फागुन २ गते जानकारीले वीरगंज उद्योग वाणिज्य संघ (वीउवा संघ) का वरिष्ठ उपाध्यक्ष हरि प्रसाद गौतमसँग उनको वीरगंज निवासमा भेटवार्ता गर्यो।
वीउवा संघमा गौतमले उद्योग समिति नेतृत्व गर्छन्। यस समितिको जिम्मेवारी वीरगंज-पथलैया औद्योगिक करिडोर र यस क्षेत्रका व्यवसाय तथा उद्योग समुदायको अधिकार र चासोलाई सुरक्षित गर्नु हो।
गौतमको दृष्टिमा नेपालको दर्जनौं शहरी केन्द्रहरूमध्ये वीरगंज उद्योग र व्यापारकोलागि सबैभन्दा ठूलो सम्भावना बोकेको छ, तर नीति निर्माणको कमजोरी र राज्यको उदासीनताका कारण गम्भीर चुनौतीहरूको सामना गरिरहेको छ।
वीरगंजका लघु, साना तथा मझौला उद्यमहरू (एमएसएमई) को वर्तमान अवस्था कस्तो छ?
वीरगंज लघु, साना तथा मझौला उद्यम (एमएसएमई) का लागि उपयुक्त भूमि हो, तर औद्योगिक विकासको अभाव छ। यहाँ ठूला उद्योग, व्यापार र सेवा क्षेत्रले समेत समुचित विकास पाउन सकेको छैन।
सन् १९९६ मा भारतसँग भएको व्यापार सम्झौतापछि डाबर, युनिलिभर जस्ता बहुराष्ट्रिय कम्पनीहरू यहाँ स्थापना भए। सुर्य नेपाल पहिले नै थियो। औद्योगिक वातावरण विस्तार हुँदै थियो। तर, माओवादी द्वन्द्वका कारण लगानी निरुत्साहित भयो, उद्योग संस्कृति ध्वस्त भयो। सरकारको ध्यान उद्योग प्रवर्द्धनमा भन्दा सुरक्षाका लागि हतियार खरिदमा केन्द्रित रह्यो।
आज पनि एमएसएमईकोलागि वीरगंजभन्दा राम्रो स्थान नेपालमा छैन। तर, सरकारले आवश्यक सहयोग नगरेकाले उद्योग स्थापना गर्न कोही इच्छुक छैनन्।
तपाईंको दाबीका आधार के छन्?
पहिलो, नेपालका कुनै पनि उद्योग सफल हुनका लागि यसको ४०% भन्दा बढि उत्पादन काठमाडौँमा खपत हुनुपर्छ। सबै उद्योगलाई सहज आपूर्ति केन्द्र आवश्यक हुन्छ। वीरगंज काठमाडौँको सबैभन्दा छोटोदुरीमा रहेको प्रवेशद्वार हो। निर्माणाधीन निजगढ फास्ट ट्र्याकले थप सुधारिएको पहुँच सुनिश्चित गर्नेछ।
दोस्रो, अन्तर्राष्ट्रिय व्यापारका लागि वीरगंज सबैभन्दा उपयुक्त सीमा नाका हो। यहाँ तीनवटा सुविधा सम्पन्न भन्सार कार्यालयहरू छन् — एकीकृत जाँच चौकी (आईसीपी), सिर्सिया सुख्खा बन्दरगाह, र सबैभन्दा पुरानो इनर्वा स्थित भन्सार कार्यालय। रक्सौल छिरेपछि, कोलकाता बन्दरगाहमार्फत संसारभरको जुनसुकै व्यापार गन्तव्यमा सजिलै पुग्न सकिन्छ।
तेस्रो, वीरगंजमा काठमाडौँको तुलनामा सस्तो जग्गा उपलब्ध छ, औद्योगिक संस्कार छ, र न्यून अशान्तिसहित पर्याप्त श्रमशक्ति छ। काठमाडौँमा औद्योगिक प्रयोजनका लागि जग्गा पाउन निकै कठिन पनि छ। यहाँ पानीको अभाव र बाढीको समस्या छैन, जुन काठमाडौँमा देखिन्छ। साथै, वीरगंजमा प्रदूषण पनि कम छ, जुन अर्को राम्रो पक्ष हो।
हाल वीरगंज औषधि र खाद्यान्न उद्योगहरूको केन्द्र बनेको छ। किन? किनकि यी उद्योगहरूको उत्पादन काठमाडौँमा सहज रूपमा आपूर्ति गर्न सकिन्छ। त्यसैले यो एउटा औद्योगिक सहर हो।
वीरगंजका एमएसएमईले अहिले सामना गरिरहेका नियामक तथा वित्तीय अवरोधलगायत प्रमुख चुनौतीहरू के हुन्? कोभिड-१९ महामारीले यस क्षेत्रका उद्योगहरूमा कसरी प्रभाव पार्यो?
