कोरोना महामारीमा गाउँ फर्किएका चान सिंहले जन्माएको — कोदोको बिस्कुट

"मैले कोदोलाई लिएर खोज गरें। कोदो जस्ता उत्पादन त यहाँ खोज्ने हो भने थुप्रै भेटिन्छन्। फापर होला, आलु होला, जौं होला, चिन्न सक्नुपर्छ।" – चानसिंह श्रीस

चानसिंह श्रीस बाग्लुङ जिल्लाका साथै देशैभरमा “कोदोको बिस्कुट” बनाउने युवा व्यवसायीका रुपमा चिनिन्छन्।

३५ वर्षिय चानसिङले आफ्नै गाउँठाउँको स्थानिय उत्पादनलाई लिएर केही गर्नुपर्छ भन्ने सोचबाट जन्मिएको व्यवसाय अहिले नेपालमा मात्रै नभएर नेपालीहरु बसोबास गर्ने अन्य देशमा पनि ख्याती कमाउँदै छ।

उद्यमी बन्ने सपनामा कोभिडले दिएको साथ

बाग्लुङ जिल्लाको काठेखोला गाउँपालिका वडा नम्बर ८ का स्याथी बासिन्दा श्रीसको सपना चाटर्ड एकाउन्टेन्ट बन्ने थियो। तर, बाग्लुङबाट प्लस टुसम्मको अध्ययन सकिएपछि काठमाडौं आएका उनले पुतलीसडकस्थित शंकरदेव क्याम्पसमा बिबिएस भर्ना भईरहँदा आफ्नो पढाईले सिए बनिदैंन भन्ने लाग्न थालेको थियो।

“म सिएको पढाईकालागि सँगै लगिरहेको थिएँ। तर मेरो पढाईले सिए बन्न सक्दिनँ भन्ने लागेपछि पढाई छाडें। अनि मेरो सपना पनि अन्तै मोडियो”, श्रीस भन्छन्।

उनको उद्यम यात्राको सुरुवात भने रेस्टुरेन्टबाट सुरु भएको थियो। उनले बागबजार र डिल्लीबजारमा फरक फरक समयमा रेस्टुरेन्ट चलाएका थिए। उत्तरार्धमा बागबजारमा नै खाजा पसल सञ्चालन गरिरहेका उनलाई कोरोना महामारीका कारण भने आफ्नै गाउँ फर्किनुपर्ने अवस्था सिर्जना भयो। 

व्यवसाय ठप्प थियो। कुनै पनि कुरा पुर्वानुमान गर्नसक्ने अवस्था थिएन्। महामारीको समयमा काठमाडौं बस्ने अधिकांश अनिश्चितताका कारण शहर छाडेर गाउँ गएका थिए। श्रीसले पनि आफ्नै गाउँ जाने सोच बनाए।

उनी गाउँ फर्किए।

महामारी सकिएपश्चात काठमाडौं छाडेर जाने धेरै जना पुन: राजधानी शहरमै फर्किए। श्रीस भने गाउँमै रहें।

उनलाई गाउँमा नै बाँध्ने कारण बन्यो, “कोदोको बिस्कुट”।

बाग्लुङमा श्रीसको गाउँपालिकाका स्थानीय किसानका उत्पादनहरुमा बजारीकरणको अभाव थियो। त्यहि अभावका कारण धेरै किसानहरुले उत्पादन भएको कोदोको राम्रो बजार पनि पाएका थिएनन्।

“त्यो सबै देख्दा मलाई स्थानीय स्तरमा रहेका स्रोतहरुको प्रयोग गरी उत्पादनमा आधारित काम गर्नुपर्छ भन्ने लाग्यो। आफ्नै गाउँठाउँमा पाईने कच्चा पदार्थलाई प्रयोग गर्ने गरि कोदोको बिस्कुट सुरु गरे,” श्रीस भन्छन्।

