निमेश जंग मेवाहाङ राईले दुई दशकभन्दा लामो समय फोटोग्राफीमा बिताए। त्यसमा पनि विगत १७ वर्षदेखि त उनी फोटो पत्रकारितामा संलग्न थिए।
जीवनका उल्लेखनिय वर्षहरु एउटा क्षेत्रमा बिताएको मान्छेका निम्ति पेशा परिवर्तन गर्नु कठिन कुरा हो। एउटा कुरामा अभ्यस्त भईसकेको मान्छेले नयाँ कुरा सिक्नु र आफू अनुकुल बनिसकेको वातावरणबाट बाहिरिएर अर्कै पेशामा लाग्नु सहज पक्कै हुँदैन।
तर, त्यहि असहजतालाई नै अँगाल्ने निर्णय निमेशले केही महिनाअघि लिए। त्यसपछि उनले आफ्नो अनुभव र क्षेत्रगत विशेषज्ञताभन्दा बाहिरको पेशामा लाग्दै सुरु गरें- “मुख्खु किचन।”
कालोपुलमा रहेको मुख्खु किचन निमेश र पुनु सोभा महर्जनको सहकार्यमा खुलेको चार महिना भएको छ। तर, यो चार महिनामा पनि मुख्खु किचनमा भएको आफ्नै फरकपनका कारण यसले ग्राहकलाई भने तानिरहेको निमेष बताउँछन्।
किन फरक छ मुख्खु किचन?
कोरोना महामारी र विश्वभरमा नै छाईरहेको मन्दी छाइरहेको समयमा मुख्खु किचन खोल्नुको पछाडि निमेशको आफ्नै अनुभवले भूमिका खेलेको छ।
प्राय: नेपालका ठूला शहरमा उपलब्ध हुने अन्य देश विशेषका परिकारहरु झकिझकाउ रेस्टुरेन्टमा मात्रै उपलब्ध हुन्छन्। कोरियन, चाइनिज, जापनिजजस्ता परिकारहरु उपलब्ध हुने ठाउँहरु आम मानिसको पहुँचमा छैन। ‘फाइन डाइनिङ मेनु’ प्रायः ठूला होटलहरूमा मात्र पाइन्छ। साना रेस्टुरेन्ट भनेपछि चिया, खाजा, मोमो, चाउमिनकै कुरा आउँछ।
“जहाँ मान्छे हुन्छन्, त्यहाँ आवश्यकताहरू पनि हुन्छन्। खानेकुरा, स्वास्थ्य, शिक्षा प्रमुख आवश्यकता हुन्,” निमेष भन्छन्, “तर, नेपालमा फाइन डाइनिङको विषयलाई लिएर सर्वसुलभ रुपमा उपलब्धताको अवस्था छैन।”
“तर, ठूला होटलको मेनु सानो ठाउँमा, कम मूल्यमा सम्भव छ कि छैन?“, निमेष यहि सोचका कारण मुख्खु किचन जन्मिएको बताउँछन्।
सर्वसुलभ र साना खाजा पसल तथा रेस्टुरेन्टमा उपलब्ध नहुने परिकारहरु मुख्खुमा पाइन्छ। हाल आफूहरु यी परिकारहरुमा विशेष गरि चाइनिज, कोरियन र भारतीय परिकारलाई प्राथमिकतामा राखेको निमेष बताउँछन्। त्योसँगै केही नेपाली परिकार र नेवारी परिकार पनि मुख्खुमा उपलब्ध छन्।
“विदेशी खानाका परिकारलाई नेपाली स्वाद अनुकूल बनाउन परिमार्जन गरिन्छ,” निमेष भन्छन्,” निम्न र मध्यम वर्गका लागि विदेशी खाना अनुभव गर्नु महँगो हुन्छ। ठूला होटलका उच्च मूल्यले कतिपय त त्यस्ता ठाउँमा जान डराउँछन्। मुख्खु किचन उनीहरूलाई नयाँ स्वादसँग जोड्ने कोसिस हो।”
निमेश यहि कारण पनि मुख्खु किचन खुलेको केही महिनामा नै राम्रो व्यवसायको साथै उपभोक्ता माझमा राम्रो परिचय बनाउन पनि सफल भएको बताउँछन्।
१५ लाखको लगानी, दैनिक पाँच हजारको कारोबार
१५ लाख लगानीमा सरु भएको मुख्खु किचनको व्यवस्थापनमा १२ लाख खर्च लाग्यो। बाँकी रहेको ३ लाख उनीहरुले व्यवसायका लागि चालू खर्च भनेर छुट्याएका थिए।
