बुटिक जुन अरूभन्दा भिन्न छ — ‘येइपू’।
‘येइपू’ भन्ने शब्दले नेवारी भाषामा मोहित हुनु वा आकर्षित हुनु भन्ने अर्थ राख्दछ। रीता शाक्यको बुटिक पनि, नाम जस्तै, रंगीन कपडा तथा आकर्षक बुट्टा र हस्तनिर्मित डिजाइनहरूले भरिपूर्ण छ। यद्यपि, ‘येइपू’ लाई विशेष बनाउने आधार बुटिकले प्रदान गर्ने उत्कृष्ट सिलाइ सेवा मात्र नभएर रीता शाक्यको अदम्य साहस र प्रेरणादायी कथा पनि हो।
रीता केवल दुई वर्षको हुँदा टाइफाइडको शिकार हुन् पुगिन्। टाइफाइडले पोलियो निम्त्यायो र उनको कम्मरदेखि खुट्टासम्मको गतिशीलतालाई प्रभावित पार्यो। तर, उनले यो अवस्थालाई कहिल्यै आफ्नो परिचय बन्न दिइनन्।
रीताको बाबुआमा उनको सबैभन्दा ठूला समर्थक हुनुहुन्थ्यो। उहाँहरूले रीताको शिक्षामा कुनै सम्झौता हुन दिनुभएन । रीताले सेन्ट मेरीज स्कूलबाट आफ्नो पढाइ पूरा गरिन् र त्यसपछि पढाइलाई थप अघि बढाउँदै समाजशास्त्रमा स्नातकोत्तर पनि पूरा गरिन्।
सुरुमा, रीता कर्पोरेट क्षेत्रमा काम गर्न चाहन्थिन्। तर, समाजले उनलाई फरक रूपमा हेर्थ्यो, अलग ठान्थ्यो। विभिन्न पूर्वाग्रहहरूले गर्दा रीताले कर्पोरेट जागिरको सोच त्याग्न पुगिन्।

त्यसपछि, उनले आफ्नो बाटो आफ्नै कोर्ने निर्णय गरिन्। उनले सन् २००४ मा आफ्नो गृह नगर ललितपुरको पुल्चोकमा ‘येइपू’ नामबाट एउटा बुटिक स्थापना गरिन्। परिवारसँग ऋण लिएर लगभग १० लाख रुपैयाँभन्दा बढीको प्रारम्भिक लगानीबाट व्यवसाय सुरु गरेकी थिइन्।
बुटिक सुरु गर्दा, शारीरिक अशक्तताका कारण धेरैले उनलाई दयाले हेर्थे, रीता सम्झन्छिन्। “कतिपयले मलाई ‘कम श्रम लाग्ने, कम चुनौतीपूर्ण’ काम गर्न सल्लाह समेत दिए।”
तर, दृढ इच्छाशक्ति भएकी रीताले भने यस्ता दबाबहरूलाई जित्दै अघि बढ्ने निर्णय गरिन्।
त्यतिबेला नेपालमा बुटिक फेसन र कस्टम मेड कपडा एकदमै नौलो कुरा थियो। यस क्षेत्रमा प्रवेश गर्नु जो कोहीका लागि चुनौतीपूर्ण थियो। तर, समयसँगै फेसनप्रतिको चेतना बढ्दै गयो र उद्योगले उल्लेखनीय प्रगति गर्न थाल्यो। यस परिवर्तनले रीताको व्यवसायलाई पनि ठूलो फाइदा पुर्यायो। यसले उनको व्यवसायलाई विस्तार गर्न मद्दत गर्यो र फराकिलो बजारमा पुग्ने अवसर जुटायो।
समयक्रमसँगै उनको व्यवसाय फस्टाउँदै गयो। उनले स्थिर आम्दानी गर्न थालिन्। यसले उनलाई व्यवसाय विस्तार गर्न र थप कर्मचारीहरूलाई रोजगारी दिन सक्ने बनायो।

आज, येइपूले स्थिर आम्दानी गर्दै आएको छ। यसले रीतालाई येइपूको सञ्चालन खर्च टार्न र पुनः लगानी गर्न सक्षम बनाएको छ। यद्यपि, आम्दानी मौसम तथा आर्थिक अवस्था अनुसार कहिलेकाहीँ तलमाथि हुने गर्छ।
