Nep
Eng
Nep
Eng

This post is also available in: English

बङ्गुर पालेर स्वरोजगार र आत्मनिर्भर

म्याग्दीका २५ वर्षीय बिमल सापकोटा कुखुरापालन व्यवसाय असफल भएपछि र बङ्गुर पालनमा लागे। हाल उनी ५० वटा बङ्गुर र २० वटा बाख्रा भएको फार्म चलाउँछन् र कडा सरसफाइ मापदण्डहरू कायम राख्दै र आफ्नो फार्म विस्तार गर्दै स्थानीय मासु आपूर्तिमा योगदान पुर्याई रहेका छन्।

बङ्गुरपालन गरेका म्याग्दीका एक युवाले निरन्तर मेहनत गर्ने हो भने देशमै स्वरोजगार र आत्मनिर्भर बन्न सकिने सन्देश दिनुभएको छ।

मङ्गला गाउँपालिका–५ हाडेभिरका २५ वर्षीय विमल सापकोटा व्यावसायिक बङ्गुरपालनबाट स्वरोजगार र आत्मनिर्भर बन्नुभएको हो। “कुखुरापालनमा असफल भएपछि चार वर्षअघि रु १५ लाख लगानीमा बिएनबी कृषि तथा पशुपन्छी फार्म खोलेर बङ्गुर र बाख्रापालन सुरु गरेको थिएँ”, उहाँले भन्नुभयो, “कुखुरामा डुबेको थिएँ, बङ्गुर पालेर उठे।”

उहाँको फार्ममा हाल ५० वटा बङ्गुर र २० वटा बाख्रा छन्। मासु र पाठापाठीका लागि ल्याडरेस  जातका बङ्गुर पाल्नुभएको छ। फार्ममा जमुनापारी र खरी जातका बाख्रा छन्। सापकोटाले प्रतिकिलो रु छ सयका दरले मासिक छ हजारदेखि सात हजार किलोग्राम बङ्गुरको मासु र प्रतिगोटा रु सात हजारका दरले वार्षिक तीन सय बङ्गुरका पाठापाठी बिक्री हुने बताउनुभयो।

मासुको बिक्री गर्न सापकोटाले मङ्गला गाउँपालिका–२ बाबियाचौरमा मासु पसल पनि सञ्चालन गर्नुभएको छ। बाबियाचौरका साथै मुस्ताङका होटलमा बङ्गुरको मासु खपत हुने गरेको छ। फार्ममा विमलसहित परिवारका थप चार जना सदस्यले रोजगारी पाएका छन्। बुबा तारानाथ सापकोटा, आमा चित्रकला र श्रीमती सुकमायाले विमललाई बङ्गुरपालनमा सघाउनुहुन्छ। “छिमेकी र आफन्तले बाहुनले बङ्गुर पाल्न हुँदैन भनेर सुझाएका थिए”, तारानाथले भन्नुभयो, “पहिले बङ्गुर नपाल्न सुझाव दिनेहरू अहिले व्यापार देखेर छक्क पर्छन्।”

सापकोटाको बङ्गुर फार्म व्यवस्थित र सफा छ। माउ, भाले, पाठापाठी राख्ने फरकफरक कोठा छन्। रोगबाट बचाउन फार्मको नियमित सरसफाइ गर्नुहुन्छ। फार्मको फोहरलाई सुरक्षित रूपमा व्यवस्थापन गरिएको छ। सो फार्ममा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सहयोगमा जिल्लामै पहिलोपटक गत चैतमा उच्च नश्लको कम बोसो भएको अमेरिकन नश्लको शुद्ध बङ्गुरको ताजा बीर्यबाट कृत्रिम गर्भाधान गरिएको थियो। परियोजनाका साथै भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र मङ्गला गाउँपालिकाको पशु सेवा शाखाले प्राविधिक सहयोग गरेका छन्।

सापकोटाको अनुभवमा महामारीजन्य रोगबाट बचाउनु बङ्गुरपालनको प्रमुख चुनौती हो। दाना आयात गरेर खुवाउनुपर्दा आम्दानीको ठूलो हिस्सा दानामा खर्च हुने गर्छ। बङ्गुरका पाठापाठी र मासुको माग बढेकाले फार्मको क्षमता विस्तार गर्ने उहाँको योजना छ। “घरव्यवहार र परिस्थितिका कारण कक्षा १० पढेपछि व्यवसायमा जोडिएको थिएँ”, उहाँले भन्नुभयो, “विदेश जाने योजना बनाएको छैन। स्वदेशमै व्यवसायलाई निरन्तरता दिन्छु। बङ्गुरपालनबाट सन्तुष्ट छु।”

लेख सेयर गर्नुहोस्