काठ र फलाम: आफ्नो सिकर्मी व्यवसाय रूपान्तरण गरिरहेका एक युवा उद्यमी

"मानिसहरू आफ्नो कल्पना, पसिना र श्रम योगदान गरि आँफैले सिर्जना गरेको वस्तुसँग भावनात्मक रूपले जोडिन्छन्।"
श्री बराहक्षेत्र फर्निचर एण्ड ग्लास हाउस | तस्बिर : पवन अधिकारी

काठमाडौँको सरस्वतीनगरमा सडक छेउ एउटा सानो कुनामा एक बाबुछोरा संचालित फर्निचर व्यवसाय श्री बराहक्षेत्र फर्निचर एण्ड ग्लास हाउस रहेको छ। दुई ठूला घरहरूको बीचमा सडक तह भन्दा तल रहेको यसको कार्यशाला आफ्नो वरिपरि उठेको ठूला संरचनाहरुमाझ गर्वका साथ उभिएको छ।

,५०० वर्गफिटमा फैलिएको यसको भवनमा एक कार्यलय, कार्यशाला, भान्सा, हालै थपिएको एक फलाम सम्बन्धि कारखाना रहेको छ।

यस व्यवसायको नेतृत्वमा रहेको २९ वर्षीय इथन भुजेलसँगको अन्तर्वार्ताको आधारमा यो कथा तयार पारिएको हो।

केहि वर्ष सिकर्मीको काम गरेपछि इथनका बुबा चन्द्रबहादुर भुजेलले २०६१ सालमा रु. २५,००० मा यो व्यवसाय खरिद गरेका थिए। झण्डै दुई दशकयता बराहक्षेत्र फर्निचरले गत आर्थिक वर्ष रु. ४० लाख भन्दा बढीको कारोबार गर्न सफल रहेको छ।

आफ्नो बुवासँग इथन

व्यवसायमा इथनको सक्रिय सहभागिता चार वर्षअघि सुरु भएको थियो। अहिले बुबा-छोरा संयुक्त रूपमा व्यवसाय संचालन गरिरहेका छन्।

कार्यशालाको दैनिक कार्यहरूको निरीक्षण गर्ने जिम्मेवारी इथनका बुवाको रहेको छ भने उनी चाँही ग्राहकसँग अन्तरक्रिया, साईट भ्रमण र डेलिभरीहरूमा कुदिरहेका हुन्छन्। व्यवसायको पूर्ण जिम्मेवारी आफ्नो काँधमा लिँदै गर्दा इथन यसलाई नयाँ दिशामा लैजाने महत्वाकांक्षाका साथ अघि बढिरहेका छन्।

 

डिजिटल मार्केटिङ अँगाल्दै

व्यवसायहरूलाई नयाँ पुस्ताका ग्राहकहरूसम्म पहुँच पुगाउन डिजिटल मार्केटिङ र सामाजिक सञ्जालको सम्भाव्यतालाई बुझेर इथनले ढिला नगरी आफ्नो व्यवसायको अनलाइन उपस्थिति बनाउन लागिपरे। ग्राहक र व्यवसाय, दुवैका लागि प्रयोग गर्न सहज हुने भएकाले उनि विशेष रूपमा फेसबुक मार्केटप्लेसमा सक्रिय छन्। “यसमा सम्भावित ग्राहकहरूले उत्पादनहरु देख्ने र सिधै कुराकानी गर्न मिल्ने हुन्छ। उत्पादनहरू पनि त्यहाँ धेरै संख्यामा मानिसहरूले देख्न सक्छन्”।

हाल हुने बिक्रि र अर्डरहरुको ठुलो अनुपात फेसबुक मार्केटप्लेसबाट आउने गरेको उनि बताउँछन्।

इथनको फेसबुक मार्केट्प्लेस यहाँ हेर्नुहोस्

 