रीताका अनुसार, बुटिकले राम्रै आम्दानी गर्ने गर्छ। प्रमुख खर्चहरूमा भने भाडा, कर्मचारीको तलब तथा कच्चा मालमा हुन्छ।
बुटिकले विभिन्न फेसन कार्यक्रमहरूमा पनि भाग लिने गर्छ। यद्यपि, हाल यस किसिमको संलग्नतामा केही कमी आएको छ। सन् २०१७ मा रीताले आफ्ना डिजाइनहरू एक फेसन शोमा प्रदर्शन गरेकी थिइन्। अनुराधा कोइराला प्रमुख अतिथि भएको उक्त शोमा उनको बुटिक गुणस्तरीय डिजाइनका लागि सम्मानित पनि भएको थियो।
येइपूले व्यापक बजारलाई लक्षित गर्दै सबै उमेर समूहका लागि—बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म—र अनौपचारिक, चाडपर्व वा औपचारिक, हरेक अवसरका लागि कपडा उपलब्ध गराउँदै आएको छ। येइपूका ग्राहक वर्गमा आफ्नो डिजाइन अनुसार कपडा खोज्ने व्यक्ति, आफ्नो लागि विशेष विवाह पोशाक खोज्ने बेहुलीहरू साथै नैतिक तथा दिगो फेसन अभ्यासलाई महत्व दिनेहरू पर्दछन्।

यसका अलावा, रीताले औपचारिक शिक्षा नपाएका महिलाहरूलाई रोजगार प्रदान गर्ने कुरालाई प्राथमिकता दिन्छिन्। उनीहरूलाई उपयोगी सीप सिकाएर सक्षम बनाउनु उनको बुटिकको मुख्य विशेषता नै हो। यसले महिलाहरूलाई रोजगारको अवसर मात्र प्रदान गर्दैन, उनीहरूलाई आफ्नो सीप विकास गर्ने प्लेटफर्मसमेत उपलब्ध गराउँछ भन्ने रीताको विश्वास छ।
महामारीअघि उनको बुटिकमा ८ देखि १० जना कर्मचारी थिए। तर, कोभिड–१९ पश्चात बजारको सुस्त पुनरुत्थानका कारण हाल कर्मचारी सङ्ख्या चारमा झरेको छ।
अन्य बुटिकहरूले परम्परागत रूपमा कुशल दर्जी अर्थात् ‘मास्टर जी’ नियुक्त गर्ने गरेको भए पनि रीताले भने इच्छुक महिलाहरूलाई रोजगारी दिएर तिनलाई प्रत्यक्ष प्रशिक्षण गर्ने नीति अपनाएकी छिन्। “म आफ्ना कर्मचारीहरूलाई उचित तलब, प्रत्यक्ष प्रशिक्षण र सहयोगी कार्य वातावरण प्रदान गर्छु”, रीता भन्छिन्।
मूल्य निर्धारणको कुरा गर्दा, उनको बुटिकले लचिलो मूल्य रणनीति अपनाएको छ। डिजाइनको जटिलता, कपडाको गुणस्तर र बुट्टाको काम अनुसार लागत फरक पर्छ। यो लचिलोपनले गर्दा बजेट सीमित भएका ग्राहकदेखि लिएर उच्च–स्तरीय डिजाइन खोज्ने ग्राहकहरूलाई समेत सेवा दिन सम्भव भएको छ।
रीताको व्यवसायमा नेटवर्किङले महत्त्वपूर्ण भूमिका खेल्छ। उनको बुटिक मुख्यतः वर्ड–अफ–माउथ मार्केटिङ (मौखिक–प्रचार) र प्रत्यक्ष ग्राहक अन्तर्क्रियामा निर्भर छ। उनी डिजिटल प्लेटफर्महरूमा ध्यान केन्द्रित गर्नुको सट्टा समुदायसँगको बलियो सम्बन्ध निर्माण गर्नमा बढी केन्द्रित छिन्।
