यहाँको लोघेकर दामोदरकुण्ड गाउँपालिकाले किसानलाई अनुदान सहुलियतमा हातेट्याक्टर (पावर टिलर) वितरण गरेको छ। गाउँपालिकाले चालु आर्थिक वर्षको वार्षिक स्वीकृत ‘कृषि यान्त्रिकीकरण’ कार्यक्रमअनुसार माग सिफारिसका आधारमा पाँचैवटा वडाका किसानलाई सोमबार पहिलो चरणमा अनुदान सहुलियतको हातेट्याक्टर वितरण गरेको हो।
हातेट्याक्टर अनुदान दिन २५ लाख रुपैयाँ गाउँपालिकाले विनियोजन गरेको कृषि शाखा प्रमुख दीपक खड्काले जानकारी दिनुभयो। प्रमुख खड्काकाअनुसार गाउँपालिकाको अनुदान ४५ प्रतिशत र लाभग्राही किसानको ५५ प्रतिशत लागत साझेदारी रहनेगरी प्रति हाते ट्याक्टर ५६ हजार ५०० बराबरको एक सय थान हातेट्याक्टर वितरण गरिने छ।
सोमबार पहिलो चरणमा वडा नं १ को चराङ र मराङमा ३५ थान र वडा नं ४ को ढी र सुर्खाङ गाउँका १० थान हातेट्याक्टर वितरण गरिएको शाखा प्रमुख खड्काले बताउनुभयो।
गाउँपालिकाले दोस्रो चरणमा यहाँको वडा नं २, ३ र ५ का किसानलाई बाँकी ५५ थान ट्याक्टर वितरण गर्ने वडा नं १ का वडाध्यक्ष टैढिन्डुक ठकुरीले जानकारी दिनुभयो। परम्परागत रूपमा गोरु, झोपाको सहयोगमा खेत जोत्ने परम्परा रहे पनि पछिल्लो समय जनशक्तिको अभाव, युवा पलायन, परम्परागत शैलीबाट खेत जोत्न झन्झटिलो, लागत र समय बढी लाग्ने भएकाले कृषकलाई यान्त्रिकीकरण तर्फ आकर्षित गरिएको जनाइएको छ।