Nep
Eng
Nep
Eng

This post is also available in: English

नेपालले ताजा तरकारी कतार निर्यात गर्दै

यो निर्यातले स्थानीय किसानहरूलाई थप तरकारी खेतीमा संलग्न हुन प्रेरित गर्ने अपेक्षा गरिएको छ।

देशको कृषि क्षेत्रका लागि महत्त्वपूर्ण प्रगतिको रुपमा नेपालले गत हप्तादेखि कतारमा तरकारी निर्यात सुरु गरेको छ ।

प्रारम्भिक खेपमा दक्षिणकाली नगरपालिकाका २० जना किसानहरूले खेती गरेका १,५०० किलोग्राम तरकारीहरू — रातो डल्ले खुर्सानी (अकबरे), टाटे सिमी र करेला — समावेश थिए । तीस दिने निरन्तर निर्यात अन्तर्गत आगामी एक महिनामा करिब ३० टन ताजा तरकारी कतार निर्यात गरिने योजना छ ।

दक्षिणकालीका नगर प्रमुख मोहन बस्नेतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा आयोजित समारोहका दौरान उक्त तरकारी खेपलाई कतारका नेपालस्थित राजदूत मिशाल मोहम्मद अल-अन्सारीलाई हस्तान्तरण गरेका थिए ।

विज्ञापनहरू

ताजापन र गुणस्तरलाई कायम राख्नुपर्ने महत्त्वलाई जोड दिंदै दक्षिणकालीमा उब्जाइएका स्थानीय उत्पादनहरू कतारी बजारमा राम्रोसँग स्वीकार गरिने सम्भावना रहेको कतारी राजदूतले बताएका छन् ।

कृषि प्रवर्द्धन कार्यक्रम अन्तर्गत चीन ग्रामीण विकास फाउन्डेसन (सीएफआरडी) को सहयोगमा तरकारीहरू खेती गरिएको थियो । सीएफआरडीले यस क्षेत्रमा किसानहरूलाई आवश्यक तालिम र कृषि उपकरणहरू पनि प्रदान गरेको छ । सीएफआरडी अनुसार यो उपलब्धिले कृषि अभ्यासहरूलाई प्रवर्द्धन गर्ने, किसानहरूलाई विश्व बजारसँग जोड्ने र स्थानीय जीविकोपार्जनमा सुधार ल्याउनेछ ।

नेपाल आयातमा धेरै निर्भर रहेको बेला यो कदम चालिएको छ । गत आर्थिक वर्ष २०८०/२०८१ मा मात्रै ताजा र चिसो तरकारीमा १२ अर्ब ६९ करोड रुपैयाँभन्दा बढी खर्च भएको थियो । 

यी आयातित वस्तुहरूमा ताजा वा चिसो तरकारीहरू जस्तै आलु, गोलभेंडा, प्याज, लसुन, फूलगोभी र ब्रोकोली, सेतो र रातो बन्दाकोबी, फर्सी, स्क्वाश र लौका, लेट्युस, गाजर, सलगम, केराउ, सिमी र अन्य दलहन तरकारीहरू समावेश थिए ।

 

लेख सेयर गर्नुहोस्

विज्ञापनहरू
विज्ञापनहरू