यहाँको घोराही उपमहानगरपालिका–२ निमुरियाका मुना चौधरी स्थानीयस्तरमा सञ्चालनमा रहेको कृषि फार्ममा रोजगार पाउँदा खुसी हुनुहुन्छ। गाउँमै रोजगार पाएकैले अन्यत्र काम खोज्नु जान नपरेको उहाँ बताउनुहुन्छ। छोराछोरीको पढाईदेखि घर खर्च टार्न पनि सहज भएको उहाँको अनुभव छ।
कृषि फार्ममा काम पाएपछि पहिलेजस्तो खाली बस्नुपर्ने अवस्था नभएको उहाँले बताउनुभयोे। “पहिले हिउँदमा काम नहुँदा घरमै बस्नुपथ्र्यो, तर यहाँ कृषि फार्म खुलेपछि गाउँघरमै काम पाइनुका साथै आम्दानी पनि भइरहेको छ”, उहाँले भन्नुभयो। हाल मासिक १४–१५ हजार रुपैयाँ कमाउने गरेको उहाँको भनाइ छ।
उहाँजस्तै सोही स्थानका अर्का स्थानीय देवा चौधरी पनि गाउँघरमै रोजगारी प्राप्त गर्दा जीविका चलाउन सजिलो भएको बताउनुहुन्छ। “घरमा पाँच जनाको परिवार छ, श्रीमान् घर बनाउने काम गर्नुहुन्छ, मैले कृषि फार्ममा काम गर्दै आएको छु, आम्दानी पनि राम्रै भइरहेको छ। जसले गर्दा आफ्नो कमाइले घरखर्च चल्ने र श्रीमान्को कमाइ भने बचत गर्दै आएका छौँ”, उहाँले भन्नुभयो।
पछिल्लो समय गाउँघरमै रोजगारी प्राप्त भएपछि उहाँजस्तै धेरै कृषि क्षेत्रमा जोडिन थालेका छन्। घोराही उपमहानगरपालिका–२ निमुरियाका हरि जिसीले व्यावसायिक कृषि सञ्चालन गरी स्थानीयलाई रोजगारी दिलाइ रहनुभएको छ। उमेरले ३७ वर्ष पुग्नुभएका जिसीले सुवर्ण कृषि फार्ममार्फत कृषि व्यवसाय गर्दै आउनुभएको छ।
जग्गा भाडामा लिएर खेती गरी जिसी स्वरोजगार त बन्नुभएको छ नै अरु ४० जना स्थानीयलाई रोजगारीसमेत दिनुभएको छ। जिसीले सात वर्ष अघिदेखि सञ्चालन गर्दै आउनुभएको फार्ममा तरकारी लगाउने, गोडमेल गर्ने, टिप्नेलगायतका काम पाइने भएपछि स्थानीयलाई पहिलेजस्तो खाली बस्नुपर्ने अवस्था छैन। विद्यार्थीसमेत कलेज पढ्दै कमाउँदै गर्न पाएका छन्।
सात वर्षअघि सात कट्ठा जग्गाबाट सुरु गर्नुभएको जिसीको तरकारीखेती अहिले १४ बिघामा फैलिएको छ। आफ्नो एक बिघा र बाँकी जग्गा भाडामा लिएर उहाँले व्यावसायिक तरकारीखेती गर्दै आउनुभएको छ। वार्षिक दुई करोड रुपैयाँको कारोबार गर्ने जिसी कामदारको ज्यालामा मात्रै झन्डै एक करोड रुपैयाँ वार्षिक खर्च गर्नुहुन्छ।
जिसीले कृषि फार्ममार्फत सिजनअनुसार टमाटर, बोडी, काँक्रा, कोभीलगायतका तरकारी उत्पादन गर्नुहुन्छ। उत्पादन भएको तरकारी बिक्रीका लागि घोराही बजारमा पसल पनि सञ्चालन गर्नुभएको छ। सानैदेखि तरकारीखेतीप्रति भएको रुचिका कारण व्यावसायिक तरकारीखेतीमा लागेको भन्दै जिसीले भन्नुभयो, “तरकारीखेतीबाट आम्दानी राम्रै छ, उत्पादन भएको तरकारी बिक्रीका लागि बजारमा पसल पनि गरेको छु। जसले गर्दा पसल र फार्म दुवैतिर रोजगारी मिलेको छ।”
उहाँले आजभोलि काँक्रा फार्मबाटै १७ रुपैयाँ र टमाटर २८ रुपैयाँ प्रतिकिलोको दरले बिक्री गर्दै आउनुभएको छ। उहाँले उत्पादन गर्नुभएको तरकारी दाङ जिल्लासहित जिल्ला बाहिर बुटवल, कोहलपुर नेपालगन्ज, धनगढी, पोखरा, काठमाडौँसम्म बिक्रीका लागि लैजाने गरिएको छ।








