Nep
Eng
Nep
Eng

कपिलवस्तुमा बसन्त अधिकारीको च्याउ खेती

उनले ३ सिजनमा ३६ क्विन्टल च्याउ उत्पादन गरी प्रति के.जी. रु १४० मा बिक्री गरेका छन्, जसबाट वार्षिक ५ लाखको कारोबारमा रु २ लाख खुद नाफा भएको छ ।

यो कथा नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत कृषि विभागको वेबसाइटमा वि.सं. २०७७ फाल्गुन ७ गते प्रकाशित भएको हो ।


 

वि.सं. २०७५ मा ईजरायलबाट ११ महिने कृषि सम्बन्धी तालिम लिएर नेपाल फर्केका बसन्त अधिकारी अहिले आफ्नै गाउँ वर्दहवा, बाणगंगा-९, कपिलवस्तुमा व्यवसायिक कृषि गर्दैछन्। उनी र लखन थापा मगरको साझेदारीमा ‘हाम्रो बहुउद्देशीय कृषि तथा पशुपालन फार्म’ संचालनमा छ।

ईजरायलमा उनले पोष्ट हार्भेष्ट, प्लान्ट ब्रिडिङ्ग, वाली संरक्षण जस्ता १२ विभिन्न विधामा तालिम लिए। अधिकारी भन्छन्, “प्रविधिको सही प्रयोगले कृषि पेशा निकै फाइदाजनक हुन्छ।” यद्यपि, लगानी र उपयुक्त प्रविधिको अभावका कारण उनले सिकेका सबै कुरालाई तुरुन्तै व्यवहारमा उतार्न कठिनाइ भइरहेको छ। उनी आधुनिक च्याउ खेतीकृषि पद्धति अपनाउन र यसै पेशामा लाग्न दृढ छन्।

विज्ञापनहरू

नेपाल फर्केपछि अधिकारीले नेपाल कृषि अनुसन्धान परिषद (NARC) मा च्याउ खेती सम्बन्धी तालिम लिई ५ कठ्ठा भाडामा र ६ कठ्ठा आफ्नै जमिनमा  शुरु गरे। उनले कन्ये, पिङ्की र मिल्की च्याउ उत्पादन गर्दै बजारमा बिक्री गरिरहेका छन्। 

ईजरायलमा व्यवसायिक योजना बनाउने कला पनि सिकेका अधिकारीका अनुसार, च्याउ उत्पादनमा १ पोकाबाट २.५ के.जी. च्याउ उत्पादन हुन्छ, र यसमा १ के.जी. बराबरको खर्च लाग्छ। उनले ३ सिजनमा ३६ क्विन्टल च्याउ उत्पादन गरी प्रति के.जी. रु १४० मा बिक्री गरेका छन्, जसबाट वार्षिक ५ लाखको कारोबारमा २ लाख खुद नाफा भएको छ। हाल च्याउ व्यवसायबाट ४ जनाले प्रत्यक्ष रोजगारी र ८ जनाले सिजनल रोजगारी पाएका छन्। 

सहकारीबाट रु २.५ लाखको ऋण र रु २.५ लाखको स्व-लगानीबाट व्यवसाय शुरू गरेका अधिकारीले रु २.७ लाख पर्ने पराल बफाउने मेसिन ८०% सरकारी अनुदानमा पाएका छन्। 

अधिकारीले ३ कठ्ठामा NS1701 जातको खुर्सानी खेती पनि गरिरहेका छन्। खुला क्षेत्र भए पनि, ईजरायलमा सिकेको प्रविधि अनुरुप ड्याङ्ग बनाएर, नापेर, सुरक्षित विषादिहरुको सुरक्षित तरिकाले प्रयोग गरी खेती गरिरहेका उनलाई सिंचाईको निकै समस्या रहेको पनि बताउँछन्।

छोटो अवधिमा लगानी उठाउन सफल भएका अधिकारीले आफ्नो फार्मलाई अझै विस्तार गर्ने योजना बनाएका छन्। निकट भविष्यमा, १ विघा जग्गा भाडामा लिएर खुर्सानी, गोलभेडा, र बन्दाको खेती गर्ने उनको योजना छ।

आत्मविश्वास र दृढ संकल्पका साथ कृषि पेशामा लागेका अधिकारी भन्छन्, “शुरुमा घृणित पेशा जस्तो देखिने कृषिलाई ईजरायलको ११ महिने बसाइले मेरो सोच परिवर्तन गर्‍यो। ईजरायल जस्तो देशले कृषिमा यति प्रगति गरेको छ भने नेपालमा त झन धेरै सम्भावना छ।” 

अधिकारीका अनुसार हाल कृषि पेशामा लाग्नको लागि सरकारी स्तरबाट पनि धेरै सहयोग मिलिरहेको हुनाले मासिक २०-२५ हजार कमाउन खाडी जानु पर्दैन।

लेख सेयर गर्नुहोस्

विज्ञापनहरू
विज्ञापनहरू