भुट्टेको जेरी पसल : सय वर्षदेखिको बलियो छाप

“बुबाको व्यवसायप्रतिको मेरो चासोले नै मलाई यहाँसम्म ल्याएको हो। यो सफलता उहाँकै हो।” – राजकुमार चुल्याजु
Photo By Niyesh Mahat

पुरानो शैलीका कलात्मक घरहरूको लागि प्रख्यात पोखराको भीमसेन टोलमा भुट्टेको मिठाइ पसल देखिन्छ। पसलमा धेरै मिठाइहरू भएपनि वर्षौंदेखि सो पसल ‘भुट्टेको जेरी पसल’ का नामले लोकप्रिय छ।

‘भुट्टेको जेरी पसल’ कुनै साधारण मिठाइ पसल होइन। यसले सय वर्षभन्दा लामो ऐतिहासिक विरासत बोकेको छ, तीन पुस्तालाई जोडेको छ र हामीलाई मन पर्ने तातो र क्रिस्पी जेरी (जलेबी) खुवाउँदै आएको छ।

धेरै मानिसहरूले आजकाल यसलाई सामाजिक सञ्जाल, सञ्चारमाध्यम तथा पत्र-पत्रिकाहरूमा चर्चित एक प्रसिद्ध मिठाइ पसलको रूपमा चिन्छन्। यद्यपि, नब्बेको दशकभन्दा अघि जन्मेका व्यक्तिहरूका लागि यो केवल एउटा चर्चित पसल मात्र नभएर गोर्खा सेनामा भर्ती हुन असफल एक युवाद्वारा स्थापित सफल व्यवसाय र संघर्षको प्रतीक पनि हो।

यात्राको सुरूवात

‘भुट्टे’ भनेर चिनिने सिद्धिलाल चुल्याजुले भुट्टेको जेरी पसलको स्थापना गरेका थिए। उनको सानैदेखिको सपना भने गोर्खा सेनामा भर्ती हुने थियो । यही सपना पूरा गर्ने उद्देश्यका साथ उनले भर्तीका लागि प्रयास पनि गरे, तर दुर्भाग्यवश, उनी गोर्खा सैनिक बन्न सकेनन्।

त्यसपछि उनले भारत हुँदै बर्मा (हालको म्यानमार) सम्मको यात्रा गरे। यात्राका क्रममा उनले मिठाइ बनाउने कला जस्तो बहुमूल्य सीप आर्जन गर्न सफल भए। जीवन नै परिवर्तन गर्न सक्ने यस सीपलाई आत्मसात् गर्दै उनी नेपाल फर्किए र एउटा सानो खाद्य स्टल सञ्चालन गर्न थाले। उक्त स्टलमा जेरीसहित विभिन्न प्रकारका मिठाइहरूको बिक्री गरिन्थ्यो। स्थानीय बासिन्दाहरू मीठो जेरीको स्वाद लिन दिनहुँ उनको स्टलमा आउँथे। परम्परागत ‘मौखिक प्रचार’ (वर्ड-अफ-माउथ) को प्रभावकारिताले गर्दा छिमेकी टोलका मानिसहरू समेत उनको मिठाइको स्वाद लिनका लागि आउन थाले। छोटो समयमा नै भुट्टेको जेरी पसलले आफूलाई एक विश्वासिलो र लोकप्रिय मिठाइ पसलको रूपमा स्थापित गरी वफादार ग्राहक वर्ग निर्माण गर्न सफल भयो।

मिठाइ पसल खोल्नु अघि नै सिद्धिलाल चुल्याजु कला तथा हस्तकला प्रतिको रुचिका लागि आफ्नो क्षेत्रमा प्रसिद्ध थिए। विशेष गरी, गाईजात्राको समयमा उनले देखाउने लाखे नृत्य अत्यन्त चर्चित थियो। पसलको स्थापना पछि, उनी एक कुशल मिठाइ व्यवसायीको रूपमा पनि परिचित हुन पुगे। उनले परिवारको भविष्यका लागि एक भरपर्दो आम्दानीको स्रोत सुनिश्चित गर्न जेरी बनाउने सीपलाई समयसँगै आफ्नी श्रीमती र छोराहरूसमक्ष हस्तान्तरण गर्दै गए।

