तनहुँको बन्दीपुर गाउँपालिका र व्यास नगरपालिकाका विभिन्न होमस्टे (घरबास)हरूलाई एउटै सर्किट (क्षेत्र)मा आबद्ध गर्दै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘सामुदायिक होमस्टे सर्किट तथा पर्यटन प्रवर्द्धन कार्यक्रम’ सुरु भएको छ। ग्रामीण पर्यटनलाई व्यवस्थित, दिगो र आयमुखी बनाउने लक्ष्यसहित होमस्टे सर्किटको अवधारणसँगै पर्यटन प्रवर्द्धन कार्यक्रम सुरु गरिएको हो।
कार्यक्रमअन्तर्गत बन्दीपुर-२ को मोहोरिया र रामकोट, व्यास-१४ कुलुङ, केशवटार, रुम्सी, बन्दीपुर-६ धरमपानी, व्यास-१२ कमलाबारी, बन्दीपुर-५ कोरिखा तथा बन्दीपुर सामुदायिक होमस्टेमा अध्ययन अवलोकन गर्ने कार्यक्रम रहेको बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिनुभयो। उहाँका अनुसार आज पहिलो दिन मोहोरिया, रामकोट, कुलुङ, केशवटार र रुम्सीमा अवलोकन सम्पन्न गरिएको छ।
आइतबार धरमपानी होमस्टे, ऐतिहासिक हुस्लाङकोट गढी, कमलाबारी, कोरिखा र बन्दीपुर सामुदायिक होमस्टेमा अध्ययन अवलोकन गर्ने कार्यक्रम रहेको अध्यक्ष थापाले बताउनुभयो। उहाँका अनुसार बन्दीपुर-केशवटार होमस्टे सर्किटमार्फत छुट्टाछुट्टै रहेका होमस्टेलाई एकीकृत गर्दै समग्र पर्यटन प्रवर्द्धन गर्ने योजना अघि बढाइएको हो।
“यो सर्किटले पर्यटकलाई एउटै यात्रामा विविध गाउँ, संस्कृति र जीवनशैली अनुभव गर्ने अवसर दिने विश्वास छ”, अध्यक्ष थापाले भन्नुभयो। करिब ७५ किलोमिटर चक्रीय दूरीमा फैलिएको उक्त सर्किटले १४ होमस्टेसहित २० भन्दा बढी गाउँलाई समेट्नेछ। सर्किटभित्र गुरुङ, मगर, नेवार, क्षेत्री, ब्राह्मण तथा दलित समुदायबाट सञ्चालित होमस्टेमा स्थानीय खाना, वेशभूषा, संस्कार–संस्कृति र परम्परागत जीवनशैली नजिकबाट अनुभूति गर्न सकिनेछ।
कार्यक्रममार्फत होमस्टे सञ्चालकलाई आफ्ना सेवासुविधा गुणस्तर सुधार, सरसफाइ, आतिथ्य सत्कार, स्थानीय उत्पादनको प्रवर्द्धन, कलासंस्कृतिको संरक्षण र प्रवर्द्धन, डिजिटल प्रचारप्रसारलगायत विषयसम्बन्धी अभिमुखीकरण दिइने जनाइएको छ। साथै, सर्किटभित्र पर्ने ऐतिहासिक, धार्मिक तथा प्राकृतिक सम्पदाहरूको पहिचान र संरक्षणमा पनि जोड दिइनेछ।
यस सर्किटले आन्तरिक तथा बाह्य पर्यटकको बसाइँ अवधि लम्ब्याउने, स्थानीय उत्पादनको खपत बढाउने र युवालाई स्वरोजगारतर्फ आकर्षित गर्ने अपेक्षा गरिएको छ। ग्रामीण क्षेत्रमा रोजगारी सिर्जना गर्दै बसाइँसराइ न्यूनीकरणमा समेत यसले योगदान पुर्याउने विश्वास लिइएको अध्यक्ष थापाले बताउनुभयो।
मुलुकको पहिलो व्यवस्थित होमस्टे सर्किटका रूपमा विकास गर्ने लक्ष्यसहित अघि बढाइएको यस योजनाको प्रारम्भिक छलफल भइसकेको छ। उक्त छलफलमा पहिलो चरण दुवै पालिकाका जनप्रतिनिधि, पर्यटन तथा संस्कृतिविद्, पर्यटन व्यवसायी र प्राविधिक टोलीले सर्किटभित्रका सबै होमस्टे गाउँहरूको स्थलगत अध्ययन र अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको थियो।
पर्यटनविज्ञ हरिसिंह गुरुङका अनुसार बन्दीपुरले अघि सारेको यो अवधारणा सफल भएमा मुलुकको नमूना ग्रामीण पर्यटन गन्तव्यका रूपमा स्थापित हुन सक्नेछ। “यो केवल पर्यटन होइन, समुदायको समग्र रूपान्तरणसँग जोडिएको अभियान हो। यसले स्थानीयको आर्थिकस्तरमा सुधार ल्याउनाका साथै रोजगारीका अवसरहरू सिर्जना गर्नेछ”, उहाँले भन्नुभयो।









