पर्वतको धौलागिरी एकीकृत कृषि फार्म

लाल बहादुर हरिजन, ७ वर्ष कतारको ५ तारे होटेलमा सिभिल ईन्जिनियरिङ्ग डिपार्टमेन्टमा काम गरि १५ वर्ष अघि नेपाल फर्के र नेपालमै केही गर्नु पर्छ भन्ने उत्साह साथ सहकारी मार्फत कृषि व्यवसायमा काम गर्न थाले ।
Agro Farm | Source: Image by wirestock on Freepik | For Illustration Purpose

यो कथा कृषि विभागको वेबसाइटमा ७ फाल्गुन २०७७ मा प्रकाशित भएको हो।


 

पेशाले कृषि व्यवसायी भन्‍न रुचाउने ४० वर्षिया लाल बहादुर हरिजन नमूना व्यवसायिक कृषि सहकारीमा शिक्षा संयोजक तथा कार्यसमिति संस्थापक सदस्य हुन् । गृह जिल्ला बाग्लुङ्ग भएका हरिजन हाल कुष्मा-६, पर्वतमा बस्छन् ।

उनले वि.सं. २०७० सालमा नमूना व्यवसायिक कृषि सहकारी मार्फत पर्वत जिल्लामा हाइड्रोपोनिक्स, थोपा सिंचाई तथा अन्य आधुनिक प्रविधिको प्रयोग गरि हाईटेक तरकारी खेतीको शुरुवात गराएका थिए । उनले वि.सं. २०७५ मंसिरदेखि दुर्गालाल शर्मासँगको सहकार्यमा धौलागिरी एकीकृत कृषि फार्मको स्थापना गरेका छन् ।

कतारको ५ तारे होटेलमा ७ वर्ष सिभिल ईन्जिनियरिङ्ग डिपार्टमेन्टमा काम गरी उनी १५ वर्ष अघि नेपाल फर्केका थिए । त्यहाँ छँदा उनले विभिन्‍न भ्रमणहरुमा जाने अवसर पाए र पाइपमा गरिने खेती तथा हाईड्रोपोनिक्स बारे जान्‍ने अवसर पाए, जसले उनमा थप कौतोहुलता प्रदान गर्यो ।

कतारमा काम गर्दा उनले भारत, पाकिस्तान, इन्डोनेसिया तथा अन्य देशका मानिसहरुसँग काम गर्ने अवसर पाए । नेपालबाट आएको भएर उनले त्यहाँ आफूले अरु भन्दा फरक व्यवहार पाउँथे र पारिश्रमिक पनि निकै कम पाउँथे । यस्तो फरक व्यवहारको कारण नेपालमै केही गर्नु पर्छ भन्ने उत्साह आउँथ्यो जस अनुरुप नेपाल आएर उनले सहकारी मार्फत कृषि व्यवसायमा काम गर्न थाले । उनले तरकारी खेती सम्बन्धि विभिन्न तालिम लिएको तथा यू-ट्यूव तथा अन्य माध्यमबाट नयाँ-नयाँ कृषि प्रविधिहरु बारे सिकेको बताउँछन् ।

हाल उनले टमाटर, काँक्रा, माछा तथा कुखुरा प्रशोधन गर्ने एकीकृत व्यवसाय संचालन गर्ने योजना अनुरुप काम गरिरहेका छन् जसको कुल लगानी ५ करोड हुने उनी बताउँछन् । नेपालमा उनले पहिलो पल्ट वायोफ्लक्स प्रविधिबाट माछा पालन गर्न लागेका छन् जस अनुसार १५ मिटर पेरिमिटरको ५० वटा वायोफ्लक्स ट्याङ्क मध्ये हरेकबाट ३००० किलो माछा उत्पादन गर्ने योजना उनको छ, जसमा २ लिटर पानीबाट १ केजी माछा उत्पादन हुन्छ। यो प्रविधि उनले भारतबाट सिकेका हुन् ।

यसैगरी हाइटेक टनेल बनाई त्यसमा भेडे खुर्सानी, गोलभेडा र साग उत्पादन गर्ने योजना बनाएका छन् । कुखुराको मासु प्रशोधन गर्ने व्यवसाय संचालन गर्नको लागि उनले वाग्लुङ्ग, बेनी र पर्वतका कृषकहरुलाई प्राविधिक सहयोग, कुखुराको दाना र  चल्ला उपलब्ध गराउने र अन्तिममा बजारिकरण गर्ने योजना पनि बनाएका छन्, जसमा कृषकले केजीको रु. ५० पाउँनेछन् । कृषकहरुलाई आधुनिक प्रविधि बारे जानकारी दिनको लागि तालिम हलको पनि व्यवसथा यस फार्ममा छ । उनको उपजहरुको बजार भने कुष्मा, बाग्लुङ्ग, बेनी र पछी मुस्ताङ सम्म हुने उनको सोच छ ।

उनी भन्छन्, कृषि हाम्रो जीवन हो । विहान उठेदेखि साँझसम्म हामीले जे प्रयोग गर्छौँ, त्यो कृषिको उपज हो । कृषिलाई घ्रिणित होइन सम्मानित पेशा बनाउँनु हाम्रो काम हो ।

उमेर छँदै आफ्नै देशमा बसी सोचमा परिवर्तन, अध्ययन तथा जोशजाँगरले कृषि र समग्र देशको विकास गर्न सकिन्छ भन्ने कुरामा उनी विश्‍वस्त छन् ।


 

कृषि विभागमा प्रकाशित

प्रकाशित मिति: २०७७/११/०७