Nep
Eng
Nep
Eng

This post is also available in: English

नेपालको छुर्पीको निर्यातमा उल्लेखनीय वृद्धि

"नेपालको बढ्दो छुर्पी निर्यातको एक झलक"
Photo by Dibyak Kapali for Jaankaari

हिमालयन च्युइङगम भनेर पनि चिनिने विश्वको सबैभन्दा कडा चीज — छुर्पीको निर्यात पछिल्लो ६ आर्थिक वर्षमा निकै बढेको छ।

आर्थिक वर्ष २०७८/७९ मा नेपालले २ अर्ब ९१ करोड रुपैयाँको छुर्पी निर्यात गरेको थियो भने गत आर्थिक वर्षमा ३ अर्ब ४० करोड बराबरको निर्यात भएको थियो, जसमध्ये अमेरिकी बजारमा मात्रै २ अर्ब ४४ करोड रुपैयाँ (७१.८ प्रतिशत) बराबरको निर्यात भएको हो।

अमेरिका बाहेक अन्य मुख्य निर्यात बजारहरुमध्ये क्यानडा, जापान, बेलायत, हङकङ, सिंगापुर, कोरिया, ब्राजिल, ताइवान, फ्रान्स, स्लोभाकिया, ब्राजिल, फिनल्याण्ड, बेलारुस, थाइल्याण्ड र फिलिपिन्स पर्छन्।

२०७४/७५ मा निर्यात मूल्य ८५ करोड रहेको थियो जुन पाँच आर्थिक वर्षमा ३११% ले बढेर ३ अर्ब ४० करोड पुगेको हो ।

नेपालको पहाडी क्षेत्रमा याक, चौरी, गाई र भैँसीको दूधबाट छुर्पी उत्पादन गरिन्छ र इलाम छुर्पी प्रशोधनको केन्द्रका रूपमा स्थापित भएर आएको छ।

कडा र नरम दुवै प्रकारका छुर्पी लोकप्रिय छन्। नरम किसिमको छुर्पी गाईको दुधबाट बनाइन्छ भने कडा प्रकारको बनाउनका लागि सामान्यतया चौँरीको दुध प्रयोग गरिन्छ। याकको छालामा राम्ररी भण्डारण गरिएको हो भने कडा छुर्पी २० वर्ष वा सोभन्दा बढी समयसम्म नबिग्रने हुन्छ।

नेपालको कडा छुर्पी कुकुरले चपाउनका लागि विदेशमा लोकप्रिय छ। हालका वर्षहरूमा विश्वभरिका उपभोक्ताहरूले आफूले चाहेको आकारमा छुर्पीको माग गर्ने भएकाले यसको मूल्य र बजार बढेको छ।

कुकुर र बिरालोको लागि उत्पादन गरिएको छुर्पिमा मानिसहरूले खानेको तुलनामा कम फ्याट हुन्छ।

दुई दाजुभाइ, सुमन र सुजन श्रेष्ठले सन् २००७ मा अमेरिकामा हिमालयन डग च्यु सुरु गर्दा छुर्पीको अन्तर्राष्ट्रिय निर्यात सम्भाव्यता खुलेको थियो। उनीहरुले “४ वर्ष लगाएर परम्परागत रेसिपीलाई आवश्यक परिवर्तन गरेर ल्याक्टोज र बोसोको मात्रा हटाए, र यसैगरी कुकुरहरूको लागि स्वस्थ, स्वादिलो र टिकाउ चब सिर्जना गरियो।”

यद्यपि, यस उद्योगमा पनि भण्डारण र यातायात सुविधाहरूको अभाव, नस्ल सुधार र पशु स्वास्थ्यमा प्रतिबन्ध र उत्पादन प्रक्रियाको बारेमा प्राविधिक विशेषज्ञताको कमी जस्ता चुनौतीहरू छन्।

उत्पादन केन्द्रहरूमा एफएमडी मुक्त क्षेत्रहरूको स्थापना, किसान र व्यवसाय मालिकहरूलाई सरकारी अनुदानको मार्फत आर्थिक सहायता, छुर्पीको गुणस्तर सुधार र ई-कमर्स व्यापार सबैले समग्र रूपमा अन्तर्राष्ट्रिय बजारमा छुर्पिको बिक्री बढाउने सम्भावना राख्दछन्।

लेख सेयर गर्नुहोस्

Photo by Dibyak Kapali for Jaankaari