सिसहनियाको फराकिलो धानखेतहरूको छेउमा अवस्थित छ — बरेवा पोल्ट्री फार्म । मधेश प्रदेश बारा जिल्लाको कलैया उप-महानगरपालिकामा अवस्थित उक्त फार्मका संचालकहरु हुन् — सालिकराम अर्याल, राजेश्वर बहादुर गौतम र सन्तोष कुमार साह ।
विदेशी भूमिमा अवसर खोज्नुभन्दा आफ्नै देशमा केही सुरुवात गर्ने सोच र प्रतिबद्धतालाई बरेवा फार्मले सहज रूपमा अभिव्यक्त गर्छ ।
एक साधारण सुरुवात
बरेवाको कथा वि.सं. २०७८ मा १.४५ बिघा भाडामा लिएको जग्गा र एकल खरको छानो भएको हाँसको खोरबाट सुरु हुन्छ । यधपि यो जग्गा करिब ८ वर्ष अगाडि पहिले नै माछापालनका लागि लिजमा लिइएको थियो ।

“हाम्रो ठूलो महत्वाकांक्षा थिएनन्,” सालिकराम सम्झन्छन्, “हाम्रो उदेश्य फगत आफ्नै ठाउँमा केहि सुरुवात गर्ने र विदेशमा अरूका लागि काम गर्नुभन्दा नेपालमै जीविकोपार्जन गर्ने ।”
प्रारम्भिक पुँजीमा सालिकरामको कुनै योगदान नभएपनि सुरुवाती दिनहरुमा उनी फार्मको व्यवस्थापकको रूपमा नियुक्त भए । उनका साझेदारहरूले भने करिब १५ लाख रुपैयाँ लगानी गरे ।
हाँसपालन तर्फ लाग्नु अघि उनीहरू मंगुर प्रजातिको माछापालन गर्थे । ती माछाको आहार वीरगंज बजारबाट सङ्कलन गरिएको कुखुराको आन्द्रा थियो ।
जाडो याममा माछालाई अरु मौसमको तुलनामा कम आहारले पुग्थ्यो । तर पहिल्यै वीरगंजका व्यापारीहरूसँग आन्द्रा किन्ने सम्झौता भइसकेको हुँदा उनीहरु हाँसपालन तर्फ पनि लाग्ने निर्णय गरे । हाँसले मज्जाले आन्द्रा खान्छ । त्यसपछिका ४-५ महिनासम्म हाँसलाई पकाएको आन्द्रा खुवाइयो । गर्मी मौसम आएपछि माछाले फेरि पहिले जसरी नै आन्द्रा खान सुरु गरेपछि हाँसलाई दाना खुवाऊन थालियो।
अलिपछि मंगुर माछाको खपत गर्दा मानव स्वास्थ्य सम्बन्धि समस्या देखा पर्ने खबरको कारणले व्यावहारिकता र आवश्यकता दुवैलाई ध्यानमा राख्दै पूर्णरुपमा हाँसपालन गर्ने निचोडमा पुगे ।
फार्म निर्माण
सुरुवाती दिनहरू सजिला थिएनन् ।
हाँसका २,००० वटा चल्लाहरुसहितको पहिलो ब्याच जनकपुरबाट मगाइयो ।
हाँसहरूले अण्डा पार्न सुरु गरेपछिको दुई वर्षसम्म अण्डा बेचेर प्राप्त भएको आयले सुरुको लागत उठाउन पर्याप्त भएन । खर्चहरू आकासिँदै गए । सालिकराम र उनका साझेदारहरुले अण्डाहरूबाट चल्ला निकाल्न प्रयोग गरिने इन्क्युबेटिङ मेसिनमा लगानी गर्ने योजना बनाए । यसले पहिले अण्डाहरू नारायणघाट पठाएर चल्ला ल्याउनुपर्ने महँगो यात्राको खर्च घटाउन मद्दत पुर्यायो ।
पहिले तीन र हालसालै एक गरी भारतबाट आयात गरेको चारवटा इन्क्युबेटरको जम्मा लागत ८० लाख रुपैयाँ परेको थियो । “यो रकम आंशिक रूपमा सानिमा बैंकबाट लिएका थियौँ । नयाँ लगानीले फार्मको संचालन पनि सहज बन्यो,” सालिकराम बताउँछन् । फार्ममा नै चल्ला कोरल्न सकिने हुनाले यसले यात्राको खर्च घटाएको छ । १५-२० दिनको ध्यानपूर्वक हेरचाहपछि चल्लाहरू स्थानीय किसान र व्यापारीहरूलाई बेच्नको लागि तयार हुन्छन् ।
फार्ममा अहिले इन्क्युबेटर मेसिनहरु राखिएका ठूलो कोठा र अण्डा भण्डारण कोठा छ । अण्डा भण्डारण कोठा कार्यालयको रूपमा पनि प्रयोग हुँदै आएको छ, जहाँ एउटा खाट र एउटा डेस्क राखिएको छ ।

