‘स्टार्टअप उद्यम कर्जा’ का लागि आवेदन खुल्यो

स्वीकृत आयोजनाहरूले ३ प्रतिशत ब्याजदरमा २५ लाख रुपैयाँसम्म धितोरहित ऋण पाउनेछन् । सरकारले यो वर्ष ‘स्टार्टअप कोष’ योजना अन्तर्गत रु एक अर्ब बजेट विनियोजन गरेको छ, जसलाई आईईडीआईले कार्यान्वयन गर्नेछ ।

औद्योगिक उद्यम विकास संस्थान (आईईडीआई) ले यस वर्षको ‘स्टार्टअप उद्यम कर्जा’ योजनाका लागि आवेदन खुला गरेको छ । भाद्र ११ मा संस्थाको वेबसाइटमा प्रकाशित गरिएको सूचना अनुसार यो योजनाको लागि प्रकाशित मिति बाट २१ दिन भित्र आवेदन दिनुपर्नेछ।

“स्टार्टअप उद्यम” भन्नाले वस्तु, सेवा र प्रक्रियाको विकास, उत्पादन, सञ्चालन र वितरणमा नवीन अन्वेषण एवम् सिर्जनशील सोचको प्रयोग गरी व्यवसायको रूपमा सञ्चालन भएका र स्तरोन्नतिको सम्भावना रहेका उद्यमलाई स्टार्टअप उद्यम सम्झनु पर्छ र सो शब्दले सूचना प्रविधिको उपयोग एवम् सिर्जनशील सोचको प्रयोग भएको उद्यम वा व्यवसाय समेतलाई जनाउँछ ।

स्वीकृत परियोजनाहरूले ५ वर्षको अवधिका लागि ३% ब्याजदरमा न्यूनतम रू. ५ लाखदेखि अधिकतम रू. २५ लाखसम्मको कर्जा सुविधा प्राप्त गर्न सक्नेछन्। यो कार्यक्रम अन्तर्गत स्वीकृत परियोजना आफैँ धितोको रूपमा रहनेछ र कुनै स्थिर सम्पत्ति धितोको रुपमा आवश्यक पर्ने छैन।

योग्यताको मापदण्डहरू मध्ये केहि यस प्रकार छन्:

  • १० वर्षभन्दा बढी अवधि नपुगेका उद्यमहरू
  • स्थापनापछि कुनै पनि आर्थिक वर्षमा वार्षिक कारोबार रू.१५ करोड रुपैयाँभन्दा बढी नभएको
  • निजी फर्महरू, साझेदारी फर्महरू, कम्पनीहरू वा सहकारीहरू औद्योगिक दर्ता निकायहरूमा दर्ता भएका
  • आवेदन गर्ने फर्महरू नयाँ व्यवसायिक प्रतिष्ठान हुनुपर्छ, जुन अन्य कम्पनी वा संस्थासँग कुनै छुटिएको वा मर्जर नभएको
  • नयाँ विचार र नवप्रवर्तनमा आधारित, जसले व्यवसायमा वृद्धि गर्ने क्षमता प्रदर्शन गर्न सक्नुपर्छ

 

यस अघिको आर्थिक वर्षमा सरकारले ‘स्टार्टअप उद्यम कर्जा’ कार्यक्रम अन्तर्गत छनोट भएका १८३ परियोजना मध्ये १६५ परियोजनामा ​​१७ करोड रुपैयाँभन्दा बढी सहुलियतपूर्ण कर्जा प्रवाह गरेको थियो। 

गत आर्थिक वर्षमा कार्यक्रमका लागि २५ करोड बजेट विनियोजन गरिएको थियो । सरकारले यो वर्ष ‘स्टार्टअप कोष’ योजना अन्तर्गत रु एक अर्ब बजेट विनियोजन गरेको छ, जसलाई आईईडीआईले कार्यान्वयन गर्दै छ।

इच्छुक स्टार्टअप उद्यमहरूले यहाँ अनलाइन वा अफलाइन माध्यमबाट आवेदन दिन सक्नेछन्।

उद्यमीहरूले प्रक्रिया अनुसार अनुसूची-३ मा प्रस्तुत गरिएको नमुनामा आफ्नो प्रस्तावहरू बुझाउनुपर्नेछ।

प्रोजेक्ट प्रस्तावको नमूना र विस्तृत जानकारी यहाँ उपलब्ध छ।