रिता तामाङ सहितका केही स्थानीय महिलाहरूले महिला आत्मनिर्भरता तालिमको अवसरको सदुपयोग गर्दै मौरीपालनका बारेमा आधारभूत ज्ञान प्राप्त गर्नुभयो। २०८१ सालको पुष महिनामा उर्लाबारी नगरपालिका वडा नं. ७ द्वारा आयोजित सात दिन लामो उक्त तालिममा नगरका विभिन्न टोलका ३५ जना महिला सहभागी हुनुहुन्थ्यो। तालिम अनुभवी मौरीपालक तथा व्यावसायिक प्रशिक्षक बोधराज खतिवडाबाट प्रदान गरिएको थियो।
यस तालिमले सहभागीलाई मौरीपालनको ज्ञान मात्र दिएन, व्यवसाय सुरु गर्न प्रेरणा दिँदै व्यावसायिक दिशाको मार्गसमेत खोलिदियो। तालिमपश्चात् सहभागीमध्ये ११ जना महिलाहरूले ‘हामी गर्छौँ’ भन्ने संकल्पसाथ व्यवसाय अगाडि बढाउने योजना बनाउनुभयो। रितासहितको समूहले माघ महिनादेखि मौरीपालनमा सक्रिय रूपमा काम सुरु गर्नुभयो।
स्थानीय सरकारको साथ र महिलाहरूको संकल्प
प्रारम्भिक चरणमा नगरपालिकाबाट ६० हजार र वडा कार्यालयबाट ५० हजार रुपैयाँ बराबरको सहयोग प्राप्त भएको थियो। कुल १ लाख १० हजार रुपैयाँको लागतमा १० वटा मौरीघार (प्रत्येकमा पाँच–पाँच वटा पत्ता सहित) खरिद गरी मौरीपालनको थालनी गरियो। रिताको अनुभवमा व्यक्तिगत लगानी नगन्य भएकाले व्यवसाय सुरु गर्न सहज भएको थियो। स्थानीय सरकारको निरन्तर प्रशिक्षण, अनुगमन र प्राविधिक सहयोगले पनि आत्मविश्वास थपिएको बताउनुहुन्छ।
रिता भन्नुहुन्छ, “स्थानीय सरकारको निरन्तर सहजीकरणले मौरीपालनमा थप आत्मविश्वास मिलेको छ।” हालै प्रदेश सरकारले आयोजना गरेको सात दिनको उन्नत तालिममा समेत उहाँ सहभागी हुनुभएको थियो। “पहिलेको तालिम बढी सैद्धान्तिक थियो भने उन्नत तालिम व्यवहारिक पक्षमा केन्द्रित थियो। मैले मौरीको व्यवहार, रोग नियन्त्रण र घार व्यवस्थापनका धेरै नयाँ पक्षहरू सिक्न पाएँ,” उहाँ बताउनुहुन्छ।

उन्नत तालिम नलिएको सुरुवाती चरणमा मौरीको टोकाइ, घार व्यवस्थापनको अनविज्ञता लगायतका चुनौतीहरू थिए। यद्यपि प्रशिक्षकसँग निरन्तर सम्पर्कमा रहेर, उहाँको सघन सहयोग, सल्लाह र व्यक्तिगत उपस्थितिले ती समस्याहरू समाधान गर्न सहज भएको थियो। चुनौती भोग्दै, समाधान खोज्दै, अनुभव बटुल्दै अगाडि बढेको कुरा रिता सुनाउनुहुन्छ।
अहिले मौरी आफैँ विस्तार भई ३० वटा ‘सुपर’ सहितको मौरीघार भइसकेका छन्। यो सम्पूर्ण विस्तार मौरीकै आम्दानीको पुनःलगानीबाट सम्पन्न भएको हो। साथै, सुरुमा प्रति घार पाँचवटा पत्ताबाट सुरु गरिएको व्यवसाय अहिले प्रति घार १० वटा पत्ता भएको छ। व्यवसायिक वृद्धिसँगै अहिले केही महिलाहरूलाई घरखर्च चलाउन आम्दानीसमेत हुन थालेको छ।
मौरीपालन प्रक्रिया कस्तो हुन्छ?