फार्म एकल हाँसको खोरबाट बढेर अहिले करिब ९५० हाँसहरू (रनर र ह्वाइट पेकिन), २०० तितिरहरू, १८ टर्कीहरू, र करिब एक किलोमिटर टाढा छुट्टै कुखुरापालन फार्मसम्म पुगेको छ । फार्ममा हाँसहरूलाई नुहाउनको लागि मानव निर्मित पोखरी पनि छ ।
सुरुवाती दिनहरुको तुलनामा प्रगति देखिएतापनि फार्म अझैपनि आर्थिक रूपमा संघर्ष गर्दैछ । कमाएको पैसा पूर्णरुपमा नाफा नभई विस्तार र पूर्वाधारमा पुनः लगानी भइरहेको यथार्थ सालिकराम पोख्छन् । “हामी शून्य त छैनौँ । धानेकै छ ।”
अवरोधहरू पार गर्दै
आर्थिक श्रोतको अवरोध, सुरुवाती नाफा कमाउन कठिनाई र हाँसपालन व्यवस्थापनको सिकाइ प्रक्रियालगायत धेरै चुनौतीहरूका वाबजुत पनि सालिकराम र उनका साझेदारहरूले धैर्यता गुमाएका छैनन् ।

“हामीले आफ्नो समस्याहरु भोगेका छौँ,” सालिकराम सम्झन्छन् । “कमजोर आर्थिक अवस्थाका कारण हामीले एकपटक हाम्रा हाँसहरूलाई गहुँ र मकै खुवाएका थियौँ । काँचो अन्न [जसमा ढुसी थियो] पचाउन नसकेर धेरै [हाँसहरु] मर्यो । त्यसपश्चात हामीले केवल उच्च गुणस्तरका अन्नहरू खुवाउन शुरु गर्यौं ।”
“एउटा हाँसले आफ्नो जीवनकालमा बढीमा चारदेखि पाँच महिनासम्म अण्डा दिन्छ । अण्डाको सिजन सामान्यतया फाल्गुनमा सुरु भएर जेठसम्म रहन्छ, र त्यसपछि तीव्र गिरावट आउँछ । बरेवा फार्ममा जेठ महिनायता अण्डा उत्पादन दैनिक ५००–६०० युनिटबाट घटेर १००–१५० युनिटमा पुगेको छ । “अहिले हामी केवल फार्मलाई ‘मेन्टेन’ गर्दैछौँ ।”
वर्षायाममा हाँसहरूले कम अण्डा दिन्छन् , जसले गर्दा बिक्रीमा कमी आउँछ । यसबाहेक हाँसको बच्चाको मृत्युदर पनि यस्तो बेला उच्च हुन्छ । थप नोक्सानबाट जोगिनका निम्ति फार्मले जाडाका तीन महिना (मंसिर, पुस, माघ) इन्क्युबेटर मेसिनहरुको संचालन अस्थायी रूपमा रोक्छ भने फागुनको अन्त्यबाट पुनः संचालन गर्छ ।
समुदायमा प्रभाव
हाल वार्षिक १० लाख रुपैयाँको कारोबार गर्ने बरेवा फार्मले कुखुरा र हाँस फार्ममा आहार दिन तथा हेरचाह गर्नका लागि एक-एक जनालाई रोजगारी दिएको छ ।
सालिकराम जसले कक्षा दशसम्म औपचारिक शिक्षा प्राप्त गरेका छन् उनी सम्पूर्ण फार्मको निरीक्षण गर्न मात्र होइन, व्यापारीहरू र फिल्डवर्कको व्यवस्थापन गर्न पनि केन्द्रीय रूपमा सक्रिय छन् । उनका अन्य साझेदार सन्तोषले कुखुरा फार्मको व्यवस्थापन गर्छन् भने राजेश्वर कलैया उप-महानगरपालिकाको कर शाखामा कार्यरत छन् ।
फार्मले दैनिक ५०० देखि ६०० हाँसका चल्ला बेचिरहेको छ, जसलाई व्यापारीहरूले छिमेकी जिल्ला पर्सा, रौतहट, र सर्लाहीसम्म साइकल र मोटरसाइकलमा वितरण गर्छन् ।

