अनुदानले फेरिएको कृषकहरुको जीवन: पहिला न उत्पादन न खपत, अहिले खपतसँगै बिक्री

२०७८ मा हरिहरपुरगढी गाउँपालिकाले नव प्रवर्द्धक कार्यक्रमका लागि ६० लाख रुपैयाँ अनुदानका रूपमा छुटाएको र सो रकम १२० किसानलाई भैँसी किन्नका लागि ५०/५० हजारका दरले उपलब्ध गराएको थियो
तस्बिर: युवराज भट्टराई

 


 

स्थानीय सरकारलाई बेला बेला “गाउँ गाउँमा सिंहदरबारपनि भन्ने गरिन्छ। आम जनताको सबैभन्दा नजिक सजिलै पहुँच हुने संयन्त्र स्थानीय सरकार हुने व्यवस्था सङ्घीयताले गरेको छ। यद्यपि सबैतिर भनेजस्तै अवस्था पनि छैन।

तर, हरिहरपुरगढी गाउँपालिकाले गरेको एक कदमले भने त्यहाँका थुप्रै किसानको जीवनमा परिवर्तन ल्याएको छ।

हरिहरपुरगढी गाउँपालिकाको पालिका भवन रहेको स्थान झनझने। यहाँ हरेक बिहानको दृश्यहरू केही वर्ष यता फेरिएका छन्। पालिका भवनकै नजिकै रहेको हरिहरपुरगढी दुग्ध सहकारीको दुध सङ्कलन तथा प्रशोधन केन्द्र रहेको छ। बिहानै यहाँ दुध लिएर कृषकहरू आउँछन्। दिउँसोको समयमा यहाँ मोही खाने, दही किनेर घर लैजानेहरूको जमघट हुन्छ। पालिका अघिल्तिर रहेको घाँसे मैदानमा भैँसी तथा अन्य चौपायाहरू चरिरहेका हुन्छन्।

विज्ञापनहरू

तर, २०७८ भन्दा अघिको अवस्था यस्तो थिएन। बढी जसो राई तथा तामाङ थरसहितका जनजातिहरूको बसोबास भएको यहाँ दुधको उत्पादन नै हुँदैन थियो। गाउँपालिकामा केहीले मात्रै पशुपालन गरेका थिए। त्यो पनि बढी मात्रामा मासुका लागि खपत हुन्थ्यो।

तस्बिर: युवराज भट्टराई

पहिला जाँडरक्सी खाएर लट्ठ भएर मान्छेहरू हिँड्ने गर्थे,” हरिहरपुरगढी दुग्ध सहकारीका अध्यक्ष सन्तली राई भन्छन्, “अहिले त्यो फेरिएको छ। जाँडरक्सी खानेहरू अहिले मोही दही खान आउँछन्। घरमा पाहुना आउँदा दही, दुध पनिरले सत्कार हुन्छ।

यो परिवर्तन आउनुको एउटै कारण हो, हरिहरपुरगढी दुग्ध सहकारी। उक्त सहकारी खोलिनुमा गाउँपालिकाले दिएको अनुदान महत्त्वपूर्ण छ।

२०७८ मा हरिहरपुरगढी गाउँपालिकाले नव प्रवर्द्धक कार्यक्रमका लागि ६० लाख रुपैयाँ अनुदानका रूपमा छुटाएको सन्तली बताउँछन्। यो अनुदान रकम १२० जना किसानलाई भैँसी किन्नका लागि ५०/५० हजारका दरले उपलब्ध गराइएको थियो। सोही कार्यक्रमअन्तर्गत दुग्ध सहकारी खुल्यो। सहकारीको संरचना अन्तर्गत खुलेको भए तापनि उक्त सहकारीको प्रमुख काम भने स्थानीय तहमा खपत हुने मात्रामा दुधको उत्पादन गर्ने किसानलाई आत्मनिर्भर बनाउनेतिर थियो।

अध्यक्ष राईका अनुसार हालसम्म यसले सफल परिणाम देखाउँदै गएको छ।

खपतसँगै बिक्रीलाई पर्याप्त उत्पादन

हरिहरपुरगढी गाउँपालिकाको वडा नम्बर मा बाबुबाजेकै पालादेखि भैँसी पाल्ने दुध उत्पादन गर्ने मध्येका केही व्यक्तिमध्ये सन्तली राईको परिवार प्रमुख थियो।

