Nep
Eng
Nep
Eng

This post is also available in: English

उन्नत जातका धानखेतीतर्फ आकर्षण

कृषि ज्ञान केन्द्र म्याग्दीले स्थानीय जातको धानको बीउ संरक्षण र उत्पादनमा जोड दिए पनि कृषकले नै उन्नत जातको धान रोज्न थालेपछि स्थानीय धान संरक्षण अभियान सङ्कटमा परेको स्पष्ट गरेको छ।
तस्बिर: रासस

 


 

गुणस्तरभन्दा उत्पादनलाई प्राथमिकता दिँदै उन्नत जातको धानबालीतर्फ जिल्लाका किसान रमाइरहेका छन्। धानखेतीका लागि उर्वरभूमिका रुपमा परिचत ज्यामरुककोट, रत्नेचौर, पुलाचौर, बाबियाचौर, राखुलगायतका फाँटहरुमा रैथाने जातलाई विस्थापित गर्दै उन्नत जातका धान लगाउने चलन बढेको छ।

करिब दुई दशकअघिसम्म म्याग्दीका सबैजसो फाँट खेतहरूमा गौरिया, गुडुरा, जेठोबुढो, ताकमारे, जौधानलगायतका रैथाने जातिका धान लगाउने चलन थियो। तर, अहिले यहाँका फाँटमा स्थानीय जातको धान पाउन करिब मुस्किल हुने भएको छ। जिल्लास्थित कृषि प्राविधिकका अनुसार अहिले यहाँ स्थानीय जातका धान लगाउने चलन करिब हराइसकेको छ। रैथाने धानका विकल्पमा नयाँ–नयाँ उन्नत जातका धान लगाउने चलन बढ्दो छ। बेनी नगरपालिका–१ रत्नेचौरमा उत्पादन हुने औषधीय गुणसमेत भएको ‘जौधान’ लगाउन छोडेपछि यहाँस्थित लोकप्रिय एवं प्रसिद्ध ‘भुजा’ इतिहासमा सीमित बन्न पुगेको छ।  

कृषि ज्ञान केन्द्र म्याग्दीले स्थानीय जातको धानको बीउ संरक्षण र उत्पादनमा जोड दिए पनि कृषकले नै उन्नत जातको धान रोज्न थालेपछि स्थानीय धान संरक्षण अभियान सङ्कटमा परेको स्पष्ट गरेको छ। जिल्लाको मङ्गला गाउँपालिकाले रैथाने जातका धानको बीउ संरक्षणका लागि पहल गरिरहेको कृषि प्राविधिक प्रशान्त पौडेल बताउनुहुन्छ। रैथाने जातका धान बालीमा रोगसँग लड्ने क्षमता कम हुने भएकाले रोग प्रतिरोधी जातसँग ‘क्रसिङ’ गरेर परम्परागत जातहरू संरक्षण गर्ने अभियानमा पालिका जुटेको छ। लोपोन्मुख जातको संरक्षणका लागि बीउ सङ्कलन गरी खुमलटारस्थित ‘जिन’ बैङ्कमा राख्ने गरिएको प्राविधिक पौडेल बताउनुहुन्छ।

विज्ञापनहरू

वासनामय ‘गौरिया’ धान अहिले बगरफाँटका खेतमा पाइनै छाडेको स्थानीय पदमपाणि शर्मा बताउनुहुन्छ। उहाँका अनुसार पहिलापहिला बगरफाँटमा झुल्ने गौरिया र गुडुरा धान खेत वरपरसमेत हरहर बास्ना आउने गरेकामा अहिले रासायनिक मल प्रयोग गरेकै कारण होला, भान्छामा पनि बास्ना आउन छाडेको छ। “उत्पादन त कम हुने नै भयो, पहिलोको तुलनामा स्वाद पनि हराएको छ,” उहाँले भन्नुभयो। समुद्री सतहबाट करिब ३०० मिटरदेखि एक हजार २०० मिटरको उचाइमा फल्ने यी धान यहाँका प्राचीन रैथाने जात हुन्। पछिल्ला वर्षमा गौरिया, गुडुरा, आँगा, जौ, भट्टे, मार्सी, ठिमुहा, जेठोबुढो, पोखरेली, ताकमारे बर्मेली, एक्लेजस्ता धान विस्थापित नै भइसकेको कृषकहरू बताउँछन्।

कृषि ज्ञान केन्द्र म्याग्दीका अनुसार जिल्लामा तीन हजार ८९० हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको छ। गौरीया, गुडुरा जेठो बूढो, जर्नेली, पहेँले, मार्सी, ताकमारे, भट्टे, छमरुङजस्ता रैथाने जातका धान लगाउने चलन कम हुँदै गएको र  माछापुच्छे«, अन्नपूर्ण–३, खुमल–४, खुमल–१०, लुम्ले–२ लगायतका उन्नत जातका धानखेतीतर्फ कृषक आकर्षित हुने गरेको देखिन्छ।

लेख सेयर गर्नुहोस्

विज्ञापनहरू
विज्ञापनहरू
तस्बिर: रासस