सिरहाको महिला एकिकृत कृषि फार्म

८ बर्ष विदेशि भूमिमा काम गर्ने क्रममा, स्वदेशमा केहि गर्छु भन्ने सोच बोकेर सिरहामा फार्म संचालन गरिरहेको शलेन्द्रले तरकारी,दुध, फलफूल उत्पादन गरी फार्मबाट वार्षिक १०-१५ लाखको खुद नाफा कमाउछन् |
Vegetable farm | Source: Image by wiselywoven from Pixabay| For Illustration Purpose

यो कथा कृषि विभागको वेबसाइटमा १२ फाल्गुन २०७७ मा प्रकाशित भएको हो।


 

एस.एल.सी सकिएपछि परिवारको नाजुक आर्थिक कारणले गर्दा रोजगारीको सिलसिलामा २०६५ सालमा साउदी अरब जस्तो देशमा एयरपोर्टमा काम गर्न पुगेका औरही गा.पा.३, सिरहा निवासि ३२ वर्षिया शलेन्द्र यादव करिव ८ वर्ष विदेशि भूमिमा आफ्नो पसिना बगाए । त्यहाँ बस्दा ईजरायलबाट आएका कृषि विज्ञ टोलिको ज्ञान तथा आफन्तबाट प्रभावित भएर विदेशमा दु:ख गर्नुभन्दा स्वदेशमा नै गएर केहि गर्छु भन्ने सोच बनाएर पूनं. २०७३ सालमा आफनै देशमा फर्किए ।

मौरी पालन, माछा पालन, घाँसेबाली तथा गाई, बाख्रा सम्बन्धि तालिम समेत लिईसकेका उनले कृषि क्षेत्रमा नै केहि गर्ने उद्देश्यले ३० कठ्ठा आफ्नै जग्गा र थप ६० कठ्ठा जग्गा भाडामा लिएर  महिला एकिकृत कृषि फार्म दर्ता गरी कृषि व्यवसाय सुरु गरे ।

१० लाख स्वलगानी रहेको यस फर्ममा उनले बैङ्कबाट १० लाख ऋण र सरसापटबाट ३ लाख खर्चिएका छन् । जिल्ला कृषि विकास कार्यलय सिराहाबाट यादवले हाईटेकको लागि ५०% अनुदान समेत प्राप्त गरिका छन् । उनका अनुसार करिव २३ लाख भन्दा बढिको लगानि रहेको यस व्यवसायबाट २.५ टन तरकारी, १०० लि. दुध, फलफूल २ टन उत्पादन हुने गरेको छ जसबाट शलेन्द्रले ४५ लाखको बार्षिक कारोबार गर्छन् भने १०-१५ लाख खुद नाफा गर्न सफल भएका छन् ।

आगामी दिनहरुमा तरकारीको क्षेत्रफल विस्तार गर्दै जाने तथा नजिकको क्षेत्रमा आफ्नो स्टल खोली तरकारी बेच्ने भावि सोच बनाएको बताउने यादवले कृषि मेलाबाट रहर, टमाटर, गहूँ जस्ता बालीमा पुरस्कार प्राप्त गर्नुका साथै आफ्नो लगनशीलता र जिल्ला कृषि विकास कार्यलय सिराहको प्राविधिक र अनुदान सहयोगबाट आफू एक सफल कृषि व्यवसायिको रुपमा परिचित हुन सफल भएको बताए । यसरी उनी आफ्नो परिश्रम र मेहनतबाट ११ जनाको परिवारमा आर्थिक रुपमा सबल भएका छन् भने अरु १० जनालाई पनि रोजगारीको अवसार प्रदान गरी निकैनै प्रशंसनिय कार्य गर्दै आईरहेका छन् ।

यादव भन्छन्, “हाल विदेशिन लागेका कयौँ युवाहरुलाई जुनसुकै काम किन नहोस आफ्नो लगनशिलता र मेहनत आफ्नै देशमा खर्चिनुपर्छ भन्ने सन्देश दिन चाहन्छु । बेरोजगार युवाहरुलाई सिपमूलक कृषि प्राविधिक तालिम, सहुलियत ऋणको व्यवस्था तथा उचित बजार व्यवस्थापन गरि उनीहरुलाई सरकारले कृषिमा आकर्षित गर्न सक्छ ।”


 

कृषि विभागमा प्रकाशित

प्रकाशित मिति: २०७७/११/१२