Discover Nepal's
Startup Landscape

‘रि-कृति’ अर्थात् कपडाको पुनः सिर्जना

सुरुवातको ६० हजार लगानी अहिले झन्डै १६ लाख रुपैयाँमा पुगेको छ। नशनाले आफ्नै साढे दुई लाख लगानी गरेकी छिन भने नेपाल सरकारले दिने उद्यम कर्जा र अन्य अनुदानमार्फत अन्य पुँजी जुटेको उनी बताउँछिन्।

 


 

 पुनः प्रयोग र पुनः सिर्जनाको अवधारणा नयाँ होइन। फाटेका जुत्ता सिलाएर लगाउने, पुराना कपडा पेलेर सिरक डसना बनाउने लगायतको अभ्यास नेपाली समाजमा पहिल्यैबाट हुँदै आएको छ।

तर, ‘फास्ट फेसन’ को अवधारणा विश्वभर विकसित हुँदा विश्वभरमा जस्तै नेपालमा पनि कपडाजन्य फोहोरहरू अत्यधिक हुन थालेका छन्। यस्ता कपडाहरूको पुनः प्रयोग र ती कपडाबाट पुनः सिर्जना गर्ने अवधारणालाई अभ्यासमा रूपान्तरण गरेकी छिन् नशना बज्राचार्यले। 

नशनाले पुरानो चालचलनलाई वातावरण मैत्री बनाउँदै आधुनिकीकरण गर्ने  र व्यावसायिक रूप दिन सक्ने नवीन सोच लिएर ‘रि-कृति’ को सुरुवात गरेकी थिइन्।

‘‘रि-कृति’’ को नाममै परिचय छ। अर्थ हो, ‘पुनः सिर्जना’।

करिब तीन वर्षअघि सुरु गरिएको ‘रि-कृति’ टेक्सटाइल ‘अपसाइक्लिङ’मा आधारित व्यवसाय हो, जसले फ्याक्ट्री वा घरमा खेर गएका कपडालाई नयाँ स्वरूप र उपयोगमा ल्याउँछ।

न्युरोडका गल्लीदेखि उद्यमशीलताको यात्रा

नशना काठमाडौँको न्युरोडमा हुर्किइन्। उनले त्यहाँका गल्लीहरूमा आएको परिवर्तनलाई नजिकबाट देखिन। 

एक पटकको खेल्ने गल्ली बिस्तारै कपडा पसलहरूले भरिएको देख्दा उनले कपडाको प्रयोग र उपभोगबारे गहिरोसँग सोच्न थालिन्।

त्यही बेला कलेजमा भएको ‘आइडिया ग्रान्ट’ कार्यक्रममा प्रतिस्पर्धामा उनले कपडाको पुनः सिर्जनाको अवधारणा प्रस्तुत गरिन्। ‘पिन्ट्रेस्ट’ र ‘युट्युब’ जस्ता डिजिटल श्रोतले उनलाई थप सम्भावना देखाए।

त्यस बेला रोपिएको सोचको बिउले झाँगिने अवसर भने नशनाले पढाई सकिएपछि मात्रै पायो ।

दिगो विकास अध्ययनमा स्नातकोत्तर पूरा गरेपछि उनले आफूले सोचेको शैलीमा व्यवसाय गर्न सकिन्छ भन्ने विश्वास जुटाइन्। त्यसपछि नै ‘रि-कृति’का साथमा उनको उद्यमशीलताको यात्रा सुरु भएको थियो। उनी भन्छिन्, “अध्ययन सकियो, अनुभव पनि भयो। अब यो नै ‘रि-कृति’मा काम गर्ने सही समय हो भन्ने लाग्यो।”

पुराना जिन्सबाट नयाँ उत्पादन

‘रि-कृति’ले मुख्यतः कपडा फ्याक्ट्रीमा उत्पादनका क्रममा प्रयोग नभएका फालिने रहेका कपडालाई नयाँ स्वरूप दिने काम गर्छ। गार्मेन्ट फ्याक्ट्रीमा जिन्सका पाइन्ट वा सर्ट वा अन्य कुनै उत्पादन बनाउँदा थुप्रै मात्रामा कपडाहरू फालिन्छन्। 

तीनै कपडाहरूलाई ठुलो मात्रामा खरिद गरेर नशना र उनको टिमले नयाँ स्वरूप दिने गरेको छ ।