कोभिडपछि आर्थिक सङ्कटकाल सिर्जना भयो, जसमा देशसँग केवल छ महिनाका लागि आयात गर्न पुग्ने डलर सञ्चिति मात्र थियो। यस अवस्थामा सरकारले निषेधात्मक नीति लियो — उद्योगहरूलाई कच्चा पदार्थ किन्न आवश्यक डलर उपलब्ध गराएन र अस्थायी रूपमा लेटर अफ क्रेडिट (एलसी) सेवा निलम्बन गर्यो। साथै, मेसिनरी पार्ट्स आयात गर्न एलसीमा ११०% शुल्क लगाइयो।
उद्योगीहरू निश्चित स्रोत र योजनाअनुसार अघि बढ्छन्। कोभिडका समयमा उद्योगीहरूले थप ऋणका लागि आवेदन दिए। नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार बैंकहरूले ‘चालु पुँजी ऋण’ सम्बन्धी परिपत्र जारी गरे, जसअनुसार उद्योगीहरूलाई उनीहरूको चालु पुँजी अनुरूप थप ऋण उपलब्ध गराइने तर सोही समयमै पहिलाको ऋण तोकिएको मितिभित्र तिर्न बाध्य पार्ने नीति लागू गरियो।
यसले गर्दा उद्योगीहरू व्यवसायलाई स्थिर बनाउनेभन्दा ऋण घटाउने उपाय खोज्न बाध्य भए, जसकालागि जग्गा, शेयर, सुन तथा नगद जस्ता स्रोतहरू प्रयोग गर्नुपर्यो।
पछिल्ला पाँच वर्षदेखि जग्गा कारोबार सुस्ताएको छ, जुन अहिलेसम्मकै सबैभन्दा लामो समय हो। शेयर बजार केही समय त बढ्यो, तर यो भरपर्दो छैन। त्यसमाथि, धेरै व्यवसायीहरूले उच्च ब्याज पाउन सहकारी संस्थाहरूमा पैसा राखेका थिए, तर ती सहकारीहरू पनि डुबे।
समग्रमा उद्योगहरू सञ्चालन हुन सकेनन्, जसले उत्पादनमा गिरावट ल्यायो। उत्पादन भएको सामान बजारमा माग अभावका कारण बिक्री हुन सकेन, र बैंकहरूले कडा नीतिहरू लागू गरे।
दुई वर्षपछि मात्र सरकारले आफ्ना नीतिगत गल्ती महसुस गर्यो, तर तबसम्म उद्योगीहरूको आत्मविश्वास गुमिसकेको थियो। यसकै कारण, कोभिडपछि नेपालको औद्योगिक वातावरण झनै खस्कियो।
एमएसएमईहरूलाई सहयोग गर्न वीउवा संघले कुन प्रमुख पहलहरू अघि सारेको छ, जसमध्ये वित्तीय सहायता, तालिम र बजार सम्पर्क विकासका प्रयासहरू के के छन्?
