पोखरा महानगरपालिका वडा नम्बर २७ स्थित तालचोकमा छ- सत्यदेवि कपास उद्योग। लत्ताकपडाको पुन: प्रयोगलाई मुख्य सिद्धान्त मानेर केशव रानाभाटले यो उद्योग सञ्चालनमा ल्याएको ७ वर्ष भयो।
कृषि क्षेत्रलाई व्यवसायिकतासँग जोड्दै आफ्नो पेशागत यात्रा सुरु गरेका रानाभाटले २०७४ मा सत्यदेवि कपास उद्योगको स्थापना गरे। एक रोपनीको क्षेत्रफलमा फैलिएको उनको उद्योगमा १० जना कामदारले रोजगारी पाईरहेका छन् ।
“गाउँघरमा फालिएका कपडाहरुलाई लिएर कपास बनाउने गरि मैले काम सुरु गरें,” रानाभाट आधा दशकअघिको समय सम्झिन्छन्, “त्यहि सेवालाई विस्तार गर्दै बागलुङ, स्याङजा, अर्घखाँची, गुल्मी, तनहुँ, लमजुङजस्ता ठाउँमा पनि सेवा वस्तार गरेर काम गरिरहेका छौं।”
कृषक पृष्ठभूमि, कृषिसँगै सम्बन्धित व्यवसाय
रानाभाटको व्यक्तिगत जीवन पहिल्याउँदा कृषि सदैव उनीसँगै जोडिन्छ।
उनी कृषक परिवारमा नै जन्मिए। हालको पोखरा महानगरपालिका वडा नम्बर ३३ लामगादीका उनको परिवारको मुख्य पेशा नै कृषि थियो। र छ पनि। उनले सम्झँदा १३ वर्षको उमेरबाट नै उनी डोकोमा सागको मुठा राखेर बेच्न बजार जान्थे।
“सानैबाट कृषि नै आफ्नो व्यवसाय हो भनेर घरमा उत्पादन हुने तरकारीहरु बेच्न बजार गईन्थ्यो,” रानाभाट भन्छन्, “त्यतिबेला बाल्यकालमा पनि कृषिसँग आफू जोडिएको लाग्थ्यो। अहिले पनि कृषिसँगै सम्बन्धित काम गरिरहेको छु।”
रानाभाटले कपास उद्योग सुरु गर्नुअघि कृषि क्षेत्रसँगै सम्बन्धित व्यवसायहरु गरे। २०६९ बाट उनले ट्याक्टर र थ्रेसर (धान झार्ने कृषि यन्त्र) किनेर व्यवसायको थालनी गरेका थिए।
कपास उद्योगको स्थापना
कृषि यान्त्रिकिकरणमा आधारित व्यवसायबाट पेशागत यात्रा सुरु गरेका रानाभाटले २०७४ सम्म त्यसलाई एक उचाईंमा पुर्याए। तीन ट्याक्टर र तीन थ्रेसरसहित त्यो व्यवसाय सफलतापूर्वक सञ्चालनमा थियो।
त्यहि बेला उनले व्यवसायलाई विविधिकरण गर्ने निर्णयका साथ सुरु गरेका थिए — सत्यदेवि कपास उद्योग।
सुरुवातमा स्थानीय क्षेत्रबाट सेवा सुरु भयो। विस्तारै त्यसलाई विस्तार गर्दै अन्य जिल्लामा पनि पुर्याईएको रानाभाट बताउँछन्।
पुन: प्रयोगमा आधारित व्यवसाय, फालिएका लत्ताकपडा नै कच्चा पदार्थ
रानाभाटकाअनुसार सामान्तय सिरक डसनाजस्ता सामग्रीको उत्पादनका दुई किसिमका कपासको प्रयोग हुन्छ।
पहिलो नयाँ कपास। जुन नेपालमा भएको उत्पादनले मागलाई धान्दैन र आयात गरिन्छ।
दोस्रो कालो कपास। जुन नेपालमा नै सहजै उत्पादन गर्न सकिन्छ।
“कपासमा नयाँ कपास भन्ने हुन्छ, त्यो नेपाल बाहिरबाट आयात गर्नुपर्छ,” रानाभाट भन्छन्, “कालो कपास चाहिँ यहि भएको कच्चा पदार्थले नै पुग्छ। दुरदराजमा काम नलाग्ने भनेर फ्याकिएका वा प्रयोगमा नभएका कपडालाई पुन: प्रयोग गरेर बनाइन्छ।”