तर, ‘रि-कृति’ यतिमा मात्र सीमित छैन ।

‘रि-कृति’ले उपभोक्तालाई उनीहरूकै आफ्नै पुराना कपडा समेतबाट पनि चाहेअनुसार नयाँ उत्पादन बनाएर समेत दिने गरेको छ । नशना भन्छिन्, ‘कतिपयलाई पुरानो कपडा भन्दा असहज लाग्छ । हामीले गार्मेन्ट फ्याक्ट्रीबाट निस्किने फोहोरलाई उपयोग गरेर काम गरेका छौं । तर, कसैले आफ्नै कपडाबाट केही बनाउन चाहेमा त्यो पनि हुन्छ ।’

काम गर्ने क्रममा उपभोक्तालाई आफ्ना पुराना कपडा प्रति लगाव हुने र त्यसको मूल्य भावनात्मक हिसाबले अझ बढी हुने हुँदा ग्राहकले नै ल्याएका पुराना कपडालाई पनि नयाँ स्वरूप दिने गरी ‘रि-कृति’ले बुटिक पनि आफ्ना सेवामा थप गरेको छ। फ्याक्ट्री र ग्राहक स्वयमका घरबाट आएका कपडाबाट नयाँ वस्तु बनाउँदा वातावरणमा पनि योगदान पुग्ने र दिगो विकासमा पनि टेवा पुग्ने नशनाको बुझाई छ।

केवल ३ वर्षको अवधिमा ‘रि-कृति’ले ९०० किलोभन्दा बढी कपडाको पुनः प्रयोग र पुनः सिर्जना गर्न सफल भएको छ। अहिले यसले १० भन्दा बढी किसिमका उत्पादन बजारमा पुर्‍याइरहेको छ। नशना भन्छिन्, “हामीले २ प्रकारका उत्पादनबाट सेवा सुरु गरेका थियौँ। यो वर्षसम्म आइपुग्दा १० भन्दा बढी भइसकेका छन्। ल्यापटप झोला र टोट ब्याग दुई-दुई डिजाइनमा छन्, पर्स पाँचभन्दा बढी डिजाइनमा छन्, साथै अन्य उत्पादनहरू पनि थपिएका छन्।”

‘रि-कृति’ले ग्राहकको घरबाटै कपडा संकलन गरेर कार्यशालामा पुर्‍याउने सेवा पनि दिन्छ । नशना भन्छिन्, “ग्राहकले कस्तो स्वरूप चाहनुहुन्छ, हामी त्यस्तै बनाइदिन्छौँ। कहिलेकाहीँ त जिन्स नभएका ग्राहकले हामीसँगै भएको कपडाबाट बनाउन पनि भन्नु हुन्छ।”

पुरानो परम्परामा भएको आधुनिकीकरण

नेपालमा कपडाको पुनः प्रयोग भन्ना साथ धेरैलाई पुराना कपडालाई पेलेर कपास निकाल्ने र सिरक–डसना बनाउने भन्ने लाग्दछ ।

तर, नशना यसलाई ‘रिसाइक्लिङ’ मात्र ठान्छिन्।

उनका अनुसार ‘रि-कृति’ भने ‘अपसाइक्लिङ’ व्यवसाय हो, जसले पुरानो लुगालाई अझै मूल्यवान् बनाउँदै नयाँ वस्तुको सिर्जना गर्ने काम गर्दछ। 

सुरुवातमा नशनाले आफ्ना उत्पादनलाई सामाजिक सञ्जालजस्ता अनलाइन माध्यमहरूमा फोनबाट खिचेर हाल्दा प्रचार सामग्रीको गुणस्तर कम भएकोमा ग्राहकले शंका गर्दथे । उनी भन्छिन्, ‘फोनबाट खिचेर हाल्दा, कम गुणस्तरको जस्तो देखिने रहेछ। मूल्य मिलाएर राख्दा पनि महँगो भन्न थाल्नु भयो। त्यस पछि ब्राण्डिङमा पनि काम गर्न थाल्यौं।’

‘रि-कृति’ले ब्राण्डिङ राम्रो काम गरेसँगै व्यवसाय र व्यापार पनि राम्रो भएको उनी बताउँछिन्। नशना भन्छिन्, ‘मार्केटिङ र ब्रान्डिङमा राम्रो लगानी गरेका छौं। त्यसको प्रतिफल अहिले देखिँदै छ। हामीले ग्राहकसँग जोडिन कार्यक्रमहरू पनि गर्न थालेका छौं।’