सिद्धिलाल चुल्याजुको निधनपछि उनकी श्रीमती मिस्री माया चुल्याजुले आफ्ना तीन छोराहरूको साथमा पसल सञ्चालन गर्न थालिन्। यो विरासतलाई भविष्यमा तीन भाइहरू मध्ये कसैले निरन्तरता दिनेछ भन्नेमा उनीहरू विश्वस्त थिए। उत्तराधिकारी बने—सबैभन्दा कान्छा छोरा, राजकुमार चुल्याजु।

राजकुमार चुल्याजु र भोजन तयारीप्रति उनको रुचि

राजकुमारले बाल्यकालदेखि नै विवाह तथा विभिन्न सामाजिक समारोहहरूका लागि भोजन तयार पार्ने काम गर्थे। भविष्यमा खाद्य उद्योग सञ्चालन गर्नका लागि यस अनुभवले राम्रो जग तयार गरिदिएको थियो। पछि, उनले पोखरास्थित कन्या क्याम्पसको क्यान्टिन सञ्चालन गर्ने जिम्मेवारी पाए। उक्त क्यान्टिनको उनले एक दशकभन्दा बढी समयसम्म सफलतापूर्वक व्यवस्थापन गरे।

सोही समयमा, उनकी आमा मिस्री माया र उनका जेठा दाजुले भुट्टेको जेरी पसलको व्यवस्थापन गरिरहेका थिए। तर, व्यवसायको चाप निकै बढेको थियो। लगातारको व्यस्तताले गर्दा मिस्री माया र उनका जेठा छोरालाई उच्च रक्तचाप (ब्लड प्रेसर) को समस्या देखा पर्यो। पसलमा भीड यति धेरै हुन्थ्यो कि उनीहरू समयमा औषधि समेत लिन सक्दैनथे।

अवस्था झन्- झन् जटिल बन्दै गयो। आमाछोरा दुवै अस्वस्थ भएपछि पसलको भविष्य अनिश्चित बन्न थाल्यो। चुल्याजु परिवार व्यवसाय बन्द गर्ने निर्णयको संघारमा पुगिसकेको थियो।

दुर्भाग्यवश, मिस्री मायालाई सबैले सदाका लागि बिदा गर्नुपर्‍यो। सो क्षण, सिद्धिलालको निधनपछि चुल्याजु परिवारका लागि सबैभन्दा कठिन समय बन्न पुग्यो।

Photo By Niyesh Mahat

कान्छा छोरा राजकुमार चुल्याजुले परिस्थितिको गम्भीरता बुझ्दै आफ्नो पारिवारिक विरासत जोगाउने दृढता लिए। त्यसैले उनले क्यान्टिन सञ्चालनको जिम्मेवारी त्यागी पसलमा पूर्ण रूपमा समर्पित हुने निर्णय गरे। त्यो समयलाई उनले आफ्नो व्यक्तिगत तथा व्यावसायिक जीवनको महत्वपूर्ण मोडका रूपमा सम्झन्छन्। “म अझै त्यो समय सम्झन्छु। क्यान्टिन सञ्चालन गर्ने अनुभव र आफ्नै पसलमा काम गर्ने अनुभव फरक थियो। सायद म यही गर्नका लागि नै जन्मिएको थिएँ, त्यसैले म फर्किएँ,” उनी भन्छन्।

राजकुमारको मिठाइप्रतिको प्रेम तथा बुबा सिद्धिलालले ल्याउन सक्ने विशेष स्वादको पुनः सिर्जना गर्ने कला नै उनलाई अन्य मिठाइ व्यवसायीहरू भन्दा फरक बनाउने मुख्य कारण बन्‍यो। भुट्टेको जेरी बजारमा पाइने अन्य जेरीहरूको तुलनामा दुई गुणा ठूलो हुने भएकाले स्थानीयहरू उनको जेरीलाई बिहानको खाजाका रूपमा समेत मन पराउँछन्।

