मोरङमा राम कुमार मगरको सामूहिक प्राङ्गारिक खेती

वैदेशिक रोजगारीबाट फर्कीसकेपछि अन्य कृषकहरुले कृषि क्षेत्रमा सफलता प्राप्त गरेको देखेर आफूलाई यस क्षेत्रमा लाग्ने प्रेरणा मिलेको उनी बताउँछन् ।
Image by Freepik

यो कथा कृषि विभागको वेबसाइटमा ७ फाल्गुन २०७७ मा प्रकाशित भएको हो।


वि.सं.२०५३ साल देखि २०६७ साल सम्म दुवई, कतार तथा ओमनमा लगभग १५ वर्ष वैदेशिक रोजगारीमा बिताएका राम कुमार पुलामी मगर स्वदेश फर्केपछि कृषि क्षेत्रमा केहि गर्नु पर्छ भनि गाउँका केही साथीभाइसंग मिलेर १ विघा क्षेत्रफलमा सामूहिक प्राङ्गारिक खेती शुरु गरेका थिए । लेटाङ्ग न.पा.-१ का वडा सदस्य राम कुमार  मगर स्थानिय प्राङ्गारिक कृषि समूहका अध्यक्ष पनि हुन् ।

आफूले व्यक्तिगत रुपमा ५ कठ्ठा क्षेत्रफलमा पनि प्राङ्गारिक खेती गरेका छन् । वैदेशिक रोजगारीबाट फर्कीसकेपछि अन्य कृषकहरुले कृषि क्षेत्रमा सफलता प्राप्त गरेको देखेर आफूलाई यस क्षेत्रमा लाग्ने प्रेरणा मिलेको उनी बताउँछन् ।

हाल उनीहरुले करेला, बोडी, टमाटर, काउली, आलु, भिण्डी आदि खेती गरी सामूहिक रुपमा नै बिक्री वितरण गर्ने गरेका छन् । सामूहिक खेती मार्फत वार्षिक प्रति व्यक्ति रु. २ देखि ३ लाख आम्दानी भईरहेको उनी बताउँछन् । सामूहिक रुपमा खेती गर्दा मूख्य रुपमा उत्पादन तथा बिक्रि वितरण गर्न कामदारको समस्या नहुने हुँनाले आफूहरु सामूहिक खेतीमा लागेको जानकारी दिए ।

महंगो बीउ विजन, प्राङ्गारिक मल पर्याप्त मात्रामा नपाउने र प्राङ्गारिक उत्पादनको बजारमा समस्या रहेको उनी भन्छन् । आफू जनप्रतिनिधी भएको नाताले र कृषि प्रतिको आफ्नो विशेष लगावको कारणले उनले आफ्नो स्थानिय क्षेत्रमा कृषि विकास सम्बन्धि विभिन्न कार्यक्रम संचालनको लागि जोड दिएका छन् र सामूहिक खेती प्रवर्द्भनको लागि विशेष व्यवस्था पनि गरेका छन् ।

“आफ्नै देशमा मिहिनेत गर्नु पर्छ, पसिना बगाउनु पर्छ, परिश्रमले फल अवस्य दिन्छ” भन्ने मान्यता राखी उनी अनवरत रुपमा कृषि पेशामा लागिरहेका छन् । जनप्रतिनिधि भई सकेपछि पनि कृषि पेशालाई व्यवसायिक रुपमा अंगालेका राम कुमार त्यस क्षेत्रका अन्य कृषकहरुको लागि प्रेरणाको श्रोत बनेका छन् ।


 

कृषि विभागमा प्रकाशित

प्रकाशित मिति: २०७७/११/

आर्थिक वर्ष

नेपालको आर्थिक वर्ष श्रावन १ (हालको वर्ष) देखि अर्को सालको अषाढ ३२ सम्म चल्ने गर्छ |

उद्यम सम्बन्धि समाचार/अपडेटहरू पाउनुहोस्। जानकार रहनुहोस्।

माइक्रो, साना र मझौला उद्यमहरूको लागि व्यापार जानकारी