यो कथा कृषि विभागको वेबसाइटमा ७ फाल्गुन २०७७ मा प्रकाशित भएको हो।
आठ वर्ष कतारमा वैदेशिक रोजगारीमा गएका डिल्लीराज उप्रेती एक सफल कृषि तथा वन व्यवसायी हुन्। विदेशबाट फर्केपछि त्यहाँ कमाएको पैसाले कृषिमा लगानी गर्ने सोच बनाई उनले हाल सयपत्री र गोदावरीको फूल तथा बेर्ना, खर्बुजा, कागती, मेवा खेती तथा सजिवन र रक्तचन्दनको विरुवा उत्पादन तथा विक्री वितरणको काम गरिरहेका छन् । शुरुमा टमाटर खेती गरेको तर सबैले खेती गर्ने हुँदा बजारीकरणको समस्या देखि अरु भन्दा फरक गर्ने सोच राखी उनले फूल तथा वनजन्य प्रजातिहरुको खेती शुरु गरे । उनले तिहारलाई लक्षित गरी सयपत्री खेती गर्ने गरेका छन् र उनले प्रति बेर्न रु. २ मा अन्य कृषकहरुलाई पनि बेर्ना उपलब्ध गराईरहेका छन्। हाल उनले १ विघा क्षेत्रफलमा कागती खेती गरीरहेका छन् साथै बलौटे जमिनमा खर्बुजा खेती गरिरहेको र यसले थोरै समयमा पनि धेरै नाफा दिईरहेको जानकारी गराए ।
बजारको मागलाई ध्यान राखी हाल उनले मेवा खेती शुरु गरेका छन् । हाल उनले २0,000 देखि ३०,००० बोट लागाईसकेका र प्रति के.जी. रु.५० मा होलसेल विक्री गरिरहेका उनलाई मेवाको विक्रीवितरणमा कुनै पनि समस्या नरहेको बताउँछन् । उनका अनुसार आफ्नो व्यवसायबाट ८० दिनमा रु.५लाख सम्म पनि कमाएका छन् । तसर्थ अबका केहि वर्ष मेवा, सयपत्री र खरबुजा खेतीमा केन्द्रीत हुने उनको इच्छा छ । उनले हाल ५ जनालाई पूर्ण रोजगारी दिईरहेका छन् ।
उनका अनुसार कुनैपनि व्यवसायमा नाफा कमाउनको लागि आफ्नै किसिमको तरिकाहरु अपनाउनु पर्ने हुन्छ । उनले अन्नपूर्ण होटलमा काम गर्दा ग्राहकलाई कसरी रिझाउने र वस्तु तथा सेवाको बजारिकरण गर्ने तरिका सिकेको र सोहि बमोजिम आफ्ना ग्राहको चाहना र आवश्यकता अनुसार उत्पादन तथा बजारिकरण गरिरहेको जानकारी गराए ।
“मिहिनेतमा जादु हुन्छ” डिल्लीराज भन्छन् । आज सम्मको कृषि तथा वन व्यवसायमा प्राप्त सफलताको श्रेय उनी आफ्नो तथा परिवारको मिहिनेतलाई दिन्छन् । विहानै देखि राती ९-१० बजे सम्म पनि उनी खेतबारीमा नै खटिईरहेका हुन्छन् । विदेश गएर तल्लो स्तरको काम गर्नु भन्दा स्वदेशमै रहि परिवार तथा साथीभाईसंग मिलेर काम गर्नुमा छुट्टै आनन्द हुने उनको भनाई छ । मिहिनेत गर्ने हो भने स्वदेशमै विदेशमा भन्दा धेरै आम्दानी गर्न सकिन्छ तर बजारको आवश्यकता र माग अनुसार व्यवसाय शुरु गर्न सबैलाई सुझाव दिन्छन् ।
कृषि विभागमा प्रकाशित
प्रकाशित मिति: २०७७/११/७