Nep
Eng
Nep
Eng

This post is also available in: English

व्यावसायिक गाईपालनबाट आयआर्जन गर्दै वडाध्यक्ष तामाङ

गाईपालनबाट प्राप्त आम्दानीले परिवारको खर्च धान्न सहयोग पुग्नुका साथै थप लगानीका लागि प्रेरणा मिलेको पौवादुङमा गाउँपालिका–१ श्यामशिलाका वडाध्यक्ष राजेन्द्र तामाङले बताउनुभयो।
तस्बिर: रासस

 


 

यहाँको पौवादुङमा गाउँपालिका–१ श्यामशिलाका वडाध्यक्ष राजेन्द्र तामाङ जनताको सेवासँगै व्यावसायिक गाईपालनमा व्यस्त हुनुहुन्छ। उहाँ जनप्रतिनिधिको जिम्मेवारीका साथसाथमा उत्पादनमूलक क्षेत्रमा लागिरहनुभएको छ।

तामाङले सञ्चालन गर्नुभएको गाई फार्ममा हाल चार उन्नत जातका गाईरहेका छन्। व्यवस्थित रूपमा गाईपालन गर्दै आउनुभएका उहाँले आधुनिक तरिका अपनाउँदै उत्पादन बढाउने प्रयाससमेत गरिरहनुभएको छ।

दैनिक रूपमा उत्पादन हुने दूध स्थानीय बजारमा बिक्री गर्दै उहाँले आम्दानी लिन सफल हुनुभएको छ। दूध बिक्रीबाट सबै खर्च कटाएर मासिक रु २५ हजारदेखि ३० हजारसम्म आम्दानी भइरहेको उहाँको भनाइ छ।उहाँका अनुसार जनप्रतिनिधिको जिम्मेवारी निर्वाह गर्दै बाँकी समयलाई कृषि तथा पशुपालनमा लगानी गर्दा आर्थिक रूपमा सुदृढ बन्न सकिन्छ।

विज्ञापनहरू

“समय व्यवस्थापन गरेर काम गर्न सकियो भने सरकारी जिम्मेवारीसँगै उत्पादनमूलक क्षेत्रमा पनि सफलता हासिल गर्न सकिन्छ,” उहाँले भन्नुभयो, “युवाहरू वैदेशिक रोजगारीमा जानुभन्दा गाउँमै केही गरेर देखाउनुपर्छ भन्ने मेरो सन्देश हो।”

गाईपालनबाट प्राप्त आम्दानीले परिवारको खर्च धान्न सहयोग पुग्नुका साथै थप लगानीका लागि प्रेरणा मिलेको उहाँले बताउनुभयो। पछिल्लो समय दानापानी, औषधि तथा व्यवस्थापनमा हुने खर्च बढे पनि उचित योजना र मेहनतले राम्रो प्रतिफल लिन सकिने उहाँको अनुभव छ।

तामाङको यस पहलले स्थानीय किसानलाई समेत व्यावसायिक पशुपालनतर्फ आकर्षित गर्न मद्दत पुगेको छ। उहाँको फार्म अवलोकन गर्न आउने स्थानीयले गाईपालनसम्बन्धी जानकारी लिनुका साथै आफ्नै गाउँमा व्यवसाय सुरु गर्ने सोच बनाउने गरेका छन्। श्यामशिलाका ३९ जना किसानले उन्नत जातका गाई पाल्दै आएका छन्। यसले गाउँस्तरमै रोजगारी सिर्जना र आयआर्जन वृद्धि गर्ने सम्भावनालाई बलियो बनाएको छ।

पौवादुङमा गाउँपालिकालेसमेत कृषि तथा पशुपालनलाई प्राथमिकतामा राख्दै विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको सन्दर्भमा जनप्रतिनिधि नै यस क्षेत्रमा सक्रिय हुनु सकारात्मक सङ्केतका रूपमा हेरिएको छ। स्थानीय तहले दिने अनुदान, तालिम तथा प्राविधिक सहयोगको प्रभावकारी उपयोग गर्न सकेमा किसानको जीवनस्तर सुधार गर्न सकिने सरोकारवालाको भनाइ छ।

भविष्यमा गाईको सङ्ख्या बढाएर फार्मलाई अझ विस्तार गर्ने योजना रहेको तामाङले जानकारी दिनुभयो। उहाँले दूध उत्पादनसँगै अन्य दुग्धजन्य पदार्थ उत्पादनतर्फ समेत ध्यान दिने सोच बनाउनु भएको छ। गाउँमै बसेर मेहनत गर्दा आत्मनिर्भर बन्न सकिन्छ भन्ने सन्देश दिँदै तामाङले युवाहरूलाई कृषि र पशुपालनतर्फ आकर्षित हुन आग्रह गर्नुभएको छ।

गाई फार्मबाट उत्पादन भएको प्राङगारिक मलको सदुपयोग गर्ने लक्ष्यले उहाँले करिव ३०० रोपनी क्षेत्रमा किबी खेतीसमेत विस्तार गरेको जानकारी दिनुभयो। उहाँले थाल्नुभएको कामलाई परिवारका सदस्यले आवश्यक सहयोग गर्दै आउनु भएको छ।

लेख सेयर गर्नुहोस्

विज्ञापनहरू
विज्ञापनहरू
तस्बिर: रासस