श्रीस काठमाडौंको पुतलीसडकस्थित शंकरदेव क्याम्पसमा बिबिएस पढ्दै गर्दा प्रशिक्षणकालागि भारत पुगेका थिए। उनले त्यहाँ भारतमा विभिन्न उद्योग तथा स्थानीय उत्पादनहरुको बजारीकरण कसरी गरिँदो रहेछ देखे बुझे। स्थानीय उत्पादनसँग सम्बन्धित भएर पहिचान सिर्जना हुने गरि केही व्यवसाय गर्ने सोच त्यत्ति बेला नै श्रीसमा आईसकेको थियो। तर त्यसमा पनि के गर्ने भन्ने उनले निधो गरेका थिएनन्।

काठमाडौंमा अध्ययन र रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्दै रहेको समयमा उनले “गाजा इन्टरनेसनल इनभेस्टमेन्ट एन्ड रिसर्च सेन्टर” नामक कम्पनी दर्ता गराएका थिए। कोरोना महामारीभन्दा अघिबाट नै उक्त कम्पनीबाट कृषि उत्पादनमा देखिन सक्ने सम्भावनाबारे उनले खोज र अनुसन्धान गरिरहेका थिए।

बजारीकरणको अभावमा रहेको आफ्नै क्षेत्रको स्थानीय कोदो र त्यसलाई उत्पादन गर्ने किसानको अवस्था देखेपश्चात भने उनलाई कोदोको बिस्कुट बनाउने सोच आउन थाल्यो। कोरोना महामारीको समय त्यसमा थप स्पष्टता पनि आयो। एकातिर बजारमा सामान्यतय पाईने बिस्कुटहरुभन्दा स्वस्थ्य र पोशिलो, अर्कातिर बजार नपाईरहेको स्थानीय कच्चापदार्थको उपयोग पनि।

२०७७ देखि कोदोको बिस्कुटमा उत्पादन गर्ने सोचमा काम गरिरहेका चानसिंहले लामो समय व्यवसायिक संरचना बनाउनमा खर्चिए। ती संरचनामा बिस्कुट उत्पादनको निमित्त आवश्यक अनुसन्धानदेखि बजारमा ग्राहकले कस्तो स्वाद रुचाउँछन्, कसरी उत्पादन गर्ने, कस्ता मेसिन प्रयोग गर्ने, वितरण प्रणाली कस्तो बनाउने लगायत थिए। 

यी आधारभूत आवश्यकतालाई ध्यानमा राख्दै उनले लामो समय अनुसन्धान गर्दै प्रशिक्षणका रुपमा बिस्कुट निकाले। त्यसरी निकालिएको उत्पादनलाई धेरैले मन पनि पराए।

शहरको भिडभाडमा रहनुभन्दा आफ्नै गाउँठाउँमा रहेर गाउँका किसानको उत्पादन प्रयोग गर्दै आफ्नै स्थानीय पहिचान बोक्ने कुनै उत्पादन गर्नुपर्छ भन्ने उनको हुटहुटिको परिणामका रुपमा निस्कियो—कोदोको बिस्कुट।

“धेरै पटकको असफल परिक्षण पश्चात बल्लबल्ल बिस्कुटले स्वरुप पाउन थाल्यो। त्यसपछि हामीले बिस्तारै यसलाई बजारमा पनि ल्याउन थाल्यौ,” चानसिंह भन्छन्।

विसं २०८० सालबाट भने उनले आधिकारिक रुपमा नै “कोदोको बिस्कुट” ब्रान्डिङमा आफ्नो उत्पादनलाई बिक्री बितरण गर्न थाले। साना तथा घरेलु उद्योगका रुपमा नयाँ कम्पनी “गाजा बेकरी तथा बिस्कुट उद्योग” दर्ता गराएर उनले प्रक्रियागत र आधिकारिक रुपमा नै बिस्कुटलाई प्याकेजिङ गरेर बजारमा पठाउन सुरु गरेको झन्डै डेढ वर्ष भएको छ।

 

डेढ रोपनीमा फैलिएको उद्योग, १ करोड लगानी, मासिक १५ लाखसम्म कारोबार

उद्योगकालागि मेसिनदेखि संरचना सबै बनाउँदा चानसिङले करोड रुपैयाँभन्दा धेरै लगानी गरेको बताउँछन्। उद्योगको संरचना भने डेढ रोपनी क्षेत्रफलमा फैलिएको छ। उद्योग स्थापना गर्दा गण्डकी प्रदेश सरकारले पनि उनलाई अनुदानका रुपमा १० लाख रुपैयाँ सहयोग गरेको चानसिंह बताउँछन्।