मेरो बुबाबाजेको पालाबाट नै पशुपालनमा धेरै ध्यान दिएका थियौँ। धेरैले दुध किन्न मेरो घरमा आउनुहुन्थ्यो,राई भन्छन्।

त्यत्तिखेर बेला मौकामा मात्रै दुधको खपत थियो। यहाँ पहिले दुधको खपत पनि कम हुने, पशुपालनको पनि चलन नभएको राई बताउँछन्। तर, पालिकाको कार्यक्रम लागु भएपछि भने त्यो फेरिएको छ।

२०७८ मा सहकारी दर्ता भएर खुल्यो। सरकारबाट आएको नव प्रवर्द्धक कार्यक्रमअन्तर्गतको बजेट कृषकको स्तरोन्नतिका लागि खर्च गर्न भन्दै किसानहरूलाई पशुपालनका लागि वितरण गरिएको थियो। प्रति किसान ५० हजार वितरण गर्दा १२० किसानले अपुग रकम आफैँ हालेर भैँसी पालन सुरु गरेका थिए। त्यसपछि भने यहाँ दुधको उत्पादन सुरु भएको राई बताउँछन्।

पहिला यहाँ कताको दुध उत्पादन हुनु“, उनी भन्छन्,”अहिले दैनिक सय लिटरसम्म उत्पादन हुने अवस्था छ।

अचेल भने भैँसीहरु थाकेका कारण दैनिक २५० लिटरसम्म दुध सङ्कलन हुने गरेको उनी बताउँछन्।

तस्बिर: युवराज भट्टराई

सरकारी अनुदान रकमले पालिकामा दुधको उत्पादन मात्रै बढाएको छैन। यसले त्यहाँका जनताको जीवनशैलीदेखि किसानको जीवनमा धेरै परिवर्तन ल्याएको छ। सांस्कृतिक रूपमा जाँडरक्सी प्रयोग हुने पूजाआजामा अहिले दही महीको पनि सेवन गर्न थालिएको राई बताउँछन्। राईकाअनुसार पहिला राई तथा तामाङहरूले मासु खपत गर्दै पूजाआजा गर्थे भने अहिले केहीले दही दुध महीको पनि प्रयोग गर्छन्। विवाह तथा छेवरहरूमा पनि दही महीको प्रयोग हुन्छ।

जाँडरक्सी खाने चलन भइनै हाल्यो। तर दुधको उत्पादन सुरु हुँदा यहाँ खपत पनि बढेको छ। यहाँकै मान्छेले दुध मात्रै नभएर दही मही घ्युको खपत गर्नुहुन्छ। किसानहरूले पनि आयस्रोत पाउनु भएको छ।“, उनले भने।

गाउँपालिकामा खपत हुने भन्दा धेरै दुध उत्पादनको अवस्थासमेत भएकाले सहकारीले त्यसलाई पालिका बाहिर पनि बिक्री गर्दै आएको भने त्यसलाई प्रशोधन गरेर अन्य उत्पादनमा पनि रूपान्तरण गरिरहेको राईले बताए। सहकारीबाट दुध, दही, मही, घ्युसँगै खुवा, लस्सी पनिरको पनि उत्पादन हुन्छ। गाउँपालिकाभित्र खपत नभएको खण्डमा दुध तथा दुधजन्य अन्य उत्पादनलाई सिन्धुलीस्थित कोसी डेरी सर्लाहीको मङ्गल डेरीलाई बिक्री गरिएको राई बताउँछन्।

किसानका लागि आयस्रोत

उक्त दुग्ध सहकारी सञ्चालनमा आएपछि किसानको हातमा मासिक रूपमा केही केही रकम अवश्य नै पुग्ने अवस्था छ। राई आफैँले पनि पशुपालन गर्ने भएकाले उनले पनि सहकारीमार्फत दुधको बिक्री वितरण सुरु भएपछि रकम एकमुष्ट प्राप्त हुने गरेको बताउँछन्।

पहिला पहिला खुद्रामा दुध बेच्दा पैसा कता जान्थ्यो जान्थ्यो,” उनले भने,”अहिले महिनामा मेरो हातमा ३० देखि ३५ हजार आउँछ। एक दुई वटा पशु पाल्नेहरूको पनि मासिक रूपमा राम्रो कमाई भएको छ। भैँसी पाल्ने दुध बेच्ने साथीहरू रमाएका छन्।

