यस वर्ष अक्टोबरमा जम्मा १२४,३९३ पर्यटक नेपाल भित्रिएका छन्। २०२३को अक्टोबरमा ११७,३०६ पर्यटक आएका थिए । तुलनात्मक रूपमा यो ६.१% को वृद्धि हो। २०२३ मा चार वर्षपछि पहिलो पटक नेपालमा पर्यटक आगमनले १० लाखको आँकडा पार गरेको थियो।
यद्यपि यस वर्षको अक्टोबरमा पर्यटक आगमनको संख्या महामारीअघिको वर्ष भन्दा अझै कम रहेको छ।
अक्टोबर २०१९ मा १३४,०९६ पर्यटक नेपाल आएका थिए। त्यस वर्ष देशले कुल १९ लाख पर्यटक आकर्षित गरेको थियो। यस महिनाको आगमनमा २०१९ को तुलनामा गिरावटको एक कारण हालै देशमा आएको प्राकृतिक विपत्ति पनि हुन सक्छ, जसले राजधानी शहरलाई पनि गम्भीर असर पुर्यायो।
२०२४ मा भने पहिलो १० महिनामा नेपालले जम्मा ९४१,०३२ पर्यटकहरूलाई स्वागत गरेको छ — जुन पोहोर साल भन्दा १६.२२ % को वृद्धि हो। पोहोर साल अक्टोबर सम्म ८०९,६७८ पर्यटक नेपाल भित्रेका थिए।
यो वर्ष आगमनको चरम महिना मार्च रह्यो जुन महिना १२८,१६७ पर्यटक आए। अप्रिलमा १११,३७६ पर्यटकहरू आएका थिए भने अक्टोबरमा १२४,३९३ पर्यटकको आगमन भएको थियो।
यहाँ २०२३ र २०२४ का पर्यटक आगमनको मासिक विवरण छ:
महिना | २०२३ | २०२४ | वृद्धि (प्रतिशतमा) |
जनवरी | ५५,०७४ | ७९,१०० | ४३.६ |
फरवरी | ७३,२५५ | ९७,४२६ | ३३ |
मार्च | ९९,४२६ | १,२८,१६७ | २८.९ |
अप्रिल | ९८,७७३ | १,११,३७६ | १२.८ |
मे | ७७,७०३ | ९०,२११ | १६.१ |
जून | ७२,२५० | ७६,७३६ | ६.२ |
जुलाई | ५७,७२६ | ६४,५९९ | ११.९ |
अगस्त | ६७,१५३ | ७२,७१९ | ८.३ |
सेप्टेम्बर | ९१,०१२ | ९६,३०५ | ५.८ |
अक्टोबर | ११७,३०६ | १,२४,३९३ | ६.१ |
अक्टोबरमा शीर्ष १० पर्यटन बजारहरू
देश | आगमन भएका पर्यटक संख्या |
भारत | १६,३१३ |
अमेरिका | १६,०२३ |
बेलायत | ८,०१९ |
चीन | ७,७५० |
अस्ट्रेलिया | ६,९२९ |
जर्मनी | ६,०१८ |
फ्रान्स | ५,४८५ |
बंगलादेश | ४,४७६ |
श्रीलंका | ३,१२५ |
इटाली | २,६३५ |
यसैबीच, नोभेम्बर ८ देखि काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल राति १० बजेदेखि बिहान ८ बजेसम्म १० घण्टाका लागि बन्द हुनेछ। यो व्यवस्था ट्याक्सी वे विस्तारको लागि आगामी पाँच महिना अर्थात् मार्च ३१ सम्म लागू हुनेछ। यो बन्द पर्यटक आगमनको मुख्य सिजन ( सेप्टेम्बरदेखि नोभेम्बरसम्म) हुन गईरहेको छ, जसले पर्यटन उद्योगमा ठुलै असर पार्न सक्ने आंकलन विशेषज्ञहरुको छ।