मोरङमा सुजाता मगरको केरा खेती

वैदेशिक रोजगारीको शिलशिलामा २६ महिना कतार बसेर फर्केको सुजाता मगरले कृषिलाई आफ्नो मुख्य पेशा बनाएर हाल लेटाङमा व्यवसायिक रुपमा १३ रोपनीमा केरा खेती गरीरहेकी छिन्
Banana farm | Source: Image by AllaGuzenko from Pixabay | For Illustration Purpose

यो कथा कृषि विभागको वेबसाइटमा ७ फाल्गुन २०७७ मा प्रकाशित भएको हो।


कृषिलाई आफ्नो मुख्य पेशा बनाएकी लेटाङकी सुजाता मगरले हाल व्यवसायिक रुपमा केरा खेती गरीरहेकी छिन्। उनी वैदेशिक रोजगारीको शिलशिलामा २६ महिना कतार बसिन्। विदेश भनेपछि सब सुख सुविधा आराम होला भन्ने ठानेकोमा त्यहाँ गएपछी मात्र आफ्नो ठाउँको महत्व थाहा भएको उनको अनुभव छ। जति नै सुविधा भएपनि आफ्नो ठाउँको माया भने छुट्टै नै हुने रहेछ भन्छिन् उनी। बुवा विरामी भएको कारणले नेपाल आउँदा कम्पनीले बिदा दिएपनि उनी फर्केर भने गईनन्। उनले बरु आफ्नै देशमा बसेर जे भए पनि व्यवसाय गर्ने र आफ्नो परिवारको सेवामा जुट्ने सोच बनाईन्। सोही बेलामा युवा महिला सशक्तीकरण परियोजना अन्तरगतको कार्यक्रममा रोजगारीको अवसर पाईन् र चेतनामूलक कार्य गर्दै गर्दा भोटेनी महिला बचत तथा ऋण सहकारी संस्थासंग आवद्द भएर व्यवस्थापनको काम गरिन्। निश्चित अवधिको लागि मात्र गरिएका यी कामहरुको दौरान उनले तालिमहरु लिइन् र कृषि सम्वन्धि ज्ञान हाँसिल गरिन्।

जिल्ला कृषि विकास कार्यालयको सहयोगमा क्षेत्रीय कृषि तालिम केन्द्र झुम्कामा ३ महिने युवा स्वरोजकार तालिम पनि प्राप्त गरिन्। त्यस पश्चात १३ रोपनीमा केरा खेती गरिन्। लगानीको कमीको कारणले उनले वर्षेनी थोरै-थोरै गरेर क्षेत्र विस्तार गरिरहेकी छिन् र आगामी दिनमा पनि अझै विस्तार गरेर लैजाने उनको योजना छ। सिंचाईको अभावको कारणले टिस्युकल्चर प्रविधिको केरा खेती गर्न नसकेको र स्थानिय बेर्ना नै प्रयोग गरिरहेको जानकारी दिईन्। रोग-किराको समस्या, गुवा मर्ने, गवारो लाग्ने समस्याहरु छन्।

छर छिमेकमा उनी एक उदाहरणको रुपमा पनि परिचित भएकी छिन्। विदेश जान लागेका र फर्केर आएका युवाहरुलाई आफ्नै माटोमा विदेशमा गर्ने जति मिहिनेत गर्यो भने त्यहाँ भएको भन्दा बढी लाभ पाउन सकिन्छ उनी भन्छिन्।


 

कृषि विभागमा प्रकाशित

प्रकाशित मिति: २०७७/११/०७