उद्योगमा कोदोको पिठो बनाउनकालागि छुट्टै मेसिन, त्यसलाई मोल्नका लागि छुट्टै मेसिन, प्याकेजिङका लागि छुट्टै मेसिनहरु छन्। कुल वटा मेसिनहरु भएको उनी बताउँछन् सबै मेसिनहरु भारतबाट आयात गरेर ल्याएको छु। बजारमा माग बढेसँगै उत्पादन पनि बढाउनलाई थप संरचना मेसिन विस्तार गर्ने क्रम जारी नै छ।

उद्योगमा कामदारका रुपमा भने ८ जनाले रोजगारी पाईरहेका छन्।

हाल उद्योग पूर्ण रुपमा सञ्चालनमा छ। यद्यपी दुर्गम क्षेत्रमा उद्योग सञ्चालन गरिरहँदा चुतौनीहरु पनि कम नरहेको उनले अनुभव गर्न थालेका छन्। बाटो, बिजुलीको अनिश्चितता तथा अन्य पूर्वाधारका कारण केही असहजता उनका लागि पनि सिर्जना भएको छ। राज्यले कच्चा सामग्रीहरुको निश्चित मूल्य निर्धारण नगरिदिँदा पनि त्यसले समेत समस्या सिर्जना गरिदिने उनी बताउँछन्।

उद्योगहरुकालागि पनि चिनी र तेल जस्ता कच्चा मालको अलग व्यवस्था गरिनुपर्छ,” उनी भन्छन्,”हामी नेपालमा विदेशजस्तो भएन भन्छौं। विदेशमा जस्तै यहाँ पनि न्यूनतम र अधिकतम मूल्य निर्धारण गर्नुपर्छ जस्तो मलाई लाग्छ।

करोडभन्दा बढि लगानीमा खोलिएको उद्योगबाट हाल मासिक १२ देखि १५ लाख सम्मको कारोबार गर्ने गरेको चानसिंह बताउँछन्।

बिस्कुटको उत्पादनमा अन्य ठूला उत्पादनमा जस्तो धेरै मार्जिन नहुने बताउँछन् चानसिंह। उनी भन्छन् जति धेरै कारोबार गर्न सकियो, त्यति नै मार्जिन रहन्छ। मैले आफैंले कृषकबाट नै कच्चा पदार्थ ल्याउने भएकाले महँगो पर्दछ। यसकारण पनि बिस्कुटको मार्जिन कम बच्दछ। 

मधेशबाट तेल, पहाडको कोदो

चानसिङ आफ्नो बिस्कुटकालागि आवश्यक प्रमुख कच्चा पदार्थ कोदोकालागि आफ्नै गृह जिल्ला त्यस वरपरका अन्य जिल्लामा भर परेका छन्।

बिस्कुट बनाउनका लागि चाहिने तेलका लागि भने उनी मधेशका जिल्लाहरुमा आधारित छन्। नेपालकै स्वदेशी कच्चा पदार्थमा उनको विशेष जोड छ।

तस्बिर:
तस्बिर: कृषकहरुबाट कोदो सङ्कलन गर्दै चान सिंह श्रीस (दायाँबाट पहिलो)

 

कच्चा पदार्थ संकलनकालागि पनि उनी आफैं जाने गरेको बताउँछन्। भन्छन्, “म आफै कृषकहरुकोमा जान्छु, सरसामान एक ठाउँमा भेला पार्छु र आफ्नै सवारी साधनमा हालेर ल्याउने गर्दछु। आफ्नो बिस्कुट पनि चखाउन पाईन्छ, उहाँहरुको प्रतिक्रिया पनि लिन पाइन्छ।

