Nep
Eng
Nep
Eng

This post is also available in: English

गृहिणीबाट उद्यमीः सीपले जीवन बदल्दै भोजपुरका महिला

सीप लिएर व्यवसायमा लाग्न चाहने महिलालाई गाउँपालिकाले आवश्यक प्रोत्साहनसहित सहयोग गरिरहेको उपाध्यक्ष रमादेवी राईले बताउनुभयो।
तस्बिर: रासस

 


 

पहिले घरधन्दा र परिवारमा सीमित भोजपुरका महिला अहिले आफ्नै सीपबाट आम्दानी गर्न थालेका छन्। गाउँपालिका र वडास्तरमा सञ्चालित सिलाइकटाइ, ढाका बुनाइ, बेमौसमी तरकारीखेती, मुढा बनाउने, अचार बनाउने, गड्यौलाको मल उत्पादनलगायत सीपमूलक तालिमले महिलालाई स्वरोजगार र उद्यमशील बन्ने अवसर प्रदान गरेको हो।

महिलालाई आत्मभिर्नरसँगै व्यावसायिक बनाउनका लागि ‘महिला लक्षित कार्यक्रम’अन्तर्गत विभिन्न सीपमूलक तालिम प्रदान गरिरहेको का उपाध्यक्ष रमादेवी राईले बताउनुभयो। ढाका बुनाइ, सिलाइकटाइ, अचार बनाउने, बेमौसमी तरकारीखेती, बाख्रापालन, बङ्गुरपालनलगायत सीप प्रदान गरेपछि यहाँका महिला उद्यममा जोडिएका उहाँले उल्लेख गर्नुभयो।

सीप लिएर व्यवसायमा लाग्न चाहने महिलालाई गाउँपालिकाले आवश्यक प्रोत्साहनसहित सहयोग गरिरहेको उपाध्यक्ष राईले बताउनुभयो। उहाँका अनुसार गाउँघरमा पाइने कच्चा पदार्थको सदुपयोग गर्दै व्यावसायिकसँगै उद्यमशील बनाउन गत आर्थिक वर्षमा २७ जना महिलालाई अचार बनाउने सीप प्रदान गरिएको थियो।

विज्ञापनहरू

टेम्केमैयुङ गाउपालिका–४,नागीकी सम्झना राईले सोही तालिम लिएपछि आफ्नै गाउँमा अचार उत्पादन सुरु गरेको बताउनुभयो। सीपले जीवन निर्वाह गर्न सहजता प्रदान गरेको उहाँको भनाइ छ। “सीप सिकेपछि घरमा अचार बनाउन थालेकी छु”, उहाँले भन्नुभयो, “यसले मलाई आत्मनिर्भर बन्न सहज बनाएको छ। जानेको सीप अरुलाई पनि सिकाएर प्रेरित गर्दै आएकी छु।”

यहाँका सीप लिन इच्छुक दलित समुदायका महिलाको पहिचान गरेर बाँसकोे मुढा बनाउने तालिम दिएपछि अहिले महिला स्वरोगार बन्दै गएका छन्। पौवादुङ्मा गाउँपालिकामा १९ वटा आमा समूहले गड्यौलाको मल उत्पादन गरी बिक्री वितरण गर्न थालेका छन्।

पौवादुङ्मा गाउँपालिकाले ‘उपाध्यक्ष आत्मनिर्भर कार्यक्रम’अन्तर्गत महिला विकास बोर्ड गठन गरी उद्यमसँग जोड्न विभिन्न गतिविधि सञ्चालन गर्न थालिएको उपाध्यक्ष ज्योत्सना राईले जानकारी दिनुभयो।

रामप्रसादराई गाउँपालिका–८ खोक्सिकका महिलाहरू पनि सीपमूलक तालिमपछि उद्यममा जोडिएका छन्। स्थानीय चन्द्रकला राई अहिले सिलाइकटाइ व्यवसायमा सक्रिय हुनुहुन्छ। “वडामा सीपमूलक तालिम पाउँदा हामीजस्ता गृहिणी महिलालाई सजिलो भयो”, उहाँले भन्नुभयो, “अहिले यही व्यवसायबाट घरखर्च चलाउन सहज र आत्मनिर्भर बन्न टेवा पुगेको छ।”

सिलाइकटाइ तालिमबाट स्वरोजगार बन्नुका साथै आत्मविश्वास बढेको चन्द्रकलाको भनाइ छ। “हामी जस्ता महिलालाई अन्य ठाउँमा गएर तालिम लिन गाह्रो पर्थ्यो”, उहाँले भन्नुभयो, “आफ्नै गाउँमा तालिम लिएर व्यवसाय गर्न पाउँदा खुसी छौँ।”

स्थानीय तहको निरन्तर प्रयास र महिलाको सक्रिय सहभागिताले अहिले भोजपुरका गाउँघरमा आत्मनिर्भरता र उद्यमशीलताको नयाँ उदाहरण देखिन थालेको स्थानीयले बताएका छन्।

लेख सेयर गर्नुहोस्

विज्ञापनहरू
विज्ञापनहरू
तस्बिर: रासस