गत तिहारमा संचालनमा आएको थियो मुख्खु किचन। सुरुको महिना त तालमेल मिलाउनमै समय लागेको थियो। मंसिर महिना देखि भने रेस्टुरेन्ट पुर्ण रुपमा सञ्चालनमा आएको निमेश बताउँछन्।
पहिलो महिनामा राखिएको मेनुको समिक्षा गरेर दोस्रो मेनु बनाईएको थियो। अहिले पुन दोस्रो मेनुको पनि समिक्षा गर्ने तरखरमा रहेको निमेश बताउँछन्।
“रेस्टुरेन्ट चलाउने भन्दैमा खाना बेच्ने र पस्किने मात्र नभएर ग्राहकको स्वाद अनुसार परिकारहरु परिमार्जन पनि गर्नुपर्छ भनेर हामी समय समयमा मेनुलाई परिमार्जन गर्दै एउटा स्वादमा पुग्ने सोच छ”, निमेष मेनुलाई समिक्षा गर्नुको कारणबारे स्पष्ट पार्छन्।
मुख्खु किचनमा हाल दैनिक ५,००० बराबरको कारोबार हुन्छ।
तर, खानाको मूल्यमा भने मार्जिन कम राखिएको निमेश बताउँछन्। नयाँ स्वादको खानासँग मान्छेहरुलाई जोड्ने पहिलो पाइला भएका कारण पनि निमेश मुख्खुमा पाईने परिकारको मूल्य सस्तो र सुलभ राख्नु परेको बताउँछन्।
“हामीले अहिले कम मार्जिन राख्यौ भने नै त हाम्रो सेवा सबैको पहुँचमा पुग्छ,” उनी भन्छन्, “चर्को मूल्य राख्न साथ हाम्रा सेवा सबै सम्म पुग्न सक्दैन। बरु, मात्रा बढाउँछौ, मूल्य कमै राख्छौ।”
निमेशका अनुसार हाल मुख्खुमा उपलब्ध रहेका परिकारहरुमा मार्जिन २० देखि ३० प्रतिशतसम्म मात्र छ।
तर, के यति मार्जिनमा रेस्टुरेन्ट सञ्चालन गरिरहन सम्भव छ त?
निमेश चर्को मूल्य राखेर व्यवसाय गर्नु भन्दा सुलभ मूल्यमा धेरै व्यवसाय गर्नु बुद्दिमानी कदम हुने मान्छन्। उनी भन्छन्, “मलाई त बेच्दै नबेचि बस्नु भन्दा २० रुपैया कमाउनु पनि एक कदम अगाडी हुन्छ जस्तो लाग्छ।”
निमेशका निम्ति नयाँ व्यवसाय, कसरी हुन्छ काम?
अनुभवको पक्षबाट निमेशले रेस्टुरेन्टसँग सम्बन्धित, त्यसमा पनि खाना बनाउने पेशागत रुपमै काम विगतमा गरेका छैनन्। तर यसमा उनकी साझेदार पुनु सोभा महर्जनको पोख्तता छ। जसकारण मुख्खु किचनमा निमेश किचनभन्दा बाहिरका काममा ज्यादा संलग्न हुन्छन्। यी कामहरुमा सामाजिक सञ्जालमा बजारीकरण तथा त्यसको व्यवस्थापन गर्ने, अनलाईन अर्डर लिने तथा खाना डेलीभरि गर्ने लगायत पर्छन्।
पुनु सोभा भने किचनमा केन्द्रित छिन्। उनले होटल व्यवसायमा पहिल्यैदेखि अनुभव सँगालेकी छिन्। उनका श्रीमान पनि पेशाले सेफ हुन्। खाना बनाउने पेशागत अनुभव भएका कारण निमेष र पुनु सोभाबीच सहकार्यमा कामको विभाजन हुन्छ।
“स्टाफ भनेपनि सञ्चालन भनेपनि हामी नै छौं,” निमेश भन्छन्, “किचनको भाग उहाँको छ। डेलिभरिसँगै भाडा माझ्ने, सरसफाई गर्नेजस्ता काम म पनि आफैं गर्छु।”
स्वाद र गुणस्तरमा प्राथमिकता
आफू जुन पेशामा लाग्दा पनि पहिला त्यस पेशाभित्रका कमजोरीहरु पहिल्याउने निमेशको बानी छ। रेस्टुरेन्ट व्यवसायमा लाग्दा पनि उनले त्यो बुझेका छन्।
“रेस्टुरेन्ट वा खानासँग सम्बन्धित पेशामा सबैभन्दा प्रमुख कुरा भनेको स्वाद र गुणस्तर हो”, निमेश भन्छन्, “त्यसैले हामी स्वाद र गुणस्तरमा सम्झौता गर्न चाहँदैनौं।”
