Nep
Eng
Nep
Eng

This post is also available in: English

विवाहमा बाजा बजाएर वार्षिक तीन लाख आम्दानी गर्दै पाल्पाका महिला

घरधन्दाले मात्र जीवन बिताउन कठिन भएपछि गाउँका महिलाहरुले बाजा बजाउन सिकेको तारादेवी बस्यालले बताउनुभयो।
तस्बिर: रासस

 


 

तानसेन (पाल्पा), २७ साउनः यहाँको तानसेन नगरपालिका–१० तेल्घाकी ६० वर्षीया तारादेवी बस्याललाई बाजा बजाउन भ्याइनभ्याइ छ। गाउँघरमा हुने विवाह, पूजालगायत शुभकार्य र मेला महोत्सवमा बस्यालको व्यस्तता बढेको हो।

गाउँघरमा हुने विवाह, पूजा, कुलपूजा, व्रतबन्धलगायतका शुभकार्यमा बाजा बजाउने मानिस नभेटिँदा उहाँले तीन वर्षअघि गाउँकै दिदीबहिनी मिलेर नौमती, पञ्चैबाजा बजाउन सिक्नुभएको थियो । बाजा समूहकी अध्यक्षसमेत रहनुभएकी बस्यालले समूह गठन गरेर व्यावसायिक रूपमा आम्दानी लिन थालेको बताउनुहुन्छ । बाजा बजाउन सिकेपछि मौलिक संस्कृतिको संरक्षणसँगै गाउँघरमा विवाह, पूजालगायतका धार्मिक कार्यमा सहजतासँगै महिलाहरुको आम्दानीको स्रोत बनेको उहाँको भनाइ छ।

बाजा बजाएरै वार्षिक प्रतिव्यक्ति रु तीन लाखसम्म आम्दानी हुने गरेको बस्यालले जानकारी दिनुभयो। घरधन्दाले मात्र जीवन बिताउन कठिन भएपछि गाउँका महिलाहरुले बाजा बजाउन सिकेको उहाँले बताउनुभयो। उहाँले भन्नुभयो, “हामीहरूले पञ्चैबाजा बजाउन नसिक्दा गाउँमा विवाह, पूजालगायतमा बाजा बजाउने मानिस नपाइने अवस्था थियो। टाढाबाट बाजा बजाउने मानिस ल्याउँदा खर्च बढी हुन्थ्योे। पछिल्लो समय गाउँघरमा हुने शुभकार्यमा सहज भएको छ।”

विज्ञापनहरू

तीन वर्षअघि देखि बाहुन समुदायका महिलाहरु मिलेर बाजा बजाउँदै आएका हुन्। समूहले एउटा कार्यक्रमको रु १५ हजारदेखि ६० हजारसम्म पारिश्रमिक लिने गरेको समूहकी उपाध्यक्ष कमला बस्यालले बताउनुभयो। समूहमा मञ्जु पन्थी, मनकुमारी न्यौपाने, भगवती भुसाल, तारा भट्टराई, सुष्मा बस्याल, सविता अधिकारी, खुमा पँगेनी, मञ्जु कँडेल, मिरा न्यौपाने र निरला शर्मासहित १२ महिला आबद्ध छन्।

पाल्पाका अधिकांश, कार्यक्रम, विवाह, महोत्सव, वार्षिकोत्सवदेखि मेला समारोहमा उनीहरुको माग छ। बाजा बजाउने महिलाहरुले एउटै पोसाक बनाएका छन्। उनीहरु धङ्कुरी कर्नाल, सनाई र मर्चुङ्गा, बजाउँछन्। उनीहरुले दमाहा, ढोलक, ट्याम्को र झ्याली बजाउँदा सबैलाई आकर्षित गर्ने गर्छ। उनीहरु गुल्मी र अर्घाखाँची, रुपन्देही र स्याङ्जासम्म बाजा बजाउन पुग्छन्। “बाजा बजाउँदा सबैले हौसला मात्रै दिनुभएको छैन, आम्दानी पनि राम्रै भएको छ,” समूहकी उपाध्यक्ष बस्यालले भन्नुभयो।

त्यसैगरी, रिब्दीकोट गाउँपालिका–३ का महिलाहरुले पनि पञ्जैबाजा बजाउने तालिम लिएर विवाह, व्रतबन्धलगायत धार्मिक उत्सव र सभासमारोहमा आफ्नो सीप देखाउन थालेका छन्। आदिवासी जनजाति समूहकी संयोजक अरुणा छहारीले पञ्चैबाजाको संरक्षण, परम्पराको जगेर्नासँगै आयआर्जनमा सहयोग पुग्ने भएकाले गाउँपालिका र वडाको सहयोगमा  बाजा बजाउन सिकेको बताउनुभयो। समूहमा ४० देखि ५५ वर्षसम्मका १६ महिला आबद्ध छन्।

“गाउँमा बाजा बजाउने युवा नहुँदा छिमेकी गाउँबाट बोलाउनुपर्ने थियो, छिमेकी गाउँबाट बाजा बजाउने जनशक्ति नआए संस्कार नै लोप हुने अवस्था आएपछि महिलाहरूले बाजा बजाउन सिकेर आम्दानी गर्न थालेका छौँ”, उहाँले भन्नुभयो।

यहाँका महिलाले व्यावसायिक रूपमा बाजा बजाउन थालेको वडाध्यक्ष नारायणबहादुर केसीले बताउनुभयो। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिप्रसाद खनालका अनुसार गत वर्ष गाउँपालिकाबाट वडामा विनियोजन गरेको रु ५० हजार बजेटले बाजा खरिद गरिएकामा यस वर्ष रु ५० हजार बजेट विनियोजन गरी बाजा बजाउन सिकाइएको हो।

लेख सेयर गर्नुहोस्

विज्ञापनहरू
विज्ञापनहरू
तस्बिर: रासस