Nep
Eng
Nep
Eng

This post is also available in: English

व्यावसायिक फूलखेतीबाट आठलाख आम्दानी

धनगढी उपमहानगरपलिकाले दिएको फूलखेतीसम्बन्धी एकहप्ते तालिम लिएर फूलखेतीमा लागेको बताउँदै सुशीला विष्टले सयपत्री, गुलाब, रजनीगन्धा, सूर्यमुखी, सुपारीलगायतका फूल उत्पादन गर्दै आएको बताउनुभयो।
तस्बिर: रासस

 


 

कैलालीको धनगढी उपमहानगरपालिका–६ मटियारीकी सुशीला विष्टले व्यावसायिक फूलखेतीबाट राम्रो आम्दानी लिन थाल्नुभएको छ।

फार्म दर्ता गरेर विगत दुई वर्षदेखि व्यावसायिक फूलखेती गर्दै आउनुभएकी उहाँले फूल बिक्रीबाट मनग्य आम्दानी गर्न थाल्नुभएको हो। दुई बिघा जग्गा भाडामा लिएर व्यावसायिक फूलखेती गर्दै आएको बताउँदै विष्टले फूलबाट वार्षिक रु २० लाखसम्मको कारोबार हुने गरेको बताउनुभयो। आम्दानी राम्रै हुन्छ। कामदारलगायत सबै खर्च कटाएर वार्षिक रु आठ लाखसम्म बचत हुन्छ। बाह्रै महिना फूल उत्पादन हुन्छ, यस वर्षको दसैँतिहारमा मात्र करिब रु १० लाखबराबरको कारोबार भएको उहाँले बताउनुभयो।

उहाँले भन्नुभयो, “मूल्य समयअनुसार फरकफरक हुन्छ। फूल प्रतिकिलो रु एक सय ५० देखि पाँच सयसम्म र प्रतिमाला रु ६० देखि रु एक सयसम्ममा बिक्री गर्ने गरिएको छ।” उहाँले भन्नुभयो, “चार जनाको परिवार छ। यसबाटै भएको आम्दानीले घरखर्च सहजै चलेको छ। बचत पनि राम्रै हुन्छ। स्वरोजगार बनिएको छ।”

विज्ञापनहरू

धनगढी उपमहानगरपलिकाले दिएको फूलखेतीसम्बन्धी एकहप्ते तालिम लिएर फूलखेतीमा लागेको बताउँदै उहाँले सयपत्री, गुलाब, रजनीगन्धा, सूर्यमुखी, सुपारीलगायतका फूल उत्पादन गर्दै आएको बताउनुभयो। उहाँले आफ्नो फार्ममा आठ जनालाई प्रतिव्यक्ति रु छ सयका दरले दैनिक ज्याला दिएर रोजगारी दिएको बताउनुभयो। उहाँले व्यावसायिक फूलखेतीबाट राम्रै आम्दानी हुने भए पनि फूलको बीउ र मलखाद पाउन अप्ठ्यारो हुने गरेको बताउनुभयो। फूलखेतीका लागि कृषि विकास निर्देशनालय र धनगढी उपमहानगरपालिकाबाट प्लाष्टिक टनेल, सिँचाइ बोरिङ, थोपा सिँचाइमा अनुदान समेत पाएको बताउनुभयो। फूलखेतीमा बीमा पोलिसी नभएको बताउँदै उहाँले बीमा पोलिसी भए फूलखेती गर्ने किसानलाई अझै सहज हुने बताउनुभयो।

लेख सेयर गर्नुहोस्

विज्ञापनहरू
विज्ञापनहरू
तस्बिर: रासस