गत जुन महिनामा आफूहरूले अपसाइक्लिङ मेलाको आयोजना गरेको नशना बताउँछिन् । 

कोरोना महामारीपछि बदलिएको ग्राहकको सोच

नेपालमा मात्रै नभएर विश्वभर नै कोरोना महामारी अघि वातावरणसँग सम्बन्धित उद्यमलाई गम्भीर रूपमा लिने बुझाई नभएको नशना बताउँछिन्।

तर, महामारीपछि दिगो विकास र वातावरणीय सचेतनाबारेको चासो बढ्दै गएको उनी बताउँछिन्। नशना भन्छिन्, ‘हामीले त्यसपछि काम गर्दा सफलताको बाटो खुलेको महसुस गर्‍यौँ।’

धेरैलाई पुनः प्रयोग र पुनः सिर्जनाबाट बनेका वस्तुहरू विदेशीले मात्र रुचाउँछन् भन्ने लाग्छ । तर, नशनाका अनुसार ‘रि-कृति’ का करिब ९५ प्रतिशत ग्राहक नेपाली नै छन्। उनी भन्छिन्, ‘हाम्रो आफ्नै बजारमा पनि सचेतना बढ्दै गएको छ। नेपालीहरूले यस्ता वातावरणमैत्री र दिगो उत्पादनलाई समर्थन गर्न थालेका छन्।’

‘रि-कृति’का उत्पादनहरू सुरुसुरुमा प्राय: वातावरणीय विषयमा संलग्न वा प्रदूषणबारे सचेत भएका व्यक्तिहरूले बढी खरिद गर्थे। तर, बिस्तारै ग्राहक दायरा फराकिलो हुँदै गएको नशना बताउँछिन् । भन्छिन्, ‘ग्राहकहरू वातावरण क्षेत्रमा काम गर्नेहरू मात्र नभएर बैंकिङ क्षेत्रमा आबद्ध व्यक्तिदेखि नयाँ पुस्ता पनि छन्।’

६० हजार लगानीबाट सुरुवात

तीन वर्षअघि नशनाले ६० हजार रुपैयाँको पुँजीमा ‘रि-कृति’ सुरु गरेकी थिइन्।

‘रि-कृति’ सुरु गरेको समय उनी अर्कै ठाउँमा जागिर पनि गरिरहेकी थिइन् । त्यहिँबाट भएको आम्दानीबाट बचत गरेको रकममार्फत रि-कृतिलाई जन्म दिएको थिइन्।

सुरुवाती दिन भने सजिलो थिएन।

उनले व्यवसायको सुरुवाती वर्षमा आफ्नो जागिर छाडिनन्। र करिब एक वर्षपछि मात्र ‘रि-कृति’ले गति लिन थाल्यो।

बिस्तारै उनले व्यवसायका लागि आवश्यक उपकरणहरू खरिद गरिन्। काम एक्लै सम्भव नहुने महसुस गरिन्। त्यसपछि उनले पहिलो कर्मचारी नियुक्त गरिन्।

कर्मचारी एकबाट दुई हुँदै अहिले ‘रि-कृति’ मा चार जना कर्मचारी काम गर्छन्।

नशना भन्छिन्, ‘हाम्रो टिममा तीन जना उत्पादनमा काम गर्नुहुन्छ। एक जना मार्केटिङमा हुनुहुन्छ। र म सहित पाँच जना छौँ ।’

नशनाले जब देखि आफ्नो पुरा समय व्यवसायमा नै दिन सकिन्, त्यति बेला देखि व्यवसायमा आएको वृद्धि पनि सन्तोषजनक छिन् । 

यसका बाहेक ‘रि-कृति’ ले घरमै बसेर काम गर्नेहरूलाई पनि अवसर दिएको छ।

किर्तिपुरस्थित एउटा संस्थासँग साझेदारी मार्फत उनीहरूले केहीलाई घरमै बसेर काम गर्ने व्यवस्था मिलाएका छन्। नशना भन्छिन्, “म एक्लै सुरु गरेकी हुँ। तर आज यो अरूलाई पनि रोजगारी दिन सक्ने अवस्थामा आएको छ। यही मेरो सबैभन्दा ठुलो सन्तोष हो।”

विस्तारसँगै ‘रि-कृति’को पुँजी पनि बढ्दै गएको उनी बताउँछिन्। सुरुवातको ६० हजार लगानी अहिले झन्डै १६ लाख रुपैयाँमा पुगेको छ। नशनाले आफ्नै साढे दुई लाख लगानी गरेकी छिन भने नेपाल सरकारले दिने उद्यम कर्जा र अन्य अनुदानमार्फत अन्य पुँजी जुटेको उनी बताउँछिन् । 