सामाजिक सञ्जालमार्फत राष्ट्रिय स्तरमा पहिचान

स्थापना भएदेखि करिब ८० वर्षसम्म भुट्टेको जेरी पसल केवल स्थानीय रूपमा लोकप्रिय थियो। तर, सामाजिक सञ्जालको प्रयोग र छोटो भिडियो सामग्रीहरू स्क्रोल गर्ने चलन बढ्दै जाँदा यसको चर्चा व्यापक हुन थाल्यो।

एक प्रसिद्ध सामाजिक सञ्जाल ब्लगरद्वारा निर्माण गरिएको भिडियो कथाले ५००,००० भन्दा बढी भ्युज प्राप्त गरेको छ। यसले भुट्टेको जेरी पसलप्रति थप ग्राहकहरूलाई आकर्षित गर्न मदत गर्यो। साथै, उक्त भिडियो कथाले विभिन्न सञ्चारमाध्यम तथा प्रकाशन च्यानलहरूको ध्यान समेत तान्न सफल रह्यो।

भी-म्याग नेपाल नामक एक डिजिटल पत्रिकाले पनि भुट्टेको जेरी पसललाई आफ्नो यूट्यूब-आधारित कार्यक्रम अन्तर्गत विशेष रूपमा प्रस्तुत गरेको थियो। यसले भुट्टेको जेरी पसलको पहिचानलाई थप फैलाउन महत्वपूर्ण योगदान पुर्‍यायो। धेरैजसो व्यवसायहरूले कम समयमा व्यापक ध्यान तान्न सफल भए पनि पछि ग्राहकहरूको अपेक्षा पूरा गर्न असफल हुने गर्छन्। तर, भुट्टेको जेरी पसलले भने आफ्नो विशेष स्वादलाई निरन्तर कायम राखी आफ्ना ग्राहकहरूलाई वर्षौंदेखि सन्तुष्ट बनाउन सफल हुँदै आएको छ।

यसबारे सोध्दा, राजकुमार चुल्याजु भन्छन्, “हामीले छोटो समयमा नै ठूलो चर्चा कमाउन सफल भयौँ। तर, सबैभन्दा चुनौतीपूर्ण कार्य त ग्राहकहरूलाई टिकाइराख्नु हो र हामीले हाम्रो विशेष स्वाद मार्फत यो कुरा सम्भव बनाइराखेका छौँ।”

प्रसिद्ध सङ्गीतकार अमृत गुरुङ र राजनीतिज्ञ रवीन्द्र मिश्रले पनि सामाजिक सञ्जाल फेसबुकमा लामो पोस्ट लेख्दै भुट्टेको जेरीसँग जोडिएको आफ्नो अनुभव बाँडेका छन्।

विक्रीमा वृद्धिः सामाजिक सञ्जालको शक्ति

भुट्टेको जेरी पसलको प्रमुख बिक्री स्रोत सामाजिक सञ्जाल नै रहेको छ। उनीहरू आफैले अपलोड गरेका भिडियोहरूले गर्दा नभएर ग्राहकहरूले आफ्नो सन्तुष्टिको रूपमा बनाएका पोष्टहरूको कारण सो प्रचार भएको हो। यसले उनीहरूको अनलाइन उपस्थिति उल्लेखनीय रूपमा बढाइदिएको छ र अन्ततः आम्दानीमा समेत सकारात्मक प्रभाव पारेको छ। भुट्टेको जेरीको मूल्य प्रति जेरी रु. ५० रहेको छ जुन बजारमा पाइने अन्य मिठाइ विक्रेताहरूको तुलनामा केही महँगो मानिन्छ।यद्यपि, भुट्टेको जेरी साधारण जेरीहरूको तुलनामा दुई गुणा ठूलो हुने गर्छ।