रानाभाटकाअनुसार उनी आफ्नो कपास उद्योगका मार्फतबाट विभिन्न ठाउँमा पुग्ने गर्छन्। कतिपय स्थानबाट बोलाईएपछि त्यहाँ गएर कच्चा पदार्थका रुपमा कपडाहरु ल्याउने गरिएको उनी बताउँछन्। उनी भन्छन्, “उद्योगमा नै आएर सिरस डसना बनाउनका लागि अर्डर दिनेहरु पनि हुनुहुन्छ। हामी पनि उद्योगमार्फत ठाउँ ठाउँमा पुगेर अर्डरहरु लिएर आउँछौं र सिरक डसना बनेपछि डेलिभरि गरिदिन्छौं।”
रानाभाट नेपालमा पुन: प्रयोग गर्ने बानी नभएको मान्छन्। “फास्ट फेसन” उद्योगमा त झन क्षण क्षणमा नयाँ नयाँ शैलीहरु आइरहेका हुन्छन्। जति छिटो ती शैलीहरु परिवर्तन हुन्छन्, त्यति छिटो लत्ताकपडाको आयु सकिएको हुँदैन्। आयु सकिएको भएपनि त्यो पुर्ण रुपमा वातावरणमा हानी नगर्ने अवस्थामा पुग्दैन। जथाभावी फालिँदा त्यसले वातावरणमा उत्तिकै हानी गरिरहेको हुन्छ।
संयुक्त राष्ट्र सघीय वातावरण परियोजना (युएनईपी)को एक प्रतिवेदन अनुसार मान्छेले आफूले लगाउने भन्दा ६० प्रतिशत बढि कपडा किन्छन् र त्यसलाई पनि आधा मात्रै आयुसम्म प्रयोग गर्ने गर्छन्।
यस्तोमा धेरै जसो कपडाहरुले अन्त्यमा वातावरणलाई नै हानी गरिरहेका हुन्छन्।
रानाभाट तीनै कपडाहरुलाई पुन: प्रयोग गर्ने गरि काम गरिरहेका छन्। मान्छेले लगाउन नमिल्ने भएर फ्याकेका कपडा वा प्रयोग गर्न नमिल्ने भएको अवस्थामा पुगेका कपडाहरुलाई नै उनले पेलेर कपासमा रुपान्तरण गर्छन्। सत्यदेवी कपास कारखानामा प्रमुख कच्चा पदार्थ भनेकै यस्तै प्रयोग गर्न नमिल्ने अवस्थामा पुगेका लत्ताकपडाहरु हुन्छन्। तीनैलाई पेलेर कपास बनाउने र त्यसरी बनेको कपासबाट सिरक तथा डसना बनाउने गरेको उनले बताए ।
“नेपालमा रियुज गर्ने बानी नेपालमा छैन, त्यसले गर्दा पनि आयात बढि भएर नेपालमा धेरै सामान बाहिरबाट आउँछ,” उनी भन्छन्, “हाम्रो आर्थिक अवस्था पनि राम्रो हुन नसकेको हो। हामीले गाउँघरमा फालिएका कपडाहरुलाई लिएर कपास बनाएर त्यसलाई नयाँ स्वरुपमा ल्याई प्रयोग गरिरहेका छौं।“
रानाभाटकाअनुसार कपडाहरु संकलन गर्न उद्योगका कामदारहरु विभिन्न ठाउँमा जाने गर्छन् भने कतिपय अवस्थामा ग्राहक आफैले नै कपडा लिएर आउँछन् । संकलन भएको कपडालाई सुरुवातमा त्यसलाई काटिन्छ । त्यसपछि मेसिनमा राखेर त्यसको कपासलाई छुट्याउने गरिन्छ । यसरी पेलिएको कपडाबाट कपासका रुपमा कालो र सेतो रंगमा आउने उनी बताउँछन् ।
यसका लागि कारखानामा दुई वटा डेलिभरि भ्यान पनि खरिद गरिएको रानाभाट बताउँछन्।
“हामी आसपासका ठाउँहरुबाट अर्डर लिने र त्यहाँ डेलिभरि पनि गर्ने गर्छौं,” उनी भन्छन्, “त्यहाँ घरघरमा भएका पुराना कपडाहरुलाई ल्याएर बिद्युतीय मेसिनमा पेलेर कपासका रुपमा रुपान्तरण गरि आवश्यकताअनुसार सिरक डसनाजस्ता उत्पादनमा रुपान्तरण गर्ने गरिएको छ।”
आफूले गरिरहेको व्यवसायलाई आम्दानीका लागि मात्रै नरहेको मान्ने रानाभाट त्यसलाई सेवादायी काम गरेको जस्तो लाग्ने बताउँछन्। आफूले गरिरहेको कामको बजार राम्रो भएको र व्यवस्थित रुपमा कारखानाबाट सुरु गरेका कारण पनि आफूले ठुलो बजार ओगट्न सफल भएको उनले बताए ।