मौरीपालनका लागि प्रविधि र प्रक्रियाको कुरा गर्दा, सबैभन्दा पहिले घार स्थापना गर्नुपर्छ। रिताका अनुसार आधार चाका र फ्रेम राखेर घार तयार पारिन्छ। करिब डेढ हप्तामै मह उत्पादन सुरु हुन्छ। मह निकाल्न ‘महदानी’ प्रयोग गरिन्छ, जसमा हावाको प्रेसरले मह निकालिन्छ भने बच्चा र चाका सुरक्षित रहन्छ। एउटै फ्रेम दुई वर्षसम्म टिक्दछ। मह निकालिएपछि छान्ने, सफा गर्ने, बोटलिङ गर्ने र बजारमा पठाउने प्रक्रिया अपनाइन्छ।
फूल फुल्ने मौसममा ४–५ दिनको अन्तरालमा हेरचाह गर्दा पुग्छ। मुख्यतः तोरी, फापर, फिलुङ्गे आदि खेतीका फूलहरूबाट मह उत्पादन हुन्छ। स्रोत सकिएपछि मौरीलाई जङ्गली फूल भएको क्षेत्रमा सारिन्छ। उत्पादन तीव्र हुने महिना लगभग ६ महिनाको हुन्छ। बाँकी ६ महिना बेमौसमी अवस्था हुन्छ, जब फूल हुँदैनन् र बढी ध्यान दिनुपर्छ। असारदेखि कात्तिकसम्मको बेमौसमी अवधिमा मौरीलाई स्याहार गरेर पाल्नुपर्छ। उक्त बेमौसमी समयमा महको उत्पादन न्यून भए पनि मौरीको संख्या वृद्धि भने गर्न सकिने कुरा रिता बताउनुहुन्छ। रिताका अनुसार, “जब मौरीहरूले खाना पाएका हुन्छन्, मानिसलाई खासै आक्रमण गर्दैनन्। मैले यी संकेतहरू बुझ्न थालेकी छु।”
महको प्रकृति र प्रकारबारे स्पष्ट पार्दै रिता भन्नुहुन्छ, “असली मह जम्छ भन्ने विश्वास व्यापक छ, तर त्यो सधैं हुँदैन। तोरी र फापरबाट बनेको मह जम्न सक्छ, तर जङ्गली फूलबाट बनेको मह सामान्यतया जम्दैन।” त्यसैले उपभोक्ताहरूलाई उहाँको सल्लाह छ – “मह किन्दा जम्ने नजम्ने हेर्नेभन्दा पनि, विश्वासिलो विक्रेताबाट किन्नु उपयुक्त हुन्छ।”

सुरक्षाका लागि पञ्जा, अनुहार छोप्ने जालीदार टोपी, बुटजस्ता सामग्री प्रयोग गरिन्छ। आवश्यक परेमा धुवाँसमेत प्रयोग गरिन्छ। धेरै मौरीले टोकेको अवस्थामा अस्पतालको विष निस्कने औषधि वा इन्जेक्सन आवश्यक पर्न सक्छ। तर ५–१० मौरीले टोकेको सामान्य अवस्थामा घरेलु उपाय पर्याप्त हुने रिता बताउनुहुन्छ। उहाँका अनुसार आपतकालीन अवस्थाहरू, जस्तै विषादीको जोखिम वा आगलागीमा, मौरीलाई सुरक्षित स्थानमा सार्नुपर्छ। उदाहरणका लागि, जब किसानहरूले मौरी चराउने बालिमा विषादी प्रयोग गर्छन्, त्यसबेला मौरीको घार कम्तीमा २४ घण्टा बन्द गर्नुपर्छ।साथै, कमिला, मैनपुतली, अरिङ्गाल, सुलसुलेजस्ता कीराबाट बचाउन औषधि प्रयोग गर्नुपर्छ। घारको ‘गोलो’ कमजोर भयो भने आक्रमणको सम्भावना हुने भएकाले त्यसलाई सुदृढ बनाउनुपर्छ। सुरक्षाका लागि मौरीघार गाउँ वा विद्यालयनजिक नराखी केही टाढा राखिएको छ।
बजारको खोजी, दर्ताको तयारी : सम्भावनाले भरिएको घार
हालको अवस्थामा व्यवसाय दर्ता भने नगरिएको रिताले जानकारी दिनुभयो। यसको कारण बारे रिता भन्नुहुन्छ, “हामी अझै पूर्णरूपमा परिपक्व अवस्थामा पुगेका छैनौँ। मौरी संवेदनशील जीव भएकाले हावापानी, मौसम, घामछायाँ र फूलबिरुवासँग यसको जीवन गहिरो रूपमा जोडिएको हुन्छ।”