बिक्रीका सन्दर्भमा, राजकुमार चुल्याजु भन्छन्, “हामी प्रतिदिन झण्डै ५०० वटा जेरी बिक्री गर्छौं। बिक्री कम हुँदा पनि औसतमा दैनिक २५० वटा बेचिरहेका छौं।” जेरीसहित अन्य मिठाइहरूको बिक्रीबाट मासिक लगभग रु. ६,००,००० कमाइ भैरहेको छ। आर्थिक सफलता त छदै छ, ग्राहकको विश्वास जित्न पनि उनीहरू सफल भएका छन्। पोखरामा विभिन्न खाद्य ब्रान्डहरूद्वारा म्याद सकिएका वा संचित भएका सामग्रीहरूको प्रयोग गरिएको खबरहरू बेला–बेला आउने गर्छन्। तर, राजकुमारले यस्तो समस्या नहोस् भनेर पूर्ण रूपमा खुला भान्सा प्रणाली (ओपन किचन) अपनाएका छन्।

भुट्टेको जेरी पसलमा ग्राहकले अर्डर गरेपछि मात्र ताजा जेरी तयार गरिन्छ। खाना पकाउने ठाउँ र बस्ने क्षेत्र छुट्याउने ग्लास काउन्टर रहेको छ जसका कारण ग्राहकहरूले आफ्नै आँखाले ताजा जेरी तयार भइरहेको हेर्न सक्छन्।

राजकुमार चुल्याजु र उनका छोरा

राजकुमार चुल्याजुका कान्छा छोरा एलिश चुल्याजु हाल पोखरास्थित जनप्रिय बहुमुखी क्याम्पसमा व्यवसाय व्यवस्थापनमा स्नातकोत्तर(एमबीए) अध्ययन गरिरहेका छन्। उनका धेरैजसो साथीहरू राम्रो अवसरको खोजीमा विदेश गइसकेका छन्। उनले भने स्वदेशमै बसेर आफ्नो बुबासँगै पारिवारिक व्यवसायलाई अगाडि बढाउने निर्णय गरेका छन्।

११ वर्षको उमेरमा एलिशले पहिलो पटक जेरी बनाउने सीप सिक्ने अवसर पाएका थिए। सुरुवाती दिनहरूमा उनलाई खासै रुचि थिएन। तथापि, बुबाको निरन्तर हौसलाका कारण उनले परिवारको व्यवसायमा सक्रिय रूपमा संलग्न हुने निर्णय लिए। समय बित्दै जाँदा उनलाई सो व्यवसाय मन पर्न थाल्यो। स्नातक अध्ययनका क्रममा धेरै साथीहरू भविष्यप्रति अन्योल भइरहेका बेला एलिश भने त्यतिबेला देखि नै आफ्नो निर्णयप्रति विश्वस्त थिए। एलिशले आफ्नो बुबासँगै पारिवारिक व्यवसायलाई अझ उचाइमा पुर्‍याउँछु भनेर सोचिसकेका थिए।

हाल उनी बिहान कलेज जान्छन् र दिउँसो पारिवारिक व्यवसायमा आमाबाबुलाई सघाउँछन्। भुट्टेको जेरी पसलसँग आफ्नो उद्यमशील यात्रालाई निरन्तरता दिने योजना उनले बनाईरहेका छन्।

नेपालमा अवसर र स्वदेशमै बसेर व्यवसाय गर्ने निर्णयका बारेमा सोध्दा उनले भने, “सबै कुरा सोच्ने तरिकामा निर्भर गर्छ। यदि कोही आफ्नो लक्ष्यप्रति स्पष्ट छ र त्यसमा समय लगाएर प्रतिबद्ध हुन्छ भने नेपालमा होस् या विदेशमा उसले सफलता हासिल गर्न सक्छ।”

 


निएश हाल व्यवसाय अध्ययनका विद्यार्थी र फारसाइट इम्प्याक्टमा इन्टर्न हुन्। उनलाई कथा कथन र सामग्री तयार पार्ने काममा गहिरो रुचि छ। सम्पूर्ण तस्विर निएश स्वयमले खिचेका हुन्।