सामुहिकता: व्यवसाय सफल बनाउने कडी
रानाभाट कपास उद्योग सफल रहेको बताउँछन्।
उद्योगमा रिसक वा डसना बनाउने चाहनेले आफ्नो कपडा दिएर त्यसलाई पुन: प्रयोग गरि बनाउँदा प्रति किलो ४५ रपैयाँका हिसाबले काम गरिन्छ । नयाँ कपासमार्फत सिरसक डसना बनाउँदा भने प्रति किलो २५० रपैयाँका दरले काम गरिने रानाभाटले बताए ।
“आफ्नो कपास उद्योगबाट दैनिक ४० हजारको बिक्री हुने गरेको छ,” रानाभाट भन्छन्, “एउटा सिरक बनाउँदा ३० प्रतिशतसम्म फाइदा हुन्छ ।”
र यसको कारण भने उनी आफूले गरिरहेको अन्य व्यवसायमा जस्तै सामुहिकता रहेको मान्छन्। सुरुवातमा ट्याक्टर र थ्रेसरबाट सुरु भएको उनको पेशागत यात्रा कपास उद्योग हुँदै अहिले कृषि सम्बन्धित वितरकसम्म आइपुगेको छ। र यी सबै समयमा उनले सामुहिकतालाई नै आफू सफल हुनुको प्रमुखमध्येको कारण मानेको बताउँछन्।
व्यवसाय गरिरहँदा उनको मुल मन्त्र नै यहि छ — सफल हुनका लागि एक्लैले हुँदैन्, सामुहिकता चाहिन्छ।
“अब सँगै काम गर्नेलाई कामदार भन्ने हो कि परिवार भन्ने हो भन्ने कुरा आउँछ,” रानाभाट भन्छन्, “भेदभाव गर्नु भएन, मजदुर भनेर गलत व्यवहार गर्नु भएन। परिवारको सदस्यका रुपमा राखेर समान व्यवहार गर्नु पर्छ। कामदारलाई श्रम शोषण गर्ने होईन्, समान व्यवहार गर्ने हो।”
काम गर्दा आउने असहजतासँग जुँध्न पनि यहि सामुहिकता नै प्रमुख कुरा रहेको उनी मान्छन्। तर, यसका लागि व्यवसाय गर्नेले धेरै कुरामा विचार पनि गर्नुपर्ने उनको अनुभवले बताउँछ। अहिले सत्यदेवि कपास उद्योगमा १० जना कामदारमध्ये ५ जना पुरुष र ५ जना महिला कामदार रहेका छन् ।
“मेरो सबै व्यवसायमा गरेर अहिले डेढ करोडको लगानी पुगेको छ, त्यसमध्ये कपास उद्योगमा ७० लाख रपैयाँको लगानी छ,” उनी भन्छन्, “प्रमुख कुरा त टिक्नु हो। एकै चोटी कमाउँछु भनेर कमाइन्न क्यारे।”
उनी जे जे सोचेर काम सुरु गरिएको थियो त्यो सबै त पुरा हुँदैनन् भन्ने कुरालाई सहजै स्वीकार्न तयार भएर व्यवसायमा हात हालेको बताउँछन्। काम सुरु गर्दा हुने असहजतादेखि व्यवसाय असफल हुनसक्ने डर। यी सबैका बीच पनि आफूले काम गरिरहेको उनी बताउँछन्। रानाभाट व्यवसाय सुरु गरिरहँदा कस्तो पूर्वाधारमा लगानी गर्ने, के कुरामा कति लगानी गर्ने जस्ता कुराहरुमा ध्यान दिनु पर्ने बताउँछन्।
रानाभाटले कपास उद्योगमा १० जनासहित आफ्ना अन्य व्यवसाय गरि कुल २६ जनालाई पुर्ण रुपमा रोजगारी दिएका छन्। कपास उद्योग उनका लागि पनि एउटा आम्दानीको स्रोत बनेको छ।
“अहिले आर्थिक मन्दीको अवस्था भएकाले जे जति सोचेको त्यस्तो त भएको छैन, तर पनि सन्तुष्ट छु,” रानाभाट भन्छन्।
युवराज भट्टराई पत्रकारिताका साथै साहित्यमा रुचि राख्छन् । अन्नपूर्णपोस्ट, नेपाललाईभ डट कम, क्लिकमान्डुलगायतका सञ्चारमाध्यममा काम गरेका उनले त्रिभुवन विश्वविद्यालयअन्तर्गतको आरआर क्याम्पसबाट पत्रकारिता विषयमा स्नातक गरेका छन् ।