काठमाडौँ — नेपालभरका नवप्रवर्तनशील तथा प्रारम्भिक चरणका उद्यमीहरूलाई लक्षित गर्दै अमेरिका–नेपाल व्यावसायिक कूटनीति शृङ्खला अन्तर्गतको उद्यमशीलता सीप–विकास कार्यक्रम (Entrepreneurship Skill-Building Program) का लागि आवेदन खुला गरिएको छ।
नेपालस्थित अमेरिकी दूतावासको नेतृत्वमा सञ्चालन हुने उक्त कार्यक्रम इन्टरनेशनल डेभलपमेन्ट इन्स्टिच्युट (IDI) र आद्यन्ता एडभाइजरी को सह–आयोजनमा, अमेरिकन चेम्बर अफ कमर्स इन नेपाल (AmCham Nepal) तथा ग्लोबल इम्प्याक्ट कलेक्टिभ सँगको साझेदारीमा कार्यान्वयन हुँदैछ।
कार्यक्रमको उद्देश्य नेपालमा देखिएको ‘मिसिङ मिडल’ वित्तीय चुनौतीलाई सम्बोधन गर्दै २०० भन्दा बढी उद्यमीहरूलाई व्यवसाय योजना, डिजिटल मार्केटिङ, वित्तीय साक्षरता तथा लगानी तयारीसम्बन्धी व्यावहारिक सीप प्रदान गर्नु रहेको छ।
देशभरका सात सहरमा सञ्चालन हुने दुईदिने व्यावहारिक उद्यमशीलता तथा मेन्टरसिप एक्सेलेरेटर कार्यक्रममा सहभागीहरूले अनुभवी नेपाली तथा प्रवासी नेपाली विज्ञहरूबाट मार्गदर्शन पाउनेछन्। साथै, सम्भावित लगानीकर्ता तथा खरिदकर्तासँग प्रत्यक्ष सम्पर्कको अवसर प्रदान गरिनेछ, जसले उद्यमीहरूको विचारलाई लगानीमा रूपान्तरण गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
आयोजकहरूका अनुसार, उद्यम सुरु गर्ने चाहनाबाट कार्यान्वयनको चरणमा प्रवेश गर्न चाहने संस्थापकहरूका लागि लक्षित यस कार्यक्रममा व्यवहारिक सिकाइ, वास्तविक बजार अनुभव तथा स्थानीय र अन्तर्राष्ट्रिय उद्यमशील सञ्जालमा पहुँचलाई प्राथमिकता दिइएको छ।
आफ्नो उद्यम स्थापना, विस्तार वा औपचारिक रूपमा अघि बढाउन इच्छुक उद्यमीहरूले १३ फाल्गुन २०८२ सम्म आवेदन दिन सक्नेछन्।
आवेदन लिंक: https://lnkd.in/gfRquCUx







