अल्लोको कपडाबाट आकर्षक सामग्री

तालिमले महिलालाई उद्यम विकास, अल्लो सङ्कलन, प्रशोधन र उत्पादनको सीप प्रदान गरेको छ। यसै तालिमपछि उहाँहरूले कपडाबाट पोशाक, झोला, पर्स, रुमाललगायत सामग्री उत्पादन गर्न थालेका छन्।
तस्बिर: RSS

ग्रामीण क्षेत्रमा पाइने कच्चा पदार्थको उपयोग गरेर ताप्लेजुङका महिला उद्यमी बन्दै गएका छन्। स्थानीय सरकार र विभिन्न संस्थाको सहयोगमा उहाँहरूले आफ्नो क्षमता विकास गर्दै उद्यमी बन्न थालेका हुन्। 

फुङ्लिङ नगरपालिका–१० कि दीपा लिम्बू विगत एक वर्षदेखि अल्लो प्रशोधन कार्यमा संलग्न हुँदै आएकी छिन्। बिहान–बेलुका घरायसी काम सकेर दिउँसो उहाँ अल्लोबाट विभिन्न सामग्री उत्पादन गर्न व्यस्त रहनुहुन्छ। त्यही गाउँका ६५ वर्षीया गङ्गामाया लिम्बू पनि अहिले अल्लोको कपडाबाट सामग्री उत्पादन गरेर आत्मनिर्भर बन्नुभएको छ। उहाँसँगै  रूपमती लिम्बू पनि तालिम लिएर अल्लो कपडा उत्पादनमा सक्रिय हुुनुहुन्छ।

फुरुम्बो गाउँका १६ महिलाले सामूहिक रूपमा अल्लोको सामग्री उत्पादन गर्दै आएका छन्। हिमाली संरक्षण मञ्च, रेड पाण्डा नेटवर्क, घरेलु तथा साना उद्योग र फुङ्लिङ नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा उहाँहरूले उद्यमशीलताको यात्रा सुरु गरेका हुन्। गत वर्षदेखि सुरु भएको अभियानले उहाँहरूको जीवनमा ठूलो परिवर्तन ल्याएको छ। तालिमले महिलालाई उद्यम विकास, अल्लो सङ्कलन, प्रशोधन र उत्पादनको सीप प्रदान गरेको छ। यसै तालिमपछि उहाँहरूले कपडाबाट पोशाक, झोला, पर्स, रुमाललगायत सामग्री उत्पादन गर्न थालेका छन्।

घरेलु तथा साना उद्योग महासङ्घका महिला उपाध्यक्ष विष्णु श्रेष्ठका अनुसार विद्यालयबाट पनि अल्लो सामग्रीको माग आएको छ।

“महिलाहरूले उत्पादन गरेका सामानको गुणस्तर राम्रो भएकाले बजार विस्तार हुँदैछ”, श्रेष्ठले भन्नुभयो। हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईका अनुसार यो अभियानमा रेड पाण्डा नेटवर्क र हिमाली संरक्षण मञ्चले रु २४ लाख लगानी गरेका छन्। फुङ्लिङ नगरपालिकाले रु दुई लाख, वडा कार्यालयले रु एक लाख ५० हजार र घरेलु तथा साना उद्योग कार्यालयले रु दुई लाख सहयोग गरेका छन्।

तस्बिर: आशा लिम्बु, अल्लो रिफाइनिङ र बुनाई तालिमको सहजकर्ता | Red Panda Network

तालिम र सामूहिक उत्पादनका क्रममा महिलाले ‘फुरुम्बु अल्लो कपडा उद्योग’ दर्ता गरेका छन्। सामूहिक उद्यमका रूपमा सुरु गरिएको यस उद्योगले उत्पादन गरेको सामग्री बजारसम्म पुर्याउन स्थानीय सरकार र हिमाली संरक्षण मञ्चले सहजीकरण गरिरहेको छ। फुङ्लिङ नगरपालिका–१० का वडाध्यक्ष सन्तोष लिम्बूका अनुसार नगरपालिकाले महिलाका उत्पादन विद्यालयमा आपूर्ति गर्ने योजना बनाएको छ। लिम्बूले भन्नुभयो, “स्थानीय उत्पादनलाई प्रवर्धन गर्नु मात्र होइन, यसले जिल्लाको पहिचानलाई समेत उजागर गर्छ।”

घरेलु तथा साना उद्योग महासङ्घका उपाध्यक्ष श्रेष्ठका अनुसार महिलाले घरको चुलोचौकोमा सिमित नरही स्थानीय स्रोत र साधनको सदुपयोग गरेर राम्रो आम्दानी गर्न सक्छन्। 

श्रेष्ठले भन्नुभयो, “स्थानीय सरकारले उत्पादन प्रवर्धन गर्नसक्यो भने महिलालाई अझ प्रोत्साहन हुनेछ”, स्थानीयस्तरमै कच्चा पदार्थको प्रशोधन र उत्पादनले महिलालाई आत्मनिर्भर बनाएको छ। यसले ग्रामीण महिलाको जीवनस्तर उकास्नुका साथै समाजमा उहाँहरूको स्थानसमेत बलियो बनाएको छ।

फुरुम्बोका महिलाले सामूहिक प्रयासबाट स्थानीयस्तरमा स्वरोजगारको बलियो उदाहरण प्रस्तुत गरेका छन्। गाउँकै कच्चा पदार्थबाट उत्पादन गरिएका सामग्रीले बजार पाउँदै गर्दा उहाँहरूमा आत्मविश्वास बढेको फुरुम्बो अल्लो प्रशोधन तथा कपडा उद्योगका अध्यक्ष चन्द्रकुमारी लिम्बूले बताउनुभयो।

तस्बिर: अल्लो सुके पछि | Red Panda Network

 

अहिलेको उत्पादनलाई व्यावसायिक रूपमा विस्तार गर्ने योजनाअन्तर्गत उत्पादित सामग्रीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा निर्यात गर्ने योजना बनाइएको छ। उहाँले भन्नुभयो, “सहज पहुँच र सहजीकरण पाउने हो भने हाम्रो उत्पादनले ठूलो बजार पाउन सक्छ।”  

महिलाको सामूहिक प्रयासले ग्रामीण क्षेत्रमा स्वरोजगार सिर्जनाका नयाँ सम्भावना उजागर गरेको छ। यसले महिला सशक्तीकरण र स्थानीय विकासमा महत्वपूर्ण योगदान पुर्याएको छ।

 


 

यो समाचार राष्ट्रिय समाचार समिति (रासस) बाट पुन:प्रकाशन गरिएको हो।