नरभक्त राईको सुपारी तथा कागती खेती

आफ्नो क्षेत्रलाई कागतीमय बनाउनको निम्ति उनले आफ्ना छिमेकी साथी-भाईलाई कागतीका बेर्ना उपलब्ध गराउनको साथसाथै प्राविधिक सहयोग पनि गरेका छन् ।
Image Source: Amada44 on Wikimedia Commons

यो कथा नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत कृषि विभागको वेबसाइटमा वि.सं. २०७७ फाल्गुन ७ गते प्रकाशित भएको हो ।


 

वैदेशिक रोजगारीको लागि कतार र साउदीमा ८ वर्ष बिताएका लेटाङ-९, मोरङ निवासी नरभक्त राईलाई आफू विदेशमा रहँदा आफ्नो बारी बाँझो रहेको अवस्था चित्त बुझेन ।  नेपालमै बसेर कृषि पेशा गर्ने जोश उनीभित्र पलायो । 

विदेशबाट फर्केपछि उनले २ विघा १ कठ्ठा क्षेत्रफलमा फैलेको आफ्नो पुर्ख्यौली जमिनमा कागती तथा सुपारी खेती गर्ने निधो गरे । 

आफ्नो छिमेकी विनोद वस्तीको सहयोगमा कागतीको बेर्ना लिई खेती शुरु गरेको र उनी सँगै बजारको पनि अध्ययन गरिरहेको बताए । हाल नरभक्तसँग कागतीको साथसाथै सुपारीका ५१० वटा बोट पनि छन् । यी बालीको उत्पादन लिन केही वर्ष लाग्ने भएकोले हालसालै कुनै नाफा नभएको तर भविष्यमा यस पेसाबाट आम्दानी राम्रो हुने कुरामा उनी विश्वस्त छन् ।

पहिले-पहिले उक्त बारीमा धान तथा मकै खेती गर्ने गरेको र यसको उत्पादनबाट कुनै नाफा नभएको हुँदा केही पृथक गर्ने सोचले सुपारी तथा कागती खेती शुरु गरेको उनी बताउँछन् । 

भविष्यमा आफ्नो उत्पादनलाई स्थानीय बजारमा भन्दा पनि बाहिर बजारीकरण गर्ने उनको लक्ष्य रहेको छ र सोहिअनुसार बजारको अध्ययन पनि गरिरहेका छन् । आफ्नो क्षेत्रलाई कागतीमय बनाउनको निम्ति उनले आफ्ना छिमेकी साथी-भाइलाई कागतीका बेर्ना उपलब्ध गराउनको साथसाथै प्राविधिक सहयोग पनि गरेका छन् ।

खेती शुरु गर्दा सबैले उनलाई “ल यो बौलायो, खेतीपातीमा धेरै लगानी गर्यो” भन्थे । तर, अहिले कागतीको उत्पादनको शुरुवात देखेर सबै जनाले “हामीलाई पनि खेती गर्न सहयोग गर्नुस्” भन्ने गरेको उनी बताउँछन् । हाल उनलाई परेको समस्यामध्ये सिंचाई प्रमुख रहेको छ ।

विदेशमा गर्ने मिहिनेत यहीँ गर्ने हो भने परिवार र साथीभाइसँग बसेर स्वतन्त्र रुपमा कृषि व्यवसाय गरी त्यहाँ जतिको आम्दानी यहाँ नै कमाउन सकिने भनि अन्य विदेशमा जान लागेका साथीभाइलाई उनी सम्झाउने गर्छन् ।