पोखराको माया ईको भिलेज एकिकृत कृषि फार्म

मीना कुमारी गुरुङ्ग जसले २२ रोपनी जग्गा खरिद गरि सिताके च्याउ, काउली, बन्दा, लहरे तरकारी, भेडे खुर्सानी लगायतका खेती साथै भर्मीकम्पोष्ट उत्पादन तथा विक्री पनि गरिरहेकी छिन्।
Image by jcomp on Freepik | For Illustration Purpose

यो कथा कृषि विभागको वेबसाइटमा ५ फाल्गुन २०७७ मा प्रकाशित भएको हो।


 

जीवनको १६ वर्ष विदेशमा विताएकी ५३ वर्षिया मीना कुमारी गुरुङ्ग हाल झिझिर्का, पोखरा-२५, कास्कीको १४०० मिटर उचाईमा माया ईको भिलेज एकिकृत कृषि फार्म संचालन गरेर बसेकी छन्। ६ वर्ष जापान बसाई र विभिन्‍न समयमा हङ्‍कङ, ब्रुनाई, अमेरिका तथा बेलायत बसेको अनुभव उनको छ। विदेश बस्दा सबै कुरा राम्रो भएपनि नेपाली भनेर हेपीईनुपर्दा साह्रै पिडा भएको र आफ्नै देशमा केही गर्न सकिएन भन्‍ने पिडाले उनलाई सधै सताइरह्यो। आफूमा के क्षमता छ भन्‍ने जान्‍न, विदेश गएपछि मान्छे विदेशमै हराउँछन् भन्‍ने भ्रम चिर्न र आफ्नो कृषि प्रतिको लगावलाई पूर्णता दिन यो काम शुरु गरेको उनी बताउँछिन्।

राष्ट्रिय कृषक महासंघको पूर्व अध्यक्ष तथा प्राङ्गारिक कृषि उद्यमी समूहकी अध्यक्ष पनि रहेकी गुरुङ्गले जापानमा छँदा कृषि सम्बन्धि ज्ञान हाँसिल गरेकी थिइन्। त्यस्तै भारतको गाजियाबादमा कृषि सम्बन्धि तालिम लिएकी गुरुङ्गलाई हाल विभिन्न संघ-संस्थाहरुले तालिम दिन समेत बोलाउँछन्। वि.सं. २०६७ साल देखि तरकारी खेती शुरु गरेपनि उनले वि.सं. २०७२ सालमा मात्रै आफ्नो फार्म दर्ता गरेकी थिइन्।

हाल उनले २२ रोपनी जग्गा आफैले खरिद गरि सिताके च्याउ, काउली, बन्दा, लहरे तरकारी, भेडे खुर्सानी लगायतका उपजहरुको खेती गरिरहेकी छिन् भने भर्मीकम्पोष्ट उत्पादन तथा विक्री पनि गरिरहेकी छिन्। उनको उत्पादन पोखरा मै खपत हुने गरेको छ। आफू र आफ्ना दुई छोराहरुको परिवार पनि यसै पेशामा लागेको र थप ७ जनालाई आंशिक रोजगारी पनि दिईरहेकी गुरुङ्ग आफ्नो काम प्रति निकै सन्तुष्ट छिन्।

कूल ३५ लाखको लगानी मध्ये बैँकबाट लिएको २० लाख ऋण पनि तिरिसकेकी गुरुङ्गले प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाबाट ७० हजारको हेलनेट अनुदानमा पाएकी थिईन्। आफ्नै जग्गामा खेती गर्नु भन्दा अघि २५ रोपनी जग्गा भाडामा लिएर ३४ वटा टनेलमा प्राङ्गारिक खेती गरिरहेको, जसमा वार्षिक २७ लाखको कारोवार र ९ लाखको नाफा हुने गरेको उनी बताउँछिन्। हाल भने लगानीको स्थिति रहेको र प्रतिफल आइनसकेको अवस्था छ।

उनीले आधुनिक तथा प्राङ्गारिक खेती बारे पत्र-पत्रिका तथा अन्य माध्ययमबाट स्वअध्ययन गर्ने गरेको तथा आफ्नो फिल्डमा पनि परिक्षण गर्ने गरेको कुरा बताउँछिन् । एक जना कृषकले अर्को कृषकसँगको अनुभव साटासाटले धेरै ज्ञान हाँसिल हुने पनि उनको धारणा छ। उनी भन्छिन्, माटोको उर्वरा शक्ति राम्रो भए खेती पनि राम्रो हुन सक्छ र प्राङ्गारिक खेती गर्दा पर्यावरणलाई आधार बनाएर पशुपालनलाई पनि सँगसँगै लैजानु पर्छ।

उनले प्राङ्गारिक खेती गर्दा बजार मूल्यमा अन्य उपजहरुसँग प्रतिस्पर्धा गर्नुपर्ने समस्या भोग्नु परेको र प्राङ्गारिक प्रमाणिकरणको लागि सरकारी स्तरबाट नै कृषकहरुको हित हुने किसिमको दह्रिलो नीति नियम बनाईनुपर्ने तथा हचुवाको भरमा अनुदान वितरण गर्न नहुने कुरामा जोड दिईन्।


 

कृषि विभागमा प्रकाशित

प्रकाशित मिति: २०७७/११/०५