उहाँका अनुसार, अहिले मौरीको संख्या तुलनात्मक रूपमा थोरै भएकाले, उत्पादनमा निरन्तरता छैन। “दर्ता गर्यो तर धेरै मौरी मरे वा उत्पादन रोकियो भने व्यवसायको निरन्तरता गुम्न जान्छ। केवल फारम दर्ता गरेर मात्रै दीगो व्यवसाय सम्भव हुँदैन।” रिता थप्नुहुन्छ “अर्को पक्ष के छ भने, अहिले हामीले मौरीको उत्पादन मुख्यतः मह स्थानीय रूपमा सञ्जाल, सिफारिश र चिनजानको भरमा सीमित मात्रामा बिक्री गर्दै आएका छौँ। कानुनी रूपमा बिक्री वितरण गर्न दर्ता आवश्यक हुन्छ, तर हाम्रो आर्थिक आम्दानीको हिसाबले अहिले दर्ता नभए पनि उल्लेखनीय फरक परेको छैन। जब उत्पादनमा निरन्तरता आउँछ र बजार स्थिर तथा फराकिलो बन्छ, दर्ता प्रक्रिया सुरु गर्ने योजना छ। हामीलाई कानुनी मान्यता (दर्ता) आवश्यक छ भन्ने थाहा छ र त्यो दिशामा अघि बढ्न आवश्यक आधार तयार पार्दैछौँ।”

मौरीपालन व्यवसाय गर्न चाहनेलाई प्रेरित गर्दै रिता भन्नुहुन्छ “औसतमा एउटा मौरीको घार सुरु गर्न हाल लगभग पन्ध्र हजार रुपैयाँ मात्र लाग्छ। उत्पादनको श्रोत पर्याप्त भएको समयमा अतिरिक्त खर्च न्यून नै हुन्छ। विशेष हेरचाह त बेमौसमी समयमा मात्र आवश्यक पर्छ, त्यो पनि जतिबेला मौरीलाई चास्नी अर्थात् मिठासयुक्त पानी खुवाउनु पर्छ।”
उता, मह उत्पादनको सम्भावना भने अत्यधिक रहेको रिताले जानकारी दिनुभयो। स्रोतको समयमा एउटै घारबाट एकपटकमा १० देखि १२ के.जी. मह उत्पादन हुन सक्छ, र महिनामा तीन पटकसम्म मह निकाल्न सकिन्छ। यसरी हेर्दा एउटा घारले महिनामा ३५ के.जी. भन्दा बढी मह उत्पादन गर्ने सामर्थ्य राख्दछ। तर, केही अतिरिक्त खर्च भने आइपर्छन्। मौरीलाई फूल पाइने स्थानतर्फ सार्नुपर्ने भएकाले ढुवानी खर्च लाग्ने गर्दछ। साथै, कुनै दोस्रो व्यक्तिको खेतबारीमा मौरी राख्नुपर्दा मौखिक सहमतिका आधारमा जग्गाको भाडा तिर्नुपर्ने अवस्था पनि आउँछ।
रिता भन्नुहुन्छ “धेरै ठूलो लगानी बिना नै व्यवसाय सुरु गर्न चाहनेका लागि मौरीपालन अत्यन्तै लाभदायक हुन सक्छ। तर, सफलताका लागि लगनशीलता, निरन्तर हेरचाह, र बजारसम्म पुग्ने पहुँच अत्यावश्यक छ।”
मह मात्र उत्पादन गरिरहनुभएकी रिताले हालसम्म अन्य उत्पादनहरू सुरु गर्नुभएको छैन। तर उहाँमा उत्साह भने प्रशस्त छ। “मौरीबाट पाउने सबैभन्दा ठूलो पाठ कर्म र जागर हो। ती साना जीवहरूले जति मेहनत गर्छन्, एकजुट भएर गर्छन्। मानिसहरूमा पनि त्यस्तै एकता र मेहनत भए कति राम्रो हुन्थ्यो” उहाँ भावुक हुँदै भन्नुहुन्छ।
भविष्यको योजना प्रस्ट पार्दै रिता भन्नुहुन्छ, “यदि उत्पादन भएको मह राम्रोसँग बिक्री हुन थाल्यो भने, यो व्यवसाय स्थायी बन्न सक्छ। विदेश जानु नपर्ने गरी गाउँमै बसेर पनि जीवनयापन गर्न सकिन्छ।” रिताका अनुसार अहिलेको समस्या भनेको बजारको अभाव हो। बिक्री मुख्यतः स्थानीय र चिनेका ग्राहकहरूसम्म सीमित छ।
स्थानीय सरकारले मौरीपालनका लागि तालिम र लगानी गरे पनि बिक्री पक्षमा अझै समस्या देखिन्छ। बजार पहिचान र व्यवस्थापनमा पनि स्थानीय सरकारले बाटो देखाइदिने हो भने व्यवसाय अझ फराकिलो बनाउन सकिने रिता बताउनुहुन्छ। मौरीपालनको ज्ञानसँगै व्यावसायिक सञ्चालनको ज्ञान पनि आवश्यक रहेछ भन्ने अनुभव उहाँलाई भएको छ।
रिता तामाङ र समूहको यो मौरीपालनको यात्रा केवल व्यवसायिक पहल मात्र नभई आत्मनिर्भरता, समर्पण र स्थानीय स्रोतको उपयोगको उत्कृष्ट उदाहरण बनेको छ।