ओपेक कोषले नेपालको उद्यमलाई वित्त पोषण गर्न ग्लोबल आइएमईलाई २.५ करोड डलर ॠण

लगानीको खाँचोमा परेका नेपालका उद्यमहरूले अब ग्लोबल आइएमई बैंकबाट ॠण वित्तपोषणको लाभ उठाउन सक्छन् ।

अन्तर्राष्ट्रिय विकासका लागि ओपेक फन्ड (एक विकास वित्त संस्था) ले नेपालको ग्लोबल आइएमई बैंकसँग २.५ करोड डलर ॠण सम्झौतामा हस्ताक्षर गरेको छ । सो सम्झौता जुन २५ २०२४ मा गरिएको हो । सम्झौता अन्तर्गत ग्लोबल आइएमईले सो रकम नेपालमा आधारित लघु, साना र मध्यम उद्यम, महिला स्वामित्वका उद्यमहरू र जलवायु स्मार्ट परियोजनाहरू मा ॠण लगानी गर्नेछ ।

बैंकसँगको ओपेक कोषको ऋण सम्झौताले नेपाली लघु, साना र मध्यम उद्यममा रहेको ठूलो वित्तीय अन्तरलाई सम्बोधन गर्ने अपेक्षा गरिएको छ, जुन करिब ३.६ अर्ब डलर रहेको अनुमान छ । “नेपालमा दर्ता रहेका कुल व्यवसायमा एमएसएमईहरूको हिस्सा ९५% र सो उद्यमहरुले कुल रोजगारीमा ४५% योगदान गर्छन् ”, उनीहरूको प्रेस विज्ञप्तीमा भनिएको छ ।

यो ऋण सौर्य ऊर्जा, जलवायु-स्मार्ट कृषि र स्वच्छ यातायात जस्ता परियोजनाहरूमा पनि प्रयोग गरिने छ ।