सामाजिक सञ्जालबाट बजारीकरण, देश-विदेशसम्म पुर्याउने सपना

चानसिंहकोकोदोको बिस्कुटको बजारीकरणमा प्रमुख भूमिका सामाजिक सञ्जालले खेलेको छ।

उनी स्वय:ले सामाजिक सञ्जालबाट भरपुर प्रचारप्रसार गरेका छन् नै। उनले राखेका पोस्टहरुमा मात्रै नभएर ती तस्बिरलाई अन्यले समेत सेयर गर्ने तथा नयाँ पोस्टका रुपमा हालिदिने गर्छन्। कोदोको बिस्कुट नयाँ स्वादको हुने साथै रैथाने वस्तुबाट बनेको उत्पादन प्रति मानिसमा बढ्दै गएको रुचि तथा कारण पनि सामाजिक सञ्जालमा कोदोको बिस्कुटको प्रचारप्रसार धेरै हुने गरेको छ।

यी बाहेक भौतिक बजारीकरणको पक्षमा भने उनले बागलुङ, पोखरा, गुल्मी, चितवन, बुटवललगायतका क्षेत्रमा आधिकारिक बित्रेता राखेका छन्। यी बित्रेतामार्फत नै बिस्कुटको बितरण भइरहेको त्यसबाहेक खुद्रा रुपमा भने उनले देशव्यापी रुपमा आफ्नो बिस्कुटलाई पुर्याउनका लागि वितरण प्रणाली बिस्तार गरिरहेका छन्।

सामाजिक सञ्जालमार्फत विज्ञापन भएका कारण र वितरण प्रणाली बलियो बन्दै गएका कारण उनले व्यवसायिक प्रचारप्रसार सामग्रीमा भने चानसिंहले खर्च गरेका छैनन्। बरु आफ्नो उत्पादन नौलो भएका कारण उनि पछिल्ला समय विभिन्न कार्यक्रम तथा प्रदर्शनीहरुमा राख्ने गरेका छन्। उनी भन्छन्, “हालसालै चितवन महोत्सवमा पनि हामीले बिस्कुट राखेका थियौं।”

देशव्यापी रुपमा वितरण प्रणाली बिस्तार गरिरहेका चानसिंहलाई देशमा मात्रै सीमित हुनु भने छैन्। 

नेपाल बाहिर रहेको ठूलो जमातका साथै विदेशीलाई पनि लक्षित गरेर उनी अन्तर्राष्ट्रिय बजारमा पनि केन्द्रित हुँदै गएका छन्। पछिल्लो समय अस्ट्रेलिया र क्यानडामा कोदोको बिस्कुट नमुनाका रुपमा पुगेको छ।

चानसिंह आफ्नो व्यवसायबाट सन्तुष्ट छन्। कोदोको बिस्कुटको व्यवसाय गर्दै गर्दा उनलाई आर्थिक पाटो जे जस्तो रहे पनि, उनले कमाएको पहिचानले उनलाई निकै खुशी दिने गर्दछ। फरक ढङ्गले व्यवसाय गर्दा सबैले चिन्ने गर्छन् उनलाई। ग्राहकले बिस्कुट खाएपछि दिने प्रतिक्रियाले पनि उनलाई आनन्दित बनाउँछ।

आफ्नो व्यवसायमा जस्तै चानसिंहको चाहना भने स्थानीय स्तरमा पाइने स्रोत साधनलाई चिन्न सक्नुपर्छ भन्ने रहेको छ।

 “स्थानीय स्रोत साधन चिन्न सक्ने हो भने हाम्रो देश मै सम्भावना धेरै हुन्छ,” उनी भन्छन् “मैले कोदोलाई लिएर खोज गरें। कोदो जस्ता उत्पादन त यहाँ खोज्ने हो भने थुप्रै भेटिन्छन्। फापर होला, आलु होला , जौं होला, चिन्न सक्नुपर्छ।”

 


 

शिव खड्का अध्ययन, अनुसन्धान का साथसाथै खेलकुदमा रुचि राख्दछन्। उनले त्रिभुवन विश्वविद्यालयको केन्द्रीय विभागबाट सार्वजनिक नीति, शासन र भ्रष्टाचार निवारण अध्ययनमा स्नातकोत्तर गरेका छन्। हालसालै उनले स्थानीय तथा विद्युतीय सुशासन सम्बन्धी अध्ययन अनुसन्धान गरेका छन्। यसका साथ साथै विभिन्न समसामयिक विषय वस्तुहरूमा  लेख  रचनाहरू लेखन पनि गर्दछन्।