यहाँको भीरकोट नगरपालिकाले आँधीखोला किनार क्षेत्रमा परीक्षणका रुपमा तर्बुजाखेती सुरु गरेको छ।
हेफर इन्टरनेशनलसँगको सहकार्यमा भीरकोट कृषि तथा पशु विकास परियोजनामार्फत तर्बुजा खेतीको सम्भाव्यता अध्ययन गरी व्यावसायिक तर्बुजाखेती गर्ने लक्ष्य लिएको नगर प्रमुख गोविन्दकुमार कर्माचार्यले बताउनुभयो। यहाँको हावापानी, माटो तर्बुजा खेतीका लागि उपयुक्त हुने देखिएकाले व्यावसायिकरुपमा अगाडि बढाउन पहिलो चरणमा बीउ, बेर्ना, उपकरण तथा प्राविधिक सहयोग गरिएको उहाँले बताउनुभयो।
“सम्भवतः जिल्लामै पहिलो पटक तर्बुजाखेती सुरु गरिएको छ” उहाँले भन्नुभयो, “पहिलो चरणमा यहाँका किसानले परीक्षणका रुपमा लगाएका छन्। यो राम्रो हुनासाथ ठूलो परिमाणमा व्यावसायिक उत्पादनमा जोड दिन्छौँ।”
यहाँ उत्पादित तर्बुजा किसान आफैँले बिक्री गर्नसक्ने र यदि नसकेमा नगरपालिकाले जिम्मा लिने उहाँले बताउनुभयो। भीरकोट नगरपालिका–१ को आँधीखोला नदी किनारको भीरकोट खेलमैदान परिसर, वडा नं ४, वडा नं ५ को पकान, वडा नं ६ को एकुवार फाँटको २० रोपनी क्षेत्रफलमा पहिलो पटक तर्बुजाखेती सुरु गरिएको हो। यसपटक १८ किसानले तर्बुजा रोपेका छन्।
यहाँ रोपिएको तर्बुजा आगामी जेठ मसान्तसम्ममा उत्पादन लिन सकिने परियोजनाका कृषि प्राविधिक अनिश अर्यालले जानकारी दिनुभयो। जिल्लामै पहिलो, नयाँ र नमूनाखेती भएकाले यहाँका किसान यसखेती प्रविधि बुझेर व्यावसायिक उत्पादनमा लाग्न सक्ने उहाँले बताउनुभयो।
लक्ष्मी र सरस्वती दुई जातका तर्बुजा नमुना परियोजनाका रुपमा रोपिएका छन्। नगरपालिकाले तर्बुजाका साथै सिम्ला मिर्च, अकबरे खुर्सानीसहित बेमौसमी तरकारी उत्पादनमा जोड दिएको छ।