नवीनताले भिन्नता

इन्टरनेटको विशाल रंगमंचमा पाइने विश्वव्यापी डिजाइनहरूबाट प्रेरणा लिएर उनि त्यसलाई आफ्नो उत्पादनहरुमा समावेश गर्ने प्रयास गर्छन। कुनै विशेष डिजाइनको बजारी सफलताको आधारमा त्यसलाई निरन्तरता दिने गरेका छन्। ‘लाइभ एज’ फर्निचर (फर्निचरको डिजाइनमा काठको प्राकृतिक किनारा समावेश गरेर बनाईने एक शैली) मा हासिल गरेको सफलता यसैको एक उदाहरण हो।

हुन त केहि स्थापित निर्माताहरू लाइभ एज डिजाइनमा काम गरिरहेका भए पनि उच्च लागतका कारण यसको बजार सीमित, र ग्राहकवर्ग पनि सम्पन्न व्यक्ति र प्रतिष्ठानहरु मात्र रहेको अवस्था थियो। यस परिदृश्यमा इथनले यसको लागत घटाएर सामान्य ग्रहाकहरुका लागि किफायती बनाई यसलाई अझ फराकिलो बजार दिन सफल रहे।

लाईभ एज टेबल र बेन्च। तस्बिर: बराहक्षेत्र फर्निचर एंड ग्लास हाउस

बौद्धको एउटा क्याफेले लाइभ एज फर्निचर बनाउन उनको कार्यशालासँग सम्पर्कमा आएपछि उनले पहिलो पटक यसमा काम गरेका थिए, र यसबाट उनलाई राम्रो नाफा पनि भएको थियो। यद्यपि, यसले उनलाई एक बहुमुल्य पाठ पनि सिकायो। काठ पर्याप्त रूपमा नसुकेको हुनाले उत्पादन पछि पसाङ्गिन थाल्यो, र ब्रेस लगाएर मर्मत गर्नुपर्ने भयो। गल्तिहरुका बावजुद इथन यस अनुभवलाई अमूल्य ठान्छन्।

“समस्याहरु आएपनि मैले यसबाट पाएको अनुभव र पाठले गर्दा यो सार्थक थियो”, इथन सम्झन्छिन्।

लगभग २०% परियोजनाहरूमा समस्या र त्रुटिहरू हुने जोखिम रहेको उनि बताउँछन्। खरिद गरेको काठमै पनि कुनै-कुनै बिग्रेको पर्ने हुँदा चुनौतीहरु थपिन्छन्।

“सिकर्मी व्यवसायमा यस्तो हुने गर्छ। ठूलो मात्रामा कारोबार गर्दा केहि काठमा आन्तरिक त्रुटिहरू हुने गर्छन् जुन काठ चिरेपछि मात्र देखिन्छ” उनी बुझाउँछन्।

 

ग्राहक केन्द्रित सेवाले मन जित्दै

वैदेशिक रोजगारीमा सेल्स र मार्केटिङमा काम गर्दा बटुलेको अनुभवका कारण इथनले ग्राहक सेवाको महत्व राम्ररी बुझेका छन्। ठूलो परिमाणमा काम गर्दा त्रुटिहरू हुने कुरा स्वीकार गर्दै केही घाटा बेहोर्नु परे पनि उनि ग्राहकको विश्वास जित्नु उनको प्राथमिकता रहन्छ ।

एकपल्ट जब उनको ग्राहकहरुमध्ये एकजानाको टेबल पसाङ्गिएपछि उनले त्यसलाई एक नयाँ टेबलसँग सित्तैमा साटिदिए। तिनै ग्राहकले पछि उनलाई रु. २५०,००० भन्दा बढीको कामका लागि उनलाई सिफारिस गरे।

उत्कृष्ट ग्राहक सेवा प्रतिको प्रतिबद्धताले इथनले आफूलाई एक विश्वसनीय निर्माताको रूपमा स्थापित गरेको। यहि चिनारीले गर्दा उनले थप सिफारिस र बिक्रि पाएका छन्।

 

