तुलसीपुर उपमहानगरपालिका–१२ कचेलीकी पुतली चौधरीको कुनै बेला घरायसी काममै दिन बित्थ्यो। तर, हिजोआज गलैँचा बुन्न व्यस्त हुनुहुन्छ। उहाँ गलैँचा बुनेर घरखर्च चलाउने योजनामा हुनुहुन्छ।
“पहिले भाँडा माझ्ने, वस्तुभाउलाई घाँस दिनेमात्रै काम हुन्थ्यो, तर अहिले गलैँचा बुन्न थालेकी छु, अब घरखर्च चलाउन सजिलो हुनेछ”, चौधरीले भन्नुभयो।
त्यसैगरी, सोही ठाउँकी मनकला बुढामगर पनि गलैँचा बुन्नका लागि तान मिलाउँदै हुनुहुन्थ्यो। विगतमा गलैँचा हातले बुन्छन् भन्नेसमेत थाहा थिएन। तर, अहिले आफैँले हातले गलैँचा बुन्न थाल्नुभएको छ।
“पहिला हातले गलैँचा बुन्छन् भन्ने पनि थाहा थिएन”, बुढामगरले भन्नुभयो, “तर अहिले आफैँले बुन्न थालेका छौँ।” उहाँको पनि छोराछोरीलाई विद्यालय पठाउने र त्यसपछि त्यत्तिकै घरमै टिकटक चलाएर बस्नुपर्ने अवस्था थियो। अहिले गलैँचा बुन्न व्यस्त हुन थाल्नुभएको छ।
घरेलु तथा साना उद्योग कार्यालय दाङले ६५ दिने तालिम प्रदान गरेपछि उहाँहरू अहिले यसरी गलैँचा बुन्न व्यस्त हुनुभएको हो। महिलाहरूलाई आम्दानीमा जोड्नका लागि यसरी तालिम प्रदान गरेपछि उनीहरू यसरी आफैँ गलैँचा बुन्न थालेका हुन्। आफूहरूले बुनेका गलैँचाको बजारीकरण कसरी गर्ने भन्ने चिन्ता पनि छैन।
“गलैँचा बुनेपछि सबै काठमाडौँका उद्योगमा लगेर बिक्री गरिदिनुहुन्छ रे”, सोही ठाउँकी दीपा बाँठामगरले भन्नुभयो, “त्यसैले पनि हामीलाई गलैँचा बुन्न हौसला मिलेको छ।”
सोही ठाउँका २० जनालाई गलैँचा बुन्ने तालिम प्रदान गरिएको थियो। उनीहरू सबैलाई गलैँचा बुन्नका लागि मेसिन प्रदान गरेपछि अहिले आफैँले यसरी गलैँचा बुन्न थालेका घरेलु तथा साना उद्योग कार्यालय दाङका प्रमुख सुदर्शन शर्माले बताउनुभयो।
“हामीले तालिम प्रदान गरेर मेसिन पनि उपलब्ध गराएका छौँ, उहाँहरूले उत्पादन गरेका गलैँचा बेच्न व्यवस्था मिलाएका छौँ”, उहाँले भन्नुभयो, “यसले उहाँहरूको आम्दानीको स्रोत बढ्ने अपेक्षा गरेका छौँ।” काठमाडौँबाट मनोजकुमार श्रेष्ठ र सरस्वती तामाङले तालिम प्रदान गर्नुभएको हो।