सालिकराम फार्मको स्थानीय समुदायमा योगदानमा गर्व गर्छन् । “हामीले स्थानीय किसानहरूलाई स्वस्थ चल्ला र हाँसको स्थिर आपूर्ति गरिरहेका छौं र हाम्रो कामले रोजगारको अवसर सिर्जना गरेको छ ।”
जब हाँसहरूले अण्डा पार्न छोडछन् तिनीहरूलाई स्थानीय व्यापारीहरूलाई बेचिन्छ, जसले ती हाँसहरू स्थानीय घरपरिवारलाई उपभोगको लागि बेच्दछन् ।
भावी किसानहरूका लागि सुझाव
हाँस पालनतर्फ लाग्न चाहनेहरूको लागि सालिकराम निम्न सुझाव दिन्छन्:
“सानोबाट सुरु गर्नुहोस् । ठूलो संख्यामा गर्न हतार नगर्नुहोस् । २०० भन्दा कमको संख्यामा सुरु गर्नुहोस् । हाँसहरूलाई नाफा देखाउन समय लाग्छ — दुई वर्षभन्दा बढी समय लाग्न सक्छ । ब्रोइलर कुखुराजस्तै ४०-४५ दिनमा बेच्न सकिने होइन, हाँसहरू धैर्यता र सावधानीपूर्वक व्यवस्थापन आवश्यक पर्दछ ।”
सालिकराम हाँसहरूको लागि उचित पोषणको महत्त्वलाई पनि जोड दिन्छन् ।
“यदि हाँसहरूलाई अण्डाका लागि पालन गरिरहनुभएको छ भने, तिनीहरूलाई उच्च प्रोटीनयुक्त आहार दिनुपर्छ, विशेष गरी लेयरको (L1 वा L2) दाना, जुन पूर्व पकाइएको हुन्छ । तिनीहरूलाई काँचो दाना जस्तै मकै या गहुँ खुवाउनु पर्याप्त हुँदैन । तिनीहरू बढ्नेछन्, तर अण्डा पार्नेछैनन् । उनीहरूको स्वास्थ्य र उत्पादकत्वको लागि सन्तुलित प्रोटीनयुक्त आहार आवश्यक छ । यसको बावजुद पनि करिब ७०% ले मात्र अण्डा दिनेछन् । ३०% को कमी सधैँ रहन्छ ।”
“यो पनि जान्न आवश्यक छ कि हाँस र कुखुरा एउटै स्थानमा पाल्नु हुँदैन । हाँसको तुलनात्मक रूपमा बढी प्रतिरक्षा क्षमता छ, जबकि यो कुखुरामा थोरै हुने गर्दछ । सीआरडी (क्रोनिक रेस्पिरेटरी डिजीज) भन्ने रोग कुखुरामा बढी लाग्ने गर्दछ, जसले मृत्यु दरलाई बढाउँछ । हाँसहरू सजिलै प्रभावित हुँदैनन् । यसै कारणले हामीले कुखुराका लागि छुट्टै फार्म बनाएका छौं ।”
अगाडि बढ्दै
हालका लागि, सालिकराम आफ्ना प्राथमिकताहरू स्पष्ट राख्छन् — थप विस्तारको सोच विचार गर्नु अघि बाँकी ऋण तिर्ने । “यदि ऋण तिरियो भने, ब्याजको रकम स्वचालित रूपमा बचत हुन्छ ।” आगामी पाँच वर्षभित्र कूल नाफा कमाउनेमा उनी विश्वस्त छन् ।

“हामी अहिले हाम्रो साधनभन्दा बढी बढ्न हतारमा छैनौं,” उनले थप्छन् । “हाम्रो ध्यान हामीसँग भएको चीजलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्नेमा केन्द्रित छ। जब हामी स्थिर अवस्थामा पुग्छौं, तब मात्र हामी निजगढ वा चितवनजस्ता नयाँ क्षेत्रहरूमा विस्तारको बारेमा सोच्न सक्छौं, तर अहिलेका लागि, हामीसँग जे जति छ, पहिले त्यसलाई प्रभावकारी व्यवस्थापन गर्नमा केन्द्रित छौं ।”
फार्मले छिट्टै नयाँ प्रजातिका माछा पालन सुरु गर्ने आशा पनि राखेको छ ।