परिवर्तनशील व्यवसायिक परिदृश्यसँग समायोजन

तस्बिर: बराहक्षेत्र फर्निचर एंड ग्लास हाउस

उपभोक्ताहरूको रुचि आधुनिक मोड्युलर डिजाइनका फर्निचरमा बढ्दै जाँदा आतिथ्य क्षेत्रमा भने काठप्रतिको चासो फिरेको इथन देख्छन्। यी प्रवृत्ति ध्यानमा राखी उनले समकालीन डिजाइनहरुमा काम गर्न थाले। परम्परागत रूपमा काठ मात्रले बनाईने फर्निचरमा फलाम समायोजन गरि गुणस्तर र किफायति उत्पादन बजारमा ल्याई उपभोक्ताहरुलाई आधुनिक, दिगो, र सस्तो विकल्प दिन उनि सफल रहेका छन्।

नेपाली जनताको सुधरिँदो क्रयशक्ति, आर्थिक गतिविधिहरू विस्तार, र उपभोक्ताले प्लास्टिक र धातुका भन्दा काठको फर्निचर मन पराउने भएकाले व्यवसाय बढ्दै जाने कुरामा इथन निर्धक्क छन्।

 

मानव संसाधन र अनुपालन

बदलिदा नियमहरूलाई ध्यानमा राख्दै इथनले अनुपालन प्रयासहरु जारि राखेका छन्।

कार्यशालामा हाल दुई अनुभवी मिस्त्री सहित १२ तलबी कामदारहरू कार्यरत छन्। उचित सुरक्षा व्यवस्था र प्रक्रिया अपनाउनुपर्ने आवश्यकता महसुस गरे पनि आर्थिक अभाव र त्यस्तो कार्य-संस्कृतिको नभएका कारण साना व्यवसायहरू पूर्णरूपमा अनुपालनमा रहन गाह्रो रहेको उनको टिप्पणी छ। उदाहरणको रूपमा, हालसालै कार्यन्वयनमा ल्याईएको सामाजिक-सुरक्षा कोष लागि उनले गरेका प्रयास कामदारको आफ्नो हिच्किचाहटका कारण अघि बढ्न नसकेको उनि बताउँछन्।

“कामदारहरू आफैलाई यी कार्यक्रमहरूले प्रदान गर्ने फाइदा र सुरक्षा बारे सचेत छैनन्। आफ्नो आम्दानीको निश्चित रकम कोषमा जम्मा गर्नुपर्ने भएकाले उनीहरू यसमा चासो राख्दैनन्। तलबबाट पैसा काट्नु भन्दा बरु पूरै पैसा आफैले राख्न चाहन्छन् ” उनले भने।

यद्यपि उनले आगामी दिनमा आफ्ना कामदारहरुको सामाजिक सुरक्षा कोषमा ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।

फलाम कार्यशाला

 

भावी योजना

आफ्नो व्यवसायको सन्दर्भमा बदलिँदो सामाजिक र कानुनी अवस्थाहरूकोबीच इथनको ध्यान सर्वप्रथम त आफ्नो कार्यशाला आवासीय क्षेत्रहरूबाट टाढा सार्नमा रहेको छ। कार्यशाला स्थानान्तरण गर्न सम्भावित क्षेत्रहरू खोजिरहेको, र भक्तपुरको थलीमा हालको कार्यशाला क्षेत्र भन्दा दोब्बर ठूलो जग्गा भाडामा लिने सम्झौता गर्न मानिसहरूसँग सम्पर्कमा रहेका छन्।

कार्यशाला

सुरक्षा दिगोपनमा ध्यान केन्द्रित गर्दै, उच्च सुरक्षा विशेषता भएका नयाँ मेसिनरीहरू, ध्वनिप्रूफिंग, कार्यस्थल व्यवस्थापनमा लगानी गर्ने उनको सोच रहेको छ।

