Nep
Eng
Nep
Eng

बाँकेमा श्यामसुन्दर च्याउ उद्योग

"कृषकहरुलाई सहुलियत ब्याज दरको ऋण प्रवाह हुन सकेमा व्यवसायलाई थप आधुनिकीकरण गरि धेरै रोजगारी सिर्जना र आयस्तर वृद्धि गर्न सकिन्छ"

यो कथा कृषि विभागको वेबसाइटमा ७ फाल्गुन २०७७ मा प्रकाशित भएको हो।


 

लगनले बाँके सीतापुर-३, के गाउँका ४० बर्षिया लालबहादुर सुनार हाल करोडपति बन्दैछन् । व्यवसायिक च्याउ खेती फस्टाएपछि उनी पश्चिमकै ठूला च्याउ उत्पादक बनेका हुन् । वैदेशिक रोजगारीमा कुवेत वेल्डिङको काम गर्ने भनेर गएका लालबहादुरले ग्रिनहाउस बनाउने काम गर्नुपर्यो । तलब पनि भनिए भन्दा कम थियो । मुस्किलले १३ हजार मासिक हुन्थ्यो । दुई बर्ष निकै दुःखले बिताए । भाषा नबुझेर त्यस्तै हैरानी भयो, केही सहज हुँदै थियो, एक दिन उनी झण्डै ठूलो दुर्घटनामा परे । त्यसपछि उनलाई विदेशी भूमि बस्नै मन लागेन र नेपाल नै फर्कने निर्णय गरे ।

सुरुमा उनले ठेलामा फलफुल बेच्न थाले । पछि स्थानीय चेत बहादुर खड्कासंग मिलेर च्याउ खेती गरे । पहिले च्याउ लगाउने अस्थायी टहरा थिए, अहिले पक्की संरचना बनाएका छन् । अहिले उनी एक्लैले नेपाल सरकार, कृषि विकास मन्त्रालय, कृषि विभाग अन्तर्गत एशियाली विकास बैंकको सहयोगमा संचालित साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजनाको आंशिक सहयोगमा पूर्वाधार विकास गरी सदाबहार च्याउ उत्पादन उप आयोजना अन्तर्गत झण्डै ६३ लाखको आधुनिक च्याउ फर्म बनाएका छन्, श्यामसुन्दर च्याउ उद्योग।

विज्ञापनहरू

उनको फार्ममा एकै पटक ८ हजार ५ सय १२ पोकामा च्याउ फल्दा दैनिक ६ क्विन्टलभन्दा धेरै उत्पादन हुने उल्लेख गर्दै लालबहादुरले भने दैनिक एक लाखको च्याउ बेचिन्छ । त्यो हिसाबले वार्षिक थोरैमा पनि एक करोड कमाउने लक्ष्य छ । उत्पादित च्याउलाई बजारको समस्या छैन । च्याउको खुद्रा बजार मूल्य प्रतिकेजी २ सय रुपैया छ । थोकमा १ सय ६० रुपैयामा विक्रि हुन्छ । बेमौसमको च्याउ प्रति केजी ३ सय रुपैयासम्ममा किनबेच हुन्छ । लालबहादुरको फर्मको च्याउ नेपालगन्ज र कोहलपुरका तरकारी मण्डी, ठूला होटल र घरघरमा पुग्ने गरेको छ । आउदो बर्षका लागि अहिल्यै नेपालगन्ज उद्योग वाणिज्य संघ र ठूला होटलहरुसंग सम्झौता भईसकेको उनले बताँए । च्याउ उत्पादन बृद्धि संगै प्याकिङ गरी निर्यात गर्ने उनको योजना छ । बैंकको ऋण प्रवाह प्रक्रिया झन्झटिलो भएको हुदाँ व्यवसायिक खेती गर्ने कृषकहरुलाई सहुलियत ब्याज दरको ऋण प्रवाह हुन सकेमा व्यवासायलाई थप आधुनिकिकरण गरी  धेरै रोजगारी  सृजना गरी आम्दानी बृद्धि गर्न सकिने कुरा उनी बताउँछन्।

च्याउको बिउ राख्ने बेला उनी सधै चटारोमा हुन्छन् । दैनिक १५-१६ कामदार लगाउँछन् । अरु बेला ५ कामदार नियमित छन् । हिउंदका लागि कन्ये र गोब्रे च्याउ लगाउछन् भने बर्षे मौसममा मिल्की च्याउ लगाउँछन् । लालबहादुरको यो फर्म बॉके र बर्दिया मात्र हैन, सम्भवतः पश्चिमकै सबैभन्दा ठूलो च्याउ उद्योग हो । च्याउमा हासिल गरेको सफलता पछि उनले कृषक समूहहरुलाई च्याउ खेती तालिम पनि दिन थालेका छन् । ‘हर चिज पैसा हैन रै’छ’ अनेक हण्डर तथा ठक्करले खारिएका उनले भने,–‘विदेशमा मरीमरी आठ घण्टा काम गर्छौ । घरपरिवार सम्झेर ओभरटाईम गर्छौ । घरमा दुई घण्टा पनि राम्ररी काम गरिन्न, त्यसरी कहॉ हुन्छ ? आफ्नै देशमा त्यत्ति गरे त पैसा यही फल्छ नि ।’


 

कृषि विभागमा प्रकाशित

प्रकाशित मिति: २०७७/११/०७

लेख सेयर गर्नुहोस्

विज्ञापनहरू
विज्ञापनहरू