उनी पशुपालनका कारण घरघरमा पनि दुधहरू उपलब्ध हुने केही आयआर्जन पनि बढेको उनी बताउँछन्। साथै, किसानलाई दिने रकमदेखि अन्य खर्च सबै कटाउँदा दुध बिक्रीबाट मासिक रूपमा डेढ लाख जत्ति सहकारीमा पनि जम्मा हुने गरेको उनले बताए। किसानलाई भविष्यमा दुधको पैसा भुक्तानीका लागि यही रकमको प्रयोग हुने गरेको उनी बताउँछन्।

तस्बिर: युवराज भट्टराई

सहकारीको संरचनाअनुसार खुलेको भए तापनि सहकारीमा हालसम्म अनुदान पाएका १२० जना किसानहरू मात्रै सदस्य रहेको राई बताउँछन्। अन्य व्यक्तिहरू पनि सदस्य हुन मिल्ने भए तापनि हालसम्म भने त्यसरी काम नगरिएको उनले बताए। किसानको जीवनमा परिवर्तन हुने मान्यताका साथ लक्ष्य राखिएको उनी बताउँछन्।

अहिले परिवर्तन आएको देख्दा खुसी लागेको “, उनी भन्छन्, “कृषकमा पनि अलिकति ऊर्जा उठेको छ। भैँसी पाल्ने दुध बेच्ने सबै साथीहरू रमाएका छन्। घरमा पैसा पनि लैजान पाउने, दुध पनि हुने, मल पनि भयो भन्ने छ।

कृषकको आत्मबलमा वृद्धि

दुग्ध सहकारीको समितिमा ११ जना सदस्यमा १२० जना छन्। तर, दुध सङ्कलन गर्नेदेखि त्यसलाई प्रशोधन गर्नजस्ता कामका लागि पनि सहकारीले कर्मचारी राखेको छ।

राईका अनुसार पहिला त्यहाँ तीन जना काम गर्ने कर्मचारी थिए। तर, हाल भने दुई जना मात्रै रहेका छन्। दुधको सङ्कलनदेखि प्रशोधन तथा सहकारीकै रहेको चिस्यान केन्द्र सञ्चालनमा उनीहरू संलग्न हुन्छन्।

कर्मचारी बाहेक राईका साथै सहकारीका अन्य समिति सदस्य, गाउँपालिकासँग सम्बन्धित व्यक्तिहरू पनि दुध सङ्कलन तथा प्रशोधन हुने ठाउँकै आसपासमा दिन बिताउँछन्। दैनिक त्यहाँ मही खानेहरूको जमात हुने गरेको उनले बताए।

गाउँपालिकाको अनुदानबाट सुरु भएको यो सहकारीले कृषकको जीवनमा परिवर्तन ल्याउनेदेखि त्यहाँका मानिसको आनीबानीमा पनि फरकपन ल्याएको राई बताउँछन्। साथै, सिप सिक्ने पनि मौका मिलेको छ। सहकारीमा दुध सङ्कलनका लागिचिलिङ भ्याट“, फ्रिजदेखि चिस्यान केन्द्र छ। यी उपकरण चलाउनदेखि खुवा तथा पनिरजस्ता सामग्री उत्पादन गर्न पनि गाउँपालिकाले सहयोग गरी सिकिएको राई बताउँछन्।

हामीले यहाँ भएको उत्पादनलाई यहाँ मात्रै खपत नगरेर ठाउँ ठाउँमा बेच्न सकेका छौँ,” राई भन्छन्, “यहाँ अहिले धेरै खुवा जम्मा भएको छ। अब यसको चकलेट भनेर बिक्री हुन्छ। यसले गर्दा मलाई खुसी लागेको छ। कृषि गरेर पशुपालन गरेर केही हुँदैन भन्ने धेरै छन्। तर, गाउँपालिकाले कृषकलाई ऊर्जा हुने गरी काम गरेको जस्तो लाग्छ। यसले कृषकको आत्मबल बढाएको छ।

लेख सेयर गर्नुहोस्

विज्ञापनहरू
तस्बिर: युवराज भट्टराई