशी प्रान्तमा रिसोर्ट श्रेणीमा सबैभन्दा बढी औसत कोठाको दर प्रति रात रु ९,२५० रहेको छ भने बागमतीका तारे होटलको औसत रु ८,२८८ रहेको छ। सुइट कोठाहरूकलागि, कोशीका तारा होटलहरूमा प्रति रात ३४,२७० रुपैयाँको औसत दरको शुल्क रहेको छ जबकि बागमतीले २३,६२६ रुपैयाँमा सुइटहरू प्रस्ताव गर्दछ।

उद्योगको वित्तीय परिदृश्य

सर्वेक्षणले आतिथ्य क्षेत्रको वित्तीय संरचनालाई पनि उजागर गरेको छ, जसले २८.४% प्रतिष्ठानहरूले बैंक, वित्तीय संस्था र सहकारीहरूबाट वित्तपोषण प्राप्त गरेको देखाएको छ।

बैंकिङ क्षेत्रको कर्जा ४०.१% रहेको छ जसमा सहकारीको २७.३%, लघुवित्त संस्थाले १३.५% र व्यक्तिगत लगानीकर्ताको ११.६% योगदान रहेको छ।

कुल १,१८०आतिथ्य प्रतिष्ठानहरू विदेशी स्वामित्वमा छन्। तीमध्ये १,१२१ पूर्ण विदेशी स्वामित्वमा छन्, जसमा रु ३ अर्ब ८० करोड लगानी छ।

आर्थिक मूल्य

यस क्षेत्रले राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनमा १.९६% योगदान पुर्‍याउँछ जसमा मूल्य अभिवृद्धिमा रु. १०९.२७ अर्ब सहितको रु ३२६ अर्ब बराबरको सेवा उत्पादन गरेको सर्वेक्षणले देखाउँछ।

अनौपचारिक सञ्चालन

यस क्षेत्रको एउटा उल्लेखनीय समस्या औपचारिक दर्ताको अभाव हो। सर्वेक्षणले ३७% प्रतिष्ठानहरू उचित सरकारी दर्ताविना सञ्चालन भएको देखाएको छ।

सन् २०२४ मा पर्यटक आगमन 

यस वर्ष २०२४ मा कुल १,१४७,५६७ पर्यटकहरूले देश भ्रमण गरे जुन गत वर्ष भन्दा १३२,६८५ बढी पर्यटक आगमन हो र कोभिड महामारी पछिको सबैभन्दा धेरै आगमन। यसले दैनिक करिब ३ हजार पर्यटकको नेपाल आगमन देखाउँछ।

गत वर्ष १,१०४,८८२ पर्यटकहरूले देश भ्रमण गरे जस अनुसार २०२४ मा १३.१% को वृद्धि भएको देखाउँछ।

सन् २०२० को शुरुमा महामारीले पर्यटनलाई ठप्प पार्नुअघि नेपालले सन् २०१९ मा लगभग बाह्र लाख पर्यटकलाई स्वागत गरेको थियो।