“हाम्रो कामको गुणस्तर र रचनात्मकतासँग सन्तुष्ट ग्राहकहरू फेरि आउँछन्,” रीता भन्छिन्। यस दृष्टिकोणले उनलाई एक वफादार ग्राहक समूह निर्माण गर्न मद्दत गरेको छ। सोही समूहले धेरै नयाँ ग्राहकहरूलाई सिफारिस गरिरहेका हुन्छन्।
अधिकांश ग्राहकहरूले आफ्नो डिजाइन अनुसार अर्डरका लागि सिधै उनलाई सम्पर्क गर्ने भएकाले उनले डिजिटल मार्केटिङमा ध्यान केन्द्रित नगर्ने निर्णय गरेकी हुन्। येइपूले कपडा र बुट्टाका सामग्रीहरू भने स्थानीय तथा चुनिएका भारतीय आपूर्तिकर्ताहरूबाट ल्याउने गर्छ।
व्यवसाय विस्तारका सम्बन्धमा, रीताले अहिले येइपू बुटिकलाई बृहत विस्तार गर्ने कुनै तत्काल योजना बनाएकी छैनन्। यद्यपि, व्यवसायलाई कायम राख्न र स्थानीय महिलाहरूलाई सीप विकासका अवसरहरू प्रदान गरिरहनकालागि व्यवसायलाई सीमित मात्रामा विस्तार गर्ने उनको सोच छ। बृहत विस्तार भन्दा पनि अहिले उनको ध्यान व्यवसायलाई सुदृढ पार्दै स्थानीय महिलाहरूलाई सहयोग गर्ने, तथा आफ्ना ग्राहकहरूलाई गुणस्तरीय र इच्छाअनुसारको कपडा उपलब्ध गराउने कुरामा केन्द्रित छ।
रीताले बुटिक विस्तारको ठूलो योजना नबनाए पनि, अन्य सामाजिक कार्यहरूमा उनको प्रयास निरन्तर जारी छ। उनी ‘येइपू फेसन इन्स्टिच्युट’ की संस्थापक हुन्।
उक्त इन्स्टिच्युट फेसन डिजाइन र सिलाइ सीप सिकाउने शैक्षिक संस्था हो। इन्स्टिच्युटले ट्रेनिङ क्वालिफिकेशन्स यूके जस्ता राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त डिप्लोमा कार्यक्रमहरू सञ्चालन गर्दछ। यसमा फेसन डिज़ाइन, ड्रेपिङ, बुटा भराईका साथै अन्य बुटिक तथा मेकअप कोर्सहरू समावेश छन्।
यसबाहेक, रीता अपांगता अधिकारको पक्षमा वकालत पनि गर्छिन्। रीता अपांग महिलाहरूको नेतृत्वमा सञ्चालित गैर–नाफामूलक संस्था ‘नेपाल अपांग महिला समाज’को बोर्ड सदस्य हुन्। उक्त संस्थामार्फत उनी समुदायमा अपांग महिलाहरूले भोग्नु परेको चुनौतीबारे जनचेतना फैलाउने तथा उनीहरूलाई परिवारको सहारा बन्न सक्ने गरी विभिन्न सेवा, प्रशिक्षण, बालबालिकाहरूका लागि डे–केयर, पुनःस्थापना सेवा, साथै बैसाखी तथा अन्य आवश्यक स्वास्थ्य सेवा प्रदान गर्न मद्दत गर्छिन्।
प्रणालीगत परिवर्तन ल्याउने तथा भविष्य निर्माण गर्ने शक्ति युवाहरूकै हातमा भएको रीताको बुझाइ छ। उनको आफ्नै जीवन कथा पनि युवाहरूलाई आफ्नै समुदाय र देशको अर्थपूर्ण विकासमा योगदान दिन प्रेरित गर्ने किसिमको छ। परिवर्तनको लागि विदेशिनु आवश्यक छैन—नेपालमै बसेर पनि ठूला उपलब्धिहरू हासिल गर्न सकिन्छ भन्नेमा उनी विश्वास राख्छिन्।
आर्या सैंजु फारसाईट ईम्प्याक्टमा ईन्टर्न्शिप गर्छिन।
अधिवक्ता प्रज्ञा ढकालद्वारा अनुवादित|