वीउवा संघमा लघु उद्यम विकास कोष (एमईडीएफ) छ। यस कोषमार्फत हामी व्यवसायसम्बन्धी प्राविधिक ज्ञान प्रदान गरी ‘लेम्यान’लाई व्यवसायी बन्न सहयोग गर्छौँ। साना व्यवसायहरू जस्तै मोटरसाइकल वर्कसप र प्लम्बिङ जस्ता काम सुरु गर्न तालिम दिन्छौँ।
तर, स्रोतसाधन अभावका कारण हामी धेरै गर्न सकेका छैनौँ।
वीरगंजका एमएसएमईले पर्याप्त वित्तीय पहुँच पाउँछन् कि पाउँदैनन्, र कर्जा उपलब्धता सुधार गर्न के कदम चाल्न सकिन्छ?
पाउँदैनन्। केवल सीमित व्यक्तिहरूलाई मात्र बैंकका उपलब्ध कर्जा सुविधाहरूको पहुँच छ।
बैंकहरूले आफ्नो कम्फर्ट जोनबाट बाहिर निस्केर, भनौँ १०० जना, आकांक्षी उद्यमीहरूलाई सशक्त बनाउने जस्ता नयाँ र क्रियाशील कार्यक्रमहरू डिजाइन गर्ने प्रयत्न गर्दैनन्। तीमध्ये ५० वटा व्यवसाय पाँच गुणा बढ्न सक्थे, २० वटा व्यवसाय दुई गुणा, १० वटा ब्रेक इभेनमा पुग्थे र १० वटा घाटामा जान्थे। तर वास्तविकता यस्तो छैन।
उदाहरणको लागि, म कहाँ काम गर्ने एक जना व्यक्तिले आफूलाई एउटा इभी गाडी चलाउने इच्छा व्यक्त गरे, किनकि यसले राम्रो आम्दानी हुने सम्भावना बोकेको थियो। मैले पनि हिसाब गरे कि पाँच वर्षको अवधिको लागि उपलब्ध हुने गाडी कर्जा तीन वर्षमा तिर्न सकिन्छ यदि गाडी चलाउने सेवा राम्ररी सन्चालनमा रहन्छ भने।
कर्जा लिनका लागि, वित्तीय संस्थाले उनको मासिक आय रु १ लाख ६० हजार हुनुपर्ने माग गर्यो। मैले उनको मासिक आय रु २०,००० प्रमाणित गर्न सक्थे, जसमा उनी १% कर तिर्छन्, तर उनले त्यति धेरै आम्दानी देखाउन कसरी सक्छ? त्यसैले उनले कर्जा अरुकै नाममा लिए। अब त्यो व्यक्ति जोखिममा हुन्छ यदि कुनै अनिष्ट घट्यो भने। बैंक कर्जा साधारण व्यक्तिहरूको लागि पहुँच योग्य छैन।
तपाईंले उल्लेख गर्नुभएको समस्याहरूको समाधान के हुन सक्छ?
राज्यले ठूला सुधारहरू गर्नुपर्ने हुन्छ, जसमा सुशासन एक हो। नीतिनियमहरू व्यवसाय अनुकूल र औद्योगिक संस्कृतिलाई प्रवर्द्धन गर्ने खाले हुनुपर्छ। सरकारले बिजुली, पानी, सुरक्षा, पहुँचयोग्य ऋण सुविधा जस्ता सबै आवश्यक सुविधाहरू सहितको औद्योगिक क्षेत्रहरू निर्धारण गर्नुपर्छ।
त्यसका साथै, कृषि अझै पनि वीरगंज र देशको लागि राम्रो अर्थतन्त्रको मार्ग हो। त्यसका लागि, यसलाई यान्त्रिक र व्यवसायिक बनाउनु पर्छ। भनौँ, एक किसानले एक बिघामा फैलिएको खेतबाट आफ्नो चार जनाको परिवारलाई पालन पोषण गर्न सक्षम हुनुपर्छ। सन्तानलगायत परिवारको वर्तमान र भविष्य कृषि कर्मबाट सुरक्षित हुनसक्छ भन्ने विश्वास हुनुपर्छ, किसानमा।
तर राज्यले कृषि क्षेत्रलाई उपेक्षित नै गरेको छ, सघाउने कार्य गर्न असफल भएको छ।
अन्तिममा, तपाईंलाई भन्न मन लागेको कुरा केही छ?
गरी खानेले गरी खान पाओस्!