चितवमा यस वर्ष मह उत्पादनमा कमी आएको छ। गत वर्षको तुलनामा यस वर्ष १६ दशमलव ६६ प्रतिशतले मह उत्पादनमा कमी आएको हो।
मौरीपालन विकास केन्द्र भण्डाराका प्रमुख सुजन अंगाईका अनुसार यस वर्ष ४५० मेट्रिक टन मह उत्पादन भएको छ। गत वर्ष ५४० मेट्रिक टन मह उत्पादन भएको थियो।
जिल्लामा १७ हजार ५०० घार मेलीफेरा मौरी पालिँदै आइएको छ। यस वर्ष बेमौसमी वर्षाका कारण मह उत्पादनमा कमी आएको हो। उनले भन्नुभयो, “बेमौसमी वर्षाका कारण तोरी र चिउरीमा उत्पादन कमी भएको छ।”
तोरीमा एक पटकमा तीन चोटीसम्म मह काट्ने किसानले यस पटक बढीमा दई पटक मह काटेको उनले बताए। यस्तै चिउरीमा पाँच पटकसम्म मह काटिन्थ्यो भने यस पटक तीन पटक मात्र काटेका छन्। अहिले घारको सङ्ख्या बढे पनि उत्पादनमा कमी आएको उहाँले जानकारी दिए।
गत वर्षमा मौरीपालक किसानमध्ये ७० प्रतिशतले छ पटकसम्म मह काट्ने गरेको भए पनि बेमौसमी वर्षातका कारण अहिले ३० प्रतिशत किसानले मात्र छ पटक मह निकालेका छन्। जिल्लामा ४५० जना व्यावसायिक मौरीपालक किसान रहेका छन्।
जिल्लामा विशेष गरी चिउरी र तोरीको मह ८० प्रतिशत उत्पादन हुँदै आएको छ। बीस प्रतिशत मह रुदिलो, फापर, पड्के, लिचीलगायतबाट उत्पादन हुने गरेको अंगाईले बताए।







