चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित गर्न अनुदान कार्यक्रम सञ्चालन गरेको छ। वडा नं ४ का किसानलाई भैँसीपालन प्रवर्द्धन कार्यक्रमअन्तर्गत अनुदानमा दुहुना भैँसी हस्तान्तरण गरिएको गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले जानकारी दिनुभयो।
बागमती प्रदेश र इच्छाकामना गाउँपालिकाको सशर्त अनुदानमा सञ्चालित कार्यक्रमअन्तर्गत निर्माण भएका गोठ तथा खरिद गरिएका दुहुना भैँसीको अनुगमन समेत गरिएको छ। गाउँपालिकाका अनुसार भैँसी प्रवर्द्धन कार्यक्रमअन्तर्गत अनुदानका लागि गोठ निर्माणका लागि २० जना र दुहुना भैँसी खरिदका लागि गर्ने ३५ जना किसानले निवेदन दिएका थिए। जसमध्ये हालसम्म २० जना किसानले दुहुना भैँसी खरिद गरिसकेका छन्। ती भैँसी गोठमै पुगी अनुमगन गर्नुका साथै भैँसी हस्तान्तरण गरिएको गाउँपालिकाले जनाएको छ।
अध्यक्ष गुरुङका अनुसार ५० प्रतिशत अनुदानअन्तर्गत प्रतिकिसान अधिकतम रु ७५ हजारसम्म उपलब्ध गराइएको छ। गाउँपालिकाले भैँसी प्रवर्द्धनका लागि रु ४५ लाख विनियोजन गरेको छ।
उहाँले व्यावसायिक पशुपालनमार्फत किसानको आयआर्जन वृद्धि गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो। उहाँले वडा नं ५ मा चालु अर्थिक वर्षमा व्यावसायिक गाईपालनका लागि किसानलाई अनुदान कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो।
यसैगरी, वडा नं ६ मा बाख्रापालनका लागि व्यवस्थित खोर निर्माणका लागि अनुदान गरिएको छ। सबै वडामा किसानको मागअनुसार कृषिमा विभिन्न पकेट क्षेत्र घोषणा गरी अनुदानका कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो। वडा नं ३ मा सुन्तला प्रवर्द्धन र वडा नं १ र २ मा तरकारी प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिएको गुरुङको भनाइ छ।
बाख्रा र भैँसीपालन गर्दै आउनुभएका कुरिनटारकी सावित्री त्रिपाठीले गाउँपालिकाले अनुदान प्रदान गरेसँगै किसानलाई सहज भएको बताउनुभयो। उहाँल आफूले दैनिक आठ÷नौ माना दूध बेचेर आम्दानी गर्दै आइरहेको बताउनुभयो।




