कोपेन्द्र सिंहको टमाटर खेती

“विदेशमा दुःख बाहेक केहि हुँदैन । अबको पालो भनेको सरकारले केही गरेन भन्ने होइन, सरकारलाई केही गरेर देखाउने बेला हो ।”
Photo by Loren King on Unsplash

(यो कथा नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत कृषि विभागको वेबसाइटमा वि.सं. २०७७ फाल्गुन ७ गते प्रकाशित भएको हो ।)


 

कटहरी-४, नयाँ बजार, मोरङका युवा कृषक कोपेन्द्र सिंह भन्छन्,“मातृभूमिको माटोसँग एकदम लगाव छ र गर्न सके आम्दानीको भण्डार हो नेपाली माटो ।” आफ्नो ४ वर्षे विदेश बसाईको नमिठो अनुभव सुनाउँदै हाल आफ्नै देशमा गरेको प्रगतिबाट आफै सन्तोषका गाथा गाउँछन् उनी । 

देशमा भएको द्वन्द र घरको आर्थिक स्थिति कमजोर भएको कारण बाध्यतावश उनी वि.सं. २०६३ सालमा मलेसिया पुगेका थिए । ४० देखि ४५ डिग्रीको तापक्रममा नाला सोहर्दाको अनुभव र फर्केर नेपाल आउन मन हुँदा-हुँदै पनि ऋणका कारण छिट्टै फर्केर आउन सकेका थिएनन् । 

पछि वर्षहरु बित्दै जाँदा, उनमा नेपालमा गएर तरकारी खेती नै गर्ने संकल्प जागेर आयो र सोहि अनुरुप नेपाल आएर तालिम लिएर तरकारी खेती शुरु गरे । सो क्रममा उनी त्रिशक्ति कृषक समूहमा आबद्द भए र नेपाल सरकारबाट पनि धेरै सहयोगहरु पाए ।

विभिन्न तरकारीहरु जस्तै काक्रा, बैंगन, करेला, भिंडी खेती गरिरहेका सिंह भन्छन्, “सबैभन्दा राम्रो नाफा हुने खेती भनेको टमाटर खेती नै हो । एउटा बोटबाट १५ देखि ३५ के.जी. सम्म टमाटर फल्ने गरेको छ ।”  

हाल उनले नियमित ५ जनालाई रोजगारी दिइरहेका छन् । उनलाई बजारीकरणको लागि कुनै समस्या छैन । ठेकेदारहरु आफ्नै बारीमा तरकारी लिन आउने गरेको र बिहान ५ बजे तरकारीको गाडी लोड गरिसक्नु पर्ने उनको दैनिकी छ । उनले फलाएको तरकारी विराटनगर, धरान, दमक, नारायगण, पोखरा तथा काठमाडौं सम्म जाने गरेको छ । 

भावी सोचको कुरा गर्दा उनलाई १ विघा बराबरको टनेलमा व्यावसायिक तरकारी खेती गर्ने मन छ र सरकारी स्तरबाट राम्रो सहयोग हुने भएमा आफ्नो सोचलाई कार्यान्वयन पनि गर्ने योजना बनाएका छन् । साथै तरकारी खेतीलाई दोब्बर बनाउने र बीउविजन सम्बन्धि कामलाई विस्तार गर्दै लैजाने उनको भावी योजना छ ।

समस्याहरुमा कामदारको ठूलो अभाव रहेको र यसै कारण बढी झारनाषक विषादी प्रयोग गर्नु परेको पनि  बताउँछन् । त्यस्तै कृषि बीमा गर्नको लागि पनि समस्या रहेको कुरा उनी बताउँछन् ।

खेतमा काम गर्दा मनमा निकै आनन्द आउने गरेको उनको अनुभव छ । 

वि.सं. २०७२ सालमा जिल्लास्तरिय राष्ट्रपति पुरस्कारबाट सम्मानित तथा वि.सं. २०७३ सालमा पाएको प्रदेशस्तरिय पुरस्कारहरुले उनमा अझ राम्रो काम गर्ने उर्जा पैदा गरेको छ । उनी जोड दिएर भन्छन्, “विदेश त जानै हुँदैन । विदेशमा दुःख बाहेक केहि हुँदैन । अबको पालो भनेको सरकारले केही गरेन भन्ने होइन, सरकारलाई केही गरेर देखाउने बेला हो ।”