Nep
Eng
Nep
Eng

This post is also available in: English

स्ट्रबेरी खेतीले बढायो ‘एग्रो–टुरिजम’को आकर्षण

ससन देवकोटाका अनुसार यहाँ स्ट्रबेरी उत्पादनको मुख्य समय करिब ५० दिनसम्म रहन्छ।
तस्बिर: रासस

 


 

भरतपुर महानगरपालिका–५ समिचोकस्थित नेपाल एग्रोभाइन प्रालिको फर्ममा फलेको स्ट्रबेरीले यतिबेला पर्यटकको ध्यान तानेको छ।

विगत पाँच वर्षदेखि व्यावसायिक रूपमा सञ्चालन हुँदै आएको यस फर्मले स्ट्रबेरीखेतीसँगै एग्रो–टुरिजम प्रवद्र्धनलाई प्राथमिकता दिँदै आएको छ।

फर्मका सञ्चालकमध्येका प्रमुख ससन देवकोटा नौ वर्षअघि अमेरिका बसाइबाट नेपाल फर्किनुभएको हो। अमेरिकामा उच्च शिक्षा हासिल गरी उहाँले एग्रो–टुरिजम मोडलमा आधारित कृषि व्यवसाय सुरु गर्नुभएको हो। “हामीले एग्रो–टुरिजम मोडलमा स्ट्रबेरी फर्म सञ्चालन गरेका छौँ। यहाँ आउने आगन्तुकले आफैँ स्ट्रबेरी टिपेर लैजान सक्छन्”, उहाँले भन्नुभयो।

विज्ञापनहरू

स्ट्रबेरीखेती एक बिघा क्षेत्रफलमा फैलिएको छ भने समग्र फर्म पाँच बिघामा विस्तार गरिएको छ। फर्ममा चार जना स्थायी कर्मचारी कार्यरत छन् भने दैनिक ज्यालादारीमा आठदेखि १० जनासम्म कामदार खटिने गरेका छन्। यस वर्षदेखि आधुनिक तरीकाबाट स्ट्रबेरीसँगै टमाटर, क्याप्सिकम र खोर्सानी खेतीसमेत सुरु गरिएको छ।

देवकोटाका अनुसार यहाँ स्ट्रबेरी उत्पादनको मुख्य समय करिब ५० दिनसम्म रहन्छ। सुरुआती वर्षमा अनुसन्धान गर्दै उपयुक्त जात छनोट गरिएको उहाँ बताउनुहुन्छ। विशेषगरी अमेरिकन भेराइटीका स्ट्रबेरी तराई क्षेत्रमा राम्रो हुने भएकाले सोही जात लगाइएको छ।

उक्त बिरुवा मूलतः अमेरिकामा विकास गरिएको र हाल इजिप्टस्थित नर्सरीबाट आयात हुने गरेको उहाँको भनाइ छ। आगामी वर्षदेखि बिरुवा स्वदेशमै उत्पादन गर्ने योजना रहेको पनि उहाँले जानकारी दिनुभयो।

“स्ट्रबेरीले अहिले एग्रो–टुरिजमलाई राम्रोसँग प्रवद्र्धन गरेको छ”, उहाँले भन्नुभयो। एग्रो–टुरिजममार्फत कृषिसँग प्रत्यक्ष जोडिने अवसर मिल्ने भएकाले बालबालिका तथा विद्यार्थीका लागि यो उपयोगी माध्यम बनेको उहाँको अनुभव छ। विभिन्न कृषि कलेजका विद्यार्थीले फर्ममा अध्ययन तथा अनुसन्धानसमेत गर्दै आएका छन्। व्यावहारिक शिक्षामा यसले टेवा पु¥याएको देवकोटाको भनाइ छ।

देवकोटाका अनुसार पहाडी भेगमा पाइने भुइँ ऐँसेलु जातका स्ट्रबेरी समुद्री सतहबाट करिब १७ सयदेखि १९ सय मिटर उचाइमा राम्रो फल्ने गर्छन्। “एग्रो–टुरिजमको सम्भावना नेपालमा धेरै छ”, देवकोटाले भन्नुभयो, “अहिले मानिस कृषिसँग जोडिने रहर राख्छन्। केहीले भने पैसा कमाएर खेती छोड्ने अवस्था पनि देखिन्छ। तर जति कमाए पनि अन्ततः खानैपर्छ भन्ने कुरा बिर्सेर खेती छोडेका छन्। हाम्रो टिमको उद्देश्य भने कृषि पढेर कृषिमै रमाउन सकिन्छ भन्ने सोचको विकास गर्नु हो।” उहाँले आगामी दिनमा अन्य स्थानमा पनि एग्रो–टुरिजम विस्तार गर्ने योजना रहेको बताउनुभयो।

लेख सेयर गर्नुहोस्

विज्ञापनहरू
विज्ञापनहरू
तस्बिर: रासस