तीन वर्षको छोटो अवधिमा ‘रि-कृति’ ले २,००० भन्दा बढी उत्पादन बजारमा पुर्‍याइसकेको छ। नशनाका अनुसार सबैभन्दा धेरै माग हुने सामान भने ल्यापटप झोला र ‘पाउच’ हुन्। यी वस्तुहरू वातावरणमैत्री भएर मात्र नभई डिजाइन र प्रयोगशीलताका कारणले पनि उपभोक्ताको रोजाइमा परेको उनी बताउँछिन्।

नशनाका अनुसार ‘रि-कृति’को व्यापार सन्तोषजनक छ।  उनी भन्छिन्, ‘सामान्यतया महिनामा ९० हजारदेखि १ लाख रुपैयाँसम्मको कारोबार हुने गर्छ, राम्रो सिजनमा यो आँकडा ३ लाख रुपैयाँसम्म पनि पुग्छ।  मार्जिन पनि  ५० देखि ६० प्रतिशतसम्म रहन्छ ।’

थोरै तर गुणस्तरीय उत्पादन

नशनाको बुझाइमा ‘रि-कृति’ले ठुला कम्पनीहरूसँग प्रत्यक्ष प्रतिस्पर्धा गर्न सक्दैन। तर, उनले त्यसलाई कमजोरी नभई आफ्नो पहिचान बनाएकी छन्।

“हामी १,००० वटा वस्तु एकै पटकमा उत्पादन गर्ने हैसियतमा छैनौँ,” उनी भन्छिन्, “तर हाम्रो उत्पादन नेपालमै बनेको हुन्छ, मार्जिन कम राख्छौं, अनि गुणस्तरमा कुनै सम्झौता गर्दैनौं।”

उनको बुझाइमा सचेत ग्राहकले सस्तो र छिट्टै बिग्रिने वस्तुभन्दा अलिकति बढी रकम तिरेर बलियो र टिकाउ उत्पादन रोज्छन्। त्यसैले उनीहरू संख्यामा होइन, गुणस्तरमा भर पर्ने उनी बताउँछिन्। 

ग्राहकलाई नजिकबाट बुझ्नलाई ‘रि-कृति’ले बेलाबेलामा सर्वेक्षण गरिरहेको नशना बताउँछिन्।

‘किन ‘रि-कृति’ रोज्नुभयो?’ भन्ने प्रश्नमा धेरैको जवाफ ‘पुनः सिर्जना गरिएको भएर’ भन्ने नै हुने गर्छ। नशना भन्छिन्, “यसमा भावनात्मक पक्ष पनि जोडिन्छ। धेरै ग्राहकले उत्पादन खरिद गर्दा आफूले वातावरणमा केही योगदान गरेको लाग्छ।”

कहिलेकाहीँ नशनालाई आफ्नो व्यवसायको भविष्यबारे भने डर पनि लाग्छ।

तर, जब उनी काममा फर्किन्छिन् र आफ्नो टिमसँग दिन बिताउँछिन्, उनलाई त्यहाँ आत्मबल मिल्छ ।

विशेष गरी जब उनी ‘रि-कृति’मा काम गर्ने आमाहरूलाई देख्छिन्, जसको घरबार यही व्यवसायबाट चलेको छ, जसका छोराछोरीले शिक्षा पाइरहेका छन्, त्यो देख्दा उनलाई छुट्टै आत्मसन्तोष मिल्छ। उनी भन्छिन्, “कहिलेकाहीँ दिदीहरूले ग्राहकले हाम्रो उत्पादन मन पराएको कुरा सुनाउनुहुन्छ। त्यति बेला धेरै खुसी लाग्छ ।”

जब कसैले अरू ब्याग छाडेर ‘रि-कृति’का ब्याग बोकेका कुरा सुनाउँछन्, नशनाले आफ्नो कामप्रति गहिरो सन्तुष्टि महसुस गर्ने बताउँछिन् । उनी भन्छिन्, “सुरुवाती समयमा धुलिखेल जाँदा बाटोमा एक जनाले ‘रि-कृति’को झोला बोकेको देखें। चिनेको मान्छे हो कि भनेर हेरें। तर, अपरिचित हुनुहुन्थ्यो। म केही बेर रोकिएर भिडियो खिचेँ। त्यो क्षणले धेरै खुसी दिएको थियो।”

लेख सेयर गर्नुहोस्