यसका लागि कच्चा पदार्थदेखि नै गुणस्तर कायम गर्नुपर्ने निमेश बताउँछन्।
मुख्खुमा पाईने विदेशी परिकार बनाउनका लागि आवश्यक सामग्री काठमाडौं उपत्यकाकै विभिन्न होलसेल पसलबाट ल्याउने गरिएको निमेश बताउँछन्।
“स्वाद नै मुख्य कुरा भएकाले सामग्रीमा विशेष ध्यान दिनुपर्छ,” उनी भन्छन्, “कति ठाउँमा उस्तै देखिने डुप्लिकेट सामानहरु सस्तो मुल्यमा पनि भेटिन्छन्। तर, तिनले स्वादमा फरकपना दिन्छ। त्यसैले पनि मौलिक सामान नै खोजेर ल्याउछुँ।”
निमेश स्वाद र गुणस्तरमा सम्झौता गर्न नहुने भएकाले मुख्खु किचन मार्फत खानाको जस्तै मौलिक स्वाद कायम गर्नमा ध्यान दिने बताउँछन्।
डेलिभरिको पनि सुविधा
आजको समयमा अनलाइनबाट खाना अर्डर गर्ने र त्यसलाई घरसम्मै पुर्याउने सुविधा हुनु कुनै पनि व्यवसायका लागि पर्यायजस्तै भएको छ। धेरै माध्यमबाट अहिले रेस्टुरेन्टहरु खानालाई घरसम्मै पुर्याउने सुविधा प्रदान गरिरहेका छन्।
मुख्खुबाट पनि यो सुविधा उपलब्ध रहेको निमेश बताउँछन्।
सुरुवातबाट नै मुख्खुले कालोपुल, रातोपुल र यस आसपासका क्षेत्रमा खाना घरमै पुर्याउने सुविधा सुरु गरेको छ।
“हामी सोसियल मिडिया र फोनबाट अर्डर लिने गर्छौं,” निमेश भन्छन्, “घरमा नै अर्डर गर्ने ग्राहक धेरै हुनुहुन्छ। त्यसैले पनि हाम्रो विषेश ध्यान होम डेलिभरिलाई राम्रो बनाउने पनि हो।”
निमेश स्वाभवैले नयाँ नयाँ विधा भिन्न भिन्न खोजहरु गर्न र नवीन अनुभव लिन उत्सुक रहन्छन्। उनी जे काम गर्छन् , त्यसमै आफूलाई सुम्पिन्छन्। उनले धेरै वर्ष फोटोग्राफी गरे पछि उनी पत्रकारितामा प्रवेश गरेको सम्झिन्छन्। पत्रकारितामा उनी जति वर्ष संलग्न भए, मात्र पत्रकारिता नै गरिरहे।
“म जुन विधामा लाग्छु, सत प्रतिशत मिहिनेत त्यही लगाउछुँ। अब म नयाँ व्यवसायमा लागिरहँदा पत्रकारिता पनि गर्छु भन्न सक्दिन”, उनी भन्छन्।
उनी मुख्खु किचन सुरु गरेयता पुर्ण रुपमा यसैमा समर्पित छन्। नयाँ व्यवसायबाट भैरहेको कामबाट सन्तुष्ट छन्। र नयाँ यात्राको नयाँ अनुभवहरु बटुल्न समेत उनी उत्तिकै उत्सुक छन्। भन्छन्, “हामी स्वादमा मात्रै नभएर व्यवसायलाई कसरी फरक बनाउने भनेर पनि नयाँ नयाँ सोचमा काम गरिरहेका छौं। आफैंले डेलिभरि गर्ने कुरा पनि यसैको एउटा भाग हो।”
उनका अनुसार रेष्टुरटेन्ट व्यवसायमा सबैभन्दा धेरै महत्व दिन पर्ने कुरा भनेको ग्राहकको सेवा र सन्तुष्टी हो। उनी भन्छन्, “कुनै सेवाको लागि कसैले खर्च गर्छ भने सेवाको गुणस्तर पनि कायम गरिनुपर्छ। यि कुरा नै यो व्यवसायमा पर्ने अनुशासन हुन्।”
युवराज भट्टराई पत्रकारिताका साथै साहित्यमा रुचि राख्छन्। अन्नपूर्णपोस्ट, नेपाललाईभ डट कम, क्लिकमान्डुलगायतका सञ्चारमाध्यममा काम गरेका उनले त्रिभुवन विश्वविद्यालयअन्तर्गतको आरआर क्याम्पसबाट पत्रकारिता विषयमा स्नातक गरेका छन्।