यातायात शुल्कमा प्रति महिना रु. ५०,००० भन्दा माथि खर्च गरिरहेका इथनको तात्कालिक योजनाहरुमा व्यवसायका लागि आफ्नै गाडी खरिद गर्नु पनि रहेको छ। आफ्नै गाडी भएपछि ग्राहकहरूलाई निःशुल्क डेलिभरी सेवाहरू प्रदान गर्न सक्षम हुनुबाहेक ढुवानी लागतमा हुने बचतको परिणामस्वरूप उनीहरुलाई सामानको मूल्य पनि कम गर्न सकिने इथन बताउँछन्।

अलि पछि भने व्यवसायमा ग्राहकसहभागिता सुविधा ल्याउने योजना रहेको छन् जसअन्तर्गत सिकर्मी शिल्पमा उत्साही ग्राहकहरूलाई उनीहरूले बनाउन लगाएको फर्निचरको डिजाइन निर्माणमा स्वयम् काम गर्न पाउनेछन्। धेरै ग्राहकहरूले उनीहरुले दिएको अर्डरमा आफै काम गर्न अनुरोध गर्ने गरेको इथन बताउँछन्। 

“मानिसहरू आफ्नो कल्पना, पसिना र श्रम योगदान गरि आँफैले सिर्जना गरेको वस्तुसँग भावनात्मक रूपले जोडिन्छन्।”

ग्राहकहरुको लागि यसले विभिन्न अर्थ राख्न सक्छ: उनीहरूको रुचिको प्रदर्शन, आफ्नो परिश्रमको मूर्त रुप, उनीहरुको व्यक्तित्वको झलक। ग्राहकको सहभागिताबाट बनेको प्रत्येक समान विशेष हुन्छ जसमा ग्राहकको व्यक्तित्वको छाप रहन्छ।यसमार्फत हामीले ग्राहकलाई समान मात्र नभएर अनुभव पनि दिन सक्नेछौँ।

नयाँ पुस्ताका शिल्पकारहरु तयार गर्न किफायती शुल्कम तालिम प्रशिक्षण दिने उनको योजनाले काष्ठकारितालाई बढावा दिनप्रतिको उनको प्रतिबद्धता दर्शाउँछ।

चुनौतीहरू

सिकर्मी व्यवसायमा पनि आफ्नै चुनौतीहरु भने रहेका छन्।

सरकारको प्रतिबन्धात्मक नीतिहरुका कारण नेपालको ठुलो वनस्रोतका बावजुद घरेलु फर्निचर व्यवसायीहरुको कच्चा पदार्थको आवश्यकताको ठूलो हिस्सा आयातबाट आपुर्ति हुने गरेको जसको कारण फर्निचर कार्यशालाहरू महंगीमा पर्ने गर्दछन्।

यसबाहेक, फर्निचर बजार बढ्दै गए पनि स्वदेशी उत्पादनलाई विस्थापित गर्दै आयातित सामानले बजारको ठूलो हिस्सा ओगटेको छ। पछिल्लो दुई आर्थिक वर्षमा मात्रै नेपालमा काठ, धातु, प्लास्टिक अन्य सामग्रीबाट बनेका गरी रु. अर्ब ४० करोड रुपैयाँ बराबरको फर्निचर आयात भएको छ। आयातित वस्तुहरुसँगको प्रतिस्पर्धा स्थानीय उत्पादकहरूका लागि ठुलो चुनौती रहेको यसबाट थाहा हुन्छ।

 

सिकर्मी व्यवसायमा लाग्नेबारे

फर्निचर व्यवसायमा लग्न इक्छुकहरुका लागि इथनको सन्देश स्पष्ट : जोश, महत्वाकांक्षा, परिवर्तनप्रति खुलापन   नवप्रवर्तन प्रयोगात्मकताप्रति झुकाव।

अठोट दूरदर्शिता साथ, कष्टशिल्प माया गर्ने परिश्रमी व्यक्तिहरूको लागि यो एक आशाजनक क्षेत्र